कला

आत्मश्लाघारहित जीवनाख्यान

पुस्तक

‘आफूसँग बेइमान मानिस संसारभरि इमानदार हुन सक्दैन।’ यो कोटेसन पढ्नेबित्तिकै एक किसिमको सकारात्मक ऊर्जा मेरो हृदयमा तरङ्गित भयो। अझ पुस्तकको पछिल्लो भागमा लेखिएको निकै गहिरो र गम्भीर भावले मेरो हृदयलाई चुम्बकले तानेझैं चपक्क तानेर लग्यो-‘तपाईं को?’ नेपथ्यबाट प्रश्न छ मउपर। मलाई त साँच्चै थाहा छैन, म को हुँ? के तपाईंलाई थाहा छ, तपाईं को हो? तथापि मलाई म हुनुको गर्व छ। त्यसैले मनमनै भनें-म यात्री हुँ, यात्रा गर्छु। के तपाईंलाई थाहा छ, यात्रा के हो? म कसैलाई पनि चिन्दिनँ, न बन्धु न गोत्र, न आफन्त न समाज। प्रकटमा यसो भनें-रात पर्‍यो। एक रात बास बस्न पाऊँ।

मलाई पनि साँच्चै थाहा छैन, म को हुँ? म पनि मलाई चिन्ने कोसिसमा छु। खोइ, कहिले सफल हुन्छु होला?

भुवनहरि सिग्देलको ‘साँखेजुङको उकालो’ हातमा लिएर पढ्न आरम्भ गर्नुभन्दा अगाडि मैले सम्झिन पुगें राजकुमार बानियाँलाई किनकि केही समयअगाडि साहित्यपोस्टमा राजकुमार बानियाँले लेखेको लेख पढेकी थिएँ-‘औतारी भुवनहरि’।

बानियाँको त्यो लेख पढेपछि नै हो भुवनहरि सिग्देललाई अझ बढी पढ्न खोजेको। अद्भुत जीवन भोगेका भुवनहरिलाई अझ बुझ्न मैले उहाँको ‘आमोई’ कृति पनि भर्खरै पढेकी थिएँ। ‘आमोई’ पढेपछि निकै दिनसम्म सिग्देलको साहित्यले मलाई बिपनामा मात्र होइन, सपनामा पनि लखेटिरह्यो।

यसै सन्दर्भमा हात लाग्यो-साँखेजुङको उकालो। ४१२ पृष्ठको यो पुस्तक पाठकका लागि नौलो खुराक हुनेछ। सिग्देलले भोगेका जीवन्त अनुभवलाई पढ्दै जाँदा जीवन जिउने अनगिन्ती कला भेटिन्छन्। चुलीमा सरुभक्त लेख्छन्-‘हिमाल उक्लिनु मात्र हिमाल चढ्नु होइन, हिमाल ओर्लनु पनि हिमाल चढ्नु हो।’

पक्कै पनि जीवनका उकाली-ओरालीहरूमा सन्तुलन कायम गरेर हिँडियो भने जीवनका हिमालहरू सफलतापूर्वक चढ्न सकिने रहेछ तर जीवनलाई तराई मात्र देख्ने आँखाले कसरी हिमाल देख्न सक्छ अनि हिमालका जोखिमलाई बुझ्न सक्छ? म दोधारमा परें।

अझ मलाई त कस्तो लाग्छ भने जीवनका हिमाल प्रकृतिका जस्ता दृश्यात्मक छैनन्। त्यसैले जीवनरूपी हिमाल चढ्न तेस्रो आँखा खोल्नैपर्ने हुन्छ। नत्र जीवन दुःख र आँसुको खर्पासमा जाकिन्छ। जब मान्छेले हिमालरूपी जीवनलाई बुझ्छ, तब चुनौतीहरूलाई भर्‍याङ बनाएर जीवनका खर्पासहरू नाघ्न सक्छ। मानव जीवनका जोखिमपूर्ण र अप्ठ्यारा हिमालहरू अदृश्य भएर बसेका छन् जीवनको टेथिस सागरमा।

जीवन भोग्दै जाँदा ती हिमालहरू हाम्रो मार्गमा चुनौती दिन ठिंग उभिएर तर्साउन आउँछन्। त्यसैले हिमाललाई बुझ्न आवश्यक छ। जसले हिमाल बुझ्यो, त्यसले जीवन पनि बुझ्यो।

हो, भुवनहरि सिग्देलले जीवन भोग्दै जाँदा निर्माण हुँदै गएका अनगिन्ती हिमालहरू सजिलै छिचोल्न सकें। त्यसैले यो पुस्तकलाई हृदयका आँखाले पढेर मस्तिष्कका कानलाई श्रवण गराउन सकियो भने धेरै कुरा बुझ्न सकिन्छ र हाम्रो पठन सार्थक हुन्छ। हिमाल रोएर होइन, हाँस्दै चढ्नुपर्छ।

जीवन आखिर अनौठो र अद्भुत यात्रा त रहेछ। हामी त हाम्रै यात्राका अनभिज्ञ यात्री मात्र रहेछौं। ‘हिमालमा जोखिमहरू हुन्छन्, जीवनमा हिमालहरू हुन्छन्’ कति सुन्दर अभिव्यक्ति दिएका छन् सरूभक्तले।

‘साँखेजुङको उकालो’ पढ्दा पनि मैले चुलीका भावहरूलाई मनन गर्दै पढ्दै गएँ। दिनरात, उज्यालोअँध्यारो, आरोहअवरोह, आँसुहाँसो, दुःखसुख त जीवनको वैशिष्ट्य हो। जीवनको वैशिष्ट्यलाई बुझेर धैर्य, आँट, साहस र सकारात्मक कार्य गर्दै जाने हो भने भीमकाय उकालाहरू सजिलै कटाउन सकिन्छ भन्ने उदाहरण हो ‘साँखेजुङको उकालो’।

‘साँखेजुङको उकालो’ छिचोल्दै गर्दा मैले औतारी भुवनहरिले भोगेका अद्भुत जीवनका कथाहरू छोरीहरूलाई पनि पटक पटक सुनाएँ। मेरो घर गुर्जुधारा भएकाले पनि होला, थानकोट, दहचोक, गुर्जुधाराको प्रसङ्ग आउँदा बडो कौतूहल जागृत भएको।

उपत्यकाको ढुङ्गेधाराको इतिहास, मल्लकालीन चर्पीको कहालीलाग्दो अवस्थाको चित्रण रोचक लाग्दै गयो। अझ सदाशिव सिग्देलको उपत्यका आगमन, दहचोकको जमिन छनोट र योगबलको प्रसङ्ग बडो कौतूकमय छ।

शरीरभरि काँडा उमारेर योगबल र सिद्धपुरुषका रोचक, तिलस्मी र आश्चर्यजनक घटनाहरू चाख लिएर पढ्दै मस्तिष्कमा भिन्न भिन्न चित्रहरू कोर्दै गएँ। अनि योगबल र सिद्धपुरुषका कुराहरू घरका सदस्यलाई पढेर सुनाउँदा विश्वास गर्ने मस्तिष्क पाउन मुस्किल पर्‍यो। अनि मैले यसो गम खाएँ-ओहो! कुनै पनि कुरा लामो समयसम्म प्रयोगमा आएन भने त्यो कुरा बुझ्न र बुझाउन निकै मुस्किल पर्ने रहेछ। भोगवादी दुनियामा शाश्वत योगको विज्ञान पनि अन्धविश्वासको नाममा आलोचित हुने रहेछ। मलाई निकै गर्व लाग्यो।

षडानन्दको जीवनसँग जोडिएको सिद्धिको कुराले पनि चकित भएँ। योग विज्ञानमा कति सम्पन्न रहेछौं हामी। मेरो मनमा प्रश्नहरूले लाप्पा खेल्न थाले। योग विज्ञानमा यति शक्तिशाली हामी आज कता पुग्यौं? योगबल र विज्ञान किन र कसरी छायामा पर्‍यो? हाम्रो शक्ति त योगमा पो रहेछ।

सिद्धिनरसिंह मल्लको पालामा नै साधनाद्वारा प्लेगको उपचार गर्न सक्ने सिद्धपुरुष हाम्रो घर्तीमा उहिले जन्मिएका रहेछन् त! गर्वले मेरो छाती चौडा हुँदै गयो। तर एकैछिनमा म दुःखी भएँ।

आज कहाँ गयो त्यो सम्पन्न योग-साधना? योगको महिमा र गरिमा हामीले बुझ्न सकेको भए हाम्रै आँगनमा उदाउन सक्थे कैयौं रामदेव तर विडम्बना बालकृष्णलाई मुस्कुराउन पनि छिमेकीको आँगन चाहिएको छ आज।

मेरो घरको झ्याल दहचोकतिर फर्किएको छ। ‘साँखेजुङको उकालो’ हातमा बोकेर झ्यालबाट हेर्दै छु, सदाशिवले रोजेको टिमुरेघारी, औतारी भुवनहरिले बिताएको साठी वर्ष अगाडिको दहचोक र दहचोक वरिपरिको भूगोल।

झ्यालबाट म देख्दै छु, आमोईको छत्रछायामा हुर्किएका कर्तव्यनिष्ठ, इमानदार र जाँगरिला भुवनहरिको बाल्यकाल र यौवनकाल। दहचोक, नैकाप, कलंकी कालिमाटी हुँदै विष्णुमतीको कञ्चन पानी तरेर गोरेटो बाटो हुँदै म पनि रत्नपार्कसम्म पुग्दै छु। खसी र च्याङ्ग्राले भरिएको रत्नपार्क वरिपरिको दृश्यलाई नजिकैबाट हेर्दै छु।

वेदको अध्याय कण्ठ गरेर कमाएको पैसाले किनेको जुत्ता दहचोक फर्किंदा कलंकी कटेपछि आलीबाट लड्दा गोडा हिलोमा जाकिएर जुत्ता हराएको देखेर हुरुक्क पर्दै छु।

म गुर्जुधारा बसेको पनि करिब बीस वर्ष हुन लाग्यो। गुर्जुधारा बस्न आउँदा म अचम्मित भएकी थिएँ। न्युरोड, असनतिर जाँदा स्थानीयले प्रश्न गर्नुहुन्थ्यो-‘सहर गएर आएको?’ म अलमल्लमा पर्थें। जब ‘साँखेजुङको उकालो’ चढ्दै गएँ, मैले झन् झन् यस्ता प्रश्नको गहिराइ बुझ्दै गएँ। भवनहरिलाई भन्न मन लाग्यो-यो आत्माश्लाघा कदापि होइन।

यो पुस्तकबाट मैले काँठका प्रकार, काठमाडौंमा भाडाको जीवन, शौचालयको अवस्था अनि जाँगर, जागिर र जिम्मेवारीको त्रिवेणी बुझें। त्यो समयको शिक्षा, स्वास्थ्य र संस्कृतिलाई नजिकबाट अनुभव गर्न सकें।

सुन काँठ र पोके काँठको अर्थ र काँठबाट सहर जाँदाको उमङ्ग अनुभूत गर्दै गएँ। ढुङ्गामा सुन फलाएको देख्दै गएँ। हिम्मतको डोरीले सफलताको चुली चढेको देखें। पैसाको रातो मुख देख्दै गएँ। म निकै आश्चर्यचकित भएँ। मैले नदेखेको, नभोगेको र कल्पनासम्म पनि नगरेको समाज, भूगोल, सम्बन्ध र संस्कारसँग भुवनहरिले साक्षात्कार गराइदिनुभयो।

साँखेजुङमा के छैन? इतिहास, भूगोल, राजनीति, स्वास्थ्य, आयुर्वेद, उद्योग, शिक्षा, मनोरञ्जन, रोमान्स, योग, कला, कौशल, सभ्यता, संस्कृति, सहयोग, प्रेम, प्रेरणा, प्रोत्साहन, हिम्मत, हौसला, जीवनको जोडघटाउ, उतारचढाव, नैतिकता, इमानदारिता, जोखिमजस्ता अनेकन् पक्ष समाविष्ट छन्।

दहचोकका मलसाँप्राहरू कति चलाख? ती मलसाँप्राको खुदो खाने कत्रो बुद्धि? बिहेमा सिलोक भन्ने परम्परादेखि खाँडो जगाएको संस्कृति पढें। इन्द्रावतीको खोंचमा भएको भालुसँग साक्षात्कार पढ्दा कुनै जोखिमपूर्ण एडभेन्चरस डकुमेन्ट्री हेरेजस्तो लाग्यो। जागिरको महत्व र कुसमयको अवकाश पढ्दा आफ्नै कथा पढेझैं उकुसमुकुस भयो। हरेक परिस्थितिमा इमानदार भएर काम गर्दा शान्ति, आनन्द र सन्तोष मिल्ने रहेछ। ‘साँखेजुङको उकालो’ले अनुभूति गराएका आत्मालाप हुन् यी। 

प्रकाशित: २ मंसिर २०८० ०२:३६ शनिबार