कला

लोकनिष्ठाको पर्व ‘सामा-चकेवा’

संस्कृति

मानव जातिको प्रादुर्भाव भएसँगै उसले सर्वप्रथम आकाशमा गोलाकार चम्किलो सूर्यलाई देखेको हुनुपर्छ। जगत्भर छर्ने प्रकाश, जिउमा स्फूर्ति, काममा जाँगर प्रदान गरेका कारण सबै मानवका लागि सूर्य श्रद्धेय हुन पुग्यो।

विकसित हुँदै आएको समाजमा दुई वर्गको विकास भयो। एउटा पढ्ने वर्ग, अर्को श्रमजीवी वर्ग। एउटा वर्गले वेद, पुराणको रचना गरी समाजलाई शास्त्रीय पद्धतितिर लग्यो। अर्को वर्गले निपढ भएर आफ्नै परिवेश र जीवनशैलीलाई टेकेर सहज एवम् सुलभ पद्धतिको विकास गर्‍यो। जसलाई प्रकारान्तरमा लोकपद्धति भनियो। समाजको एउटा विराट वर्ग यस पद्धतिलाई स्वीकार गरी अनेकौं प्रकारका लोक परम्पराको विकास गर्न सफल भयो।

त्यस्तै एउटा लोकपरम्परा हो ‘सामा–चकेवा’। जसको प्रारम्भ छठको सुरुवातसँगै हुन्छ। बहिनीद्वारा भाइप्रतिको आस्था र प्रेम प्रदर्शित गर्ने यो पर्वलाई नाट्य श्रेणीमा पनि राख्ने चलन छ।

आफ्नो सांस्कृतिक सम्पदाहरूले धनी मिथिलाले आफूभित्र अनेकौं मनोरञ्जनार्थ लोकगीत र लोककथाहरू समाहित गरेको छ। प्राचीनकालमा परिवारजनका लागि मनोरञ्जनका अन्य कुनै साधन उपलब्ध नभएपछि गीत, लोककथा, लोकगाथा र लोकनाट्यहरूबाट प्रसन्नता र खुसी प्राप्त गर्थे। रमाउँथे पूरै परिवार र समाज।

मिथिलाञ्चलमा शिष्ट एवम् लिखित मैथिली नाटकहरूको इतिहास सोह्रौं शताब्दीदेखि प्रारम्भ हुन्छ तर मैथिली लोकनाट्यहरूको परम्परा अत्यन्त प्राचीन रहेको छ। विद्वानहरू मिथिलाका राजा जनकको समयदेखि नै यस्ता लोकनाट्यहरूको मौखिक परम्परा चल्दै आएको मान्छन् तर यसको प्रथम उल्लेख तेह्रौं शताब्दीको ज्योतिरीश्वरको ‘वर्णरत्नाकर–२’मा पाइन्छ। त्यहाँ ‘लोरिक नाच’को चर्चा गरिएको छ। यसले के देखाउँछ भने यो नाच तेह्रौं शताब्दीपूर्वदेखि नै प्रचलनमा थियो।

डा. जयकान्त मिश्रले ‘कीत्र्तनियां नाटक’मा लोकनाट्यका धेरै तत्व रहेको बताएका छन्। अर्थात् ‘कीत्र्तनियां नाटक’मा त्यसको प्रभाव स्पष्ट महसुस गरिन्थ्यो। यो मध्यकालतिरको अवस्था थियो।

लोकनाट्यहरू अधिकांश गीतिनाट्य नै हुन्छन्। यसमा गद्य संवाद हुँदैन र यसले पनि लोकनाट्यहरूको प्राचीन स्वरूपतिर इंगित गर्छ।

मिथिलाञ्चलमा विभिन्न प्रकारका लोकनाट्य प्रचलित छन्। लोककण्ठमा बास गरेका यी लोकनाट्यको प्रस्तुति, कथावस्तु र भावभंगिमालाई ध्यानमा राखेर वर्गीकरण गर्नुपर्छ। मोटामोटी रूपमा लोकनाट्यलाई तीन भागमा विभक्त गरिएको छ: सामाजिक लोकनाट्य, धार्मिक लोकनाट्य र विविध लोकनाट्य।

हाम्रो समाजमा प्रचलित लोकनाट्यहरूमा जट–जटिन, सामा–चकेवा, जालिम सिंह, विरहा नाच, बिदेसिया, रामलीला, रासलीला, हिरनी–विरनी, सल्हेस, कमला–कोइला, गोपीचन्द आदि। यी लोकनाट्यहरू गीति प्रधान तथा गाथागीतका आधारमा पनि मञ्चन गरिन्छ।

मैथिली लोकनाट्यहरू विभिन्न पर्व, तिहार तथा उल्लासमय वातावरणमा मञ्चन गरिन्छन्। खुला आकाशमुनि जम्मा भएर यसको अभिनय गरिन्छ। अब त व्यावसायिक मण्डलीहरूले पनि लोकनाट्यहरूको मञ्चन गर्न थालेका छन्।

मैथिली लोकनाट्यको प्रमुख विशेषता हो- पुरुष वा महिलाद्वारा मात्र अभिनय गरिनु। यस्ता लोकनाट्यमा पुरुष–महिला दुवै मिसिएर अभिनय गर्ने परम्परा छैन। यसले मिथिलाञ्चलको प्राचीन सामाजिक–पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्छ।

सामा–चकेवा

यो एउटा गीतिनाट्य हो। यसमा युवतीहरू बढी–संलग्न हुन्छन्। यद्यपि यो लोक परम्परा निर्वाह गर्न उमेरले छेकबार गर्दैन। वास्तवमा यो दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायु, सम्पन्नताका लागि कामना गर्ने लोकनाट्य हो। यो ऋतम्कै आधारमा खेलिन्छ। छठ पर्वको शुभारम्भसँगै यो पनि प्रारम्भ हुन्छ र पूर्णिमामा सम्पन्न हुन्छ।

यस नाट्यमा सामा र चकेवा मुख्य पात्र हुन्छन्। सामा स्त्री र चकेवा पुरुष। यस अतिरिक्त यसमा चुगला, ढोलिया, भरिया, सतभइया, खजंचिडैया, वनतितर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियां र वृन्दावन हुन्छन्।

यो लोकनाट्य अरू प्रचलित लोकनाट्यभन्दा भिन्न के मानेमा हुन्छ भने अरूमा स्त्रीपुरुष पात्रका रूपमा मञ्चमा अभिनय गर्छन् तर यसमा माटोका आकृतिहरू बनाएर दिदी–बहिनीहरू त्यसैबाट मनोवाञ्छित फलप्राप्तिका लागि शुभकामना गीतहरूद्वारा नाट्याभिनय गर्छिन्। मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन्।

यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन्, कुनै बेला चुगला (चुक्ली गर्ने)को मुख आगोले पोल्छिन्। एउटा डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छिन्।

विधि-विधान

बिहानैदेखि माटो ल्याई पात्रहरूको आकृति बनाउन सुरु गरिन्छ। चुगलाका लागि माटोको ढिस्कोसँगै आगो लगाउन सजिलो होस् भनेर सनपाटको प्रयोग गरिन्छ। त्यस्तै वृन्दावन सुकेको राडी घाँसलाई बाँधेर बनाइन्छ। यसमा पनि माथिबाट नै आगो लगाउने गरिन्छ।

राति खाना खाएपछि घरघरबाट एउटा डालामा बलिरहेको दियो र सबै आकृति हालेर बालिकाहरू निस्कन्छन्। सबै गीत गाउँदै निस्कन्छन्-‘डाला ले बहार भेलि, वहिनो से फलाें वहिनो...।’ एक ठाउँमा जम्मा भई सामा-चकेवा लगायतका पात्रलाई दुबो टिपेर खान दिन्छन्। शीत पानीको काम गर्छ। फेरि डालाहरूलाई गोलाइमा राखेर गीतहरू गाउँदै बायाँदायाँ घुमाउन थाल्छिन्।

सबै गीत पूरा भइसकेपछि चुगलाको मुख पोल्ने बेला आउँछ अनि वृन्दावनमा आगो लगाइन्छ। यो क्रम पूर्णिमासम्म प्रत्येक रात चल्छ। पूर्णिमाका दिन खेतमा भाइद्वारा मूर्ति भजन गराइन्छ र मूर्तिलाई जलाशयमा बिर्सजन गरी घर फर्किन्छन्। त्यहाँ भाइलाई चूडा दही र पकवान प्रेम, श्रद्धा र उल्लासले खुवाइन्छ, दीर्घ जीवनको कामना गरिन्छ र लोकनाट्यको समाप्ति हुन्छ।

कथातत्व

सामा–चकेवाको प्रचलन मिथिलामा प्राचीनकालदेखि नै रहेको पाइन्छ। यसको सर्वप्रथम चर्चा पद्म पुराणमा पाइन्छ। यो पूर्ण रूपमा भातृ–भगिनी प्रेममा आधारित छ।

भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भुत भातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको सामा–चकेवाको गीति संरचना रहेको छ।

‘स्कन्ध पुराण’मा सामा–चकेवाको कथा सप्रसङ्ग उल्लेख गरिएको छ। जसअनुसार श्यामा र चकेवा पतिपत्नी हुन्। श्यामाका पिता कृष्ण हुन् भने पति चारुवक्य। चारुवक्य आश्रममा बस्थे। श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गई चुक्ली लगाए– श्यामा कुनै मुनिसँग प्रेम गर्छिन् रे! कृष्ण रिसाएर श्यामालाई श्राप दिई चरा बनाइदिए। भाइ शम्वलाई जब यो थाहा भयो, उनी छटपटिन थाले।

बुबासँग अनुनयविनय गरे। केही सिप लागेन। अनि तपस्या सुरु गरे। कात्र्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा आफ्नी बहिनी श्यामाको पुनः पूर्व रूप पाए। त्यसैले बहिनीद्वारा भाइका लागि यो विधिविधान गरिन्छ।

श्यामा अर्थात् सामाका पति चारुवक्य आफ्नी पत्नीको वियोग सहन गर्न नसकेर तपस्याकै भरमा उनी पनि चरा हुन पुगे- चकेवा। चरा भएकी पत्नी सामासाथै बस्न। त्यसै क्रममा उनीहरूको वास रहेको वृन्दावनमा विरोधीहरूले बाघ–सिंह छोडे, आगो लगाए। उठिवास लगाउन धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो भाइको तपस्या र पराक्रमले उनीहरू पुनः मानव–मानवी रूपमा अवतरण भए।

‘सामा–चकेवा’ को मूल कथा प्रेम प्रसङ्ग नै हो। प्रेमी–प्रेमिका वा पतिपत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्छ यो लोकनाट्यले तर यसको विश्लेषण गर्दा के देखिन्छ भने यो मौखिक भएकाले कालान्तरमा यसको स्वरूपमा परिवर्तन हुन पुग्यो। यसको मूल कथा प्रेम व्यापारमा व्यवधान खडा भएपछि त्यसलाई हटाउन भाइको प्रवेश भएको देखिन्छ। तर पछि प्रेम तत्व गौण हुँदै गयो र भाइबहिनीको प्रेम नै मुख्य आधार बन्न पुग्यो।

‘सामा–चकेवा’ मा अहिले अभिनय त कतै देखिँदैन तर पहिला यो अभिनय गरेर नै सम्पादन हुन्थ्यो होला। यसको प्रमाणका लागि हामी सामा–चकेवाका महिलाहरूद्वारा प्रयोग हुने शब्द ‘सामा खेल्नु’लाई प्रस्तुत गर्न सक्छौं।

नाटकीयता यसको सम्पूर्ण आयोजनामा हुन्छ। नाट्यको अन्तमा पूर्णिमा राति जब सामा विसर्जित भइसकेको हुन्छ। फिर्ती बेलामा महिलाहरू ‘समदाउनी’ गाउँदै फर्कन्छिन्। अत्यन्त भावुक बन्दै मर्मस्पर्शी स्वरमा गाइने ‘समादाउनी’ सम्पूर्ण कथा तत्वको पटाक्षेपतिर संकेत गर्छ अर्थात् समालाई अर्को वर्ष आउने निमन्त्रण दिँदै बिदाइ गरिएको त्यो दृश्य नाट्यानुभूतिको चरम बिन्दु नै मान्नुपर्छ।

केही गीत

यस लोकनाट्यसँग मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ। मानव मात्र होइन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतितर, जंगल–जीवनकै सिद्धान्तअनुरूप वृन्दावन जंगल सम्बन्धको अद्भुत समन्वय रूप हो।

समाज र परिवार जहाँ हुन्छ, त्यहीं चुक्ली गर्ने, षड्यन्त्र गर्ने ‘चुगला’ जस्ता पात्र पनि हुन्छन्। खुला आकाशमुनि युवतीहरूको भेला र त्यहाँ राखिएका जीवनका विविध पक्षलाई प्रतिनिधित्व गर्ने माटोका पात्रहरू।

‘कठपुतली’ नृत्यको आभास दिने यो लोकनाट्य डोरीले होइन, हातले सञ्चालन हुन्छ र महिलाहरू सूत्रधारका रूपमा जीवनका गाथाहरू लोक धुनका आधारमा गाउँदै पात्रहरूलाई अभिनय गराउन लगाउँछिन्। एउटा अद्भुत, अपूर्व र विशिष्ट शैलीको यो लोकनाट्यका गीतहरूमा पनि जनजीवनकै उद्वेगहरू प्रवाहित भइरहेको हुन्छ।

युवतीहरू जब आआफ्नो घरबाट डालामा मूर्तिहरू राखी ‘सामा खेल्न’ चौर वा दालानतिर निस्कन्छन् तब उनीहरू गाउँछन्-

‘डालाले बहार भेली, बहिनो से फलां बहिनो

फला“ भइया लेल ढाला छिन, सुनु गे राम सजनी।

समुआ बैसल अहां बाबु बरइता, चाचा बरइता,

अहांक पुतालेल डाला छिन, सुनु गे राम सजनी।

कथिएक तोहर डालवा गे बेटी, दउरा गे बेटी,

कथिए लगाओल चारुकोन, सुनु गे राम सजनी।

कांचही बा“सके डलबा हो बाबा,  

चम्पा चमेली चारु कोन, सुनु गे राम सजनी।’

भाइ र भाउजूको मंगलकामना गर्दै गाइने गीतमा जनकपुरको चर्चा आउनु महत्वपूर्ण संकेत हो। यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इंगित गरेको प्रस्ट छ-

सिरी रे जनकपुर सं आबि गेल भमरा

लागि गेल पनमा दुकान

सेहो पान खैता भैया से फलना भैया

रंगि जैतन्हि बत्तिसियो दांत

सिरी रे जनकपुरसं आवि गेल भमरा

लागि गेल सिनदुर दोकान

सेहो सिन्दुर पेन्हती भौजी से ऐहब भौजी

जुगे–जुगे बढै अहिबात।

जब चुगलाको बारी आउँछ, त्यसलाई बायाँ हातमा समाती त्यसको जुँगा भनी राखिएको सनपातमा दाहिने हातले आगो लगाउँदै–निभाउँदै महिलाहरू गाउँछन्–

‘धान–धान–धान, भइया कोठी धान,

चुगला कोठी भुस्सा।

आरे वृन्दावन, जा रे वृन्दावन

भइया मुख पान, चुगला मुख कोइला

चाउर–चाउर–चाउर, भइया कोठी चाउर

चुगला कोठी छाउर।’

प्रतीकात्मक रूपमा भैयाकोठी धान र चाउर भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरष्कृत र लाञ्छित गर्ने काम गरिएको छ।

सम्पन्नतासँगै भाइ वीर पनि छन्, योद्धा पनि छन्। वृन्दावनमा आगो लाग्यो, निभाउने कोही छैन। बहिनीलाई भाइमाथि उनी मात्र निभाउन सक्छन् भन्ने विश्वास छ।

वृन्दावनमे आगि लागै

कोइ ने मिझाबै हे।

हमर भैया फलना भैया

दौडी–दौडी मिझाबै हे।

विसर्जनका बेला गाइने यो आमन्त्रण गीत:

‘सामचको सामचको अइह हे, आइह हे

जोतल खेतमे वइसिह हे, बइसिह हे

सब रंग पटिया ओछइह हे, ओछइह हे

ओहि पटिया पर कएकए जना, कए कए जना

छोटे बडे नबो जना, नबो जना।

नबो जना के खिरापुरी, खिरापुरी

हमरा भैयाके सोनाके छुरी, सोनाक छुरी।’

सामा–चकेवा चरालाई अर्को वर्ष फेरि जोतेको खेतमा आइ बस्नु है भन्दै सबै माटोका पात्रहरूको विसर्जन गरिन्छ। त्यसरी मानवीय संवेदनाका केही गहकिला पक्षहरू समेटेर मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको ‘सामा–चकेवा’ लोकनाट्य हाम्रो विशिष्ट सांस्कृतिक सम्पदा हो।

-‘भ्रमर’ मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुन्। 

प्रकाशित: २ मंसिर २०८० ०१:४७ शनिबार

अक्षर