कला

मूर्तिभित्र मातृप्रेमका रङ

 

काठमाडौं–मातृवात्सल्य प्रेम झल्काउने मूर्तिकलाको प्रदर्शनी नेपाल कला परिषद् बबरमहलमा सुरु भएको छ । कलाकार श्यामकृष्ण श्रेष्ठले बनाएका बहुआयामिक मूर्तिहरूमध्ये झण्डै आधादर्जन मूर्तिले आमा र सन्तानबीचको प्रेमलाई विषय बनाएका छन् ।
‘उत्सुकताको पर्खाइ’ शीर्षकको एउटा कलामा आमाको गर्भभित्र श्रेष्ठले चराको गुँड बनाएका छन्, जसरी चराले गुँडमा अण्डा पार्छ अनि बचेरा हुर्काउँछ । ‘एउटी महिलाको गर्भको प्रक्रिया पनि त्यसैगरी अघि बढ्छ,’ श्रेष्ठले मूर्तिले बताउन खोजेको भाव व्यक्त गर्दै भने, ‘त्यहाँ बनेको अण्डा बच्चा बनेर हुर्कन्छ । त्यस्तो बेला महिला पनि बच्चाको अवस्था जान्न उत्सुक हुन्छिन् ।’

बबरमहलस्थित नेपाल कला परिषद्मा पुस १ देखि सुरु भएको मूर्तिकला प्रदर्शनीमा आमा र सन्तानबीचको प्रेम झल्काउने मूर्तिको बाहुल्य छ । कलाकार श्रेष्ठले चार वर्षको अन्तरालमा बनाएका २२ मूर्तिको प्रदर्शनीमा जातीय छुवाछुतदेखि प्रकृति प्रेमलाई पनि आफ्नो कलाभित्र समेटेका छन् ।

तीनवर्षअघि बनाएको त्यो मूर्तिको कथा पूरा गर्न उनले फेरि त्यसको एक वर्षपछि अर्को प्रसव मूर्ति बनाए । त्यसमा उनले एउटी आमाले बच्चा जन्माउँदाको पीडा प्रकट गरेका छन् । उनी आफू छोरा मान्छे भएकाले पीडाको अभिव्यक्ति सजिलो थिएन । तर, एकदिन साथीको श्रीमतीको डेलिभरीका लागि अस्पताल जाँदा देखेको दृश्यले उनलाई प्रभावित पा¥यो । अस्पतालमा थुप्रै महिला प्रसव पीडामा थिए । यही दृश्यलाई अनुभूत गर्दै उनले मूर्ति बनाए । यी दुई मूर्ति उनले फाइबर र ग्लासबाट निर्माण गरेका हुन् ।
प्रदर्शनीमा उनैले बनाएको एउटा काठको मूर्ति छ । जुन एउटा गर्भभित्रको भ्रूण हो । ‘कुनै कुराको सृष्टि हुँदादेखि नै संघर्ष सुरु हुन्छ,’ उनले भने, ‘आमाको गर्भमा रहेको भू्रण पूर्ण बच्चा नबनुन्जेल उसले संघर्ष गरिरहन्छ ।’ टेराकोटको एउटा मूर्तिले आमा र सन्तानको प्रेम व्यक्त गर्छ । आमाको काखमा रहेको सन्तानले त्यहीँ विश्वभरको सुख भेटाउँछ भन्ने हेर्नेहरूले सहजै अनुमान लगाउन सक्छन् ।
फाइबरकै अर्को एक मूर्तिले २०७२ सालको भूकम्पको याद ताजा बनाउँछ । भूकम्पमा परेर बितेका गर्भवति र उनका पति आलिंगनमा रहेको अवस्थाको मूर्तिले गर्भको बच्चा जोगाउन दुईले गरेको संघर्षले हेर्नेको मन छुन्छ । ‘एक ठाउँमा यस्तै जोडीको शव भेटिएको थियो,’ श्रेष्ठले सम्झे, ‘त्यसले मेरो मन बाँधिन सकेन र मूर्ति बनाएँ ।’ त्यस्तै एउटा अण्डाभित्र बच्चाको आकृति रहेको मूर्तिलाई उनले देवालय नाम दिएका छन् । अण्डाभित्रबाट निस्कने जोकोहीको पहिलो मन्दिर त्यही अण्डा हो भन्ने ज्ञान उनले दिन खोजेका छन् ।
उनका अनुसार आमा र बच्चाबिना यो संसारको सृष्टि नै अधुरो छ । त्यसैले कलाकार भएपछि यो क्रम जोड्नु आफ्नो दायित्व भएको उनले बताए  ।
आमा र सन्तानको प्रेमबाहेक प्रदर्शनीमा राखिएको उनको ‘अमूल्य थोपा’  शीर्षकको कलाले  पानीप्रतिको वर्तमान प्रेम उजागर गर्छ । ‘राजधानीको ढुंगेधारा जसमा कुनै बेला हरदम पानी आउँथ्यो,’ श्रेष्ठले भने, ‘अहिले त्यो धारामा एक थोपा पानी चुहिएको देख्न मुस्किल हुन्छ ।’ यस्तो बेला त्यो ढुंगेधाराले महसुस गरेको त्यो थोपाप्रतिको आसक्तिलाई उनले मूर्तिमा रूपान्तरण गरेका छन् ।
अर्को एउटा मूर्तिले भने समाजको भेदभावलाई दर्शाउँछ । ‘अनुनय’ शीर्षकको त्यो मूर्तिमा एउटा मानिसको खुट्टा अर्कोले समातिरहेको देख्न सकिन्छ । धनी गरिब हुन वा दलित गैरदलित वा पश्चिमा संसारमा काला र गोराबीचको विभेदपूर्ण सम्बन्धलाई त्यो कलाले प्रष्ट्याउँछ ।
त्यसैैगरी समयका प्रहरहरू, तनाव, बुद्ध, उत्खनन्, मौलिकता दिनरात, अस्तित्व, संरक्षण लगायतका मूर्तिमा उनको कलाको बहुआयामिकता झल्कन्छ । ‘विभत्स’ शीर्षकको एउटा मूर्तिले भने विश्वयुद्धमा भएका नरसंहारलाई किताबका रूपमा सुन्दर ढंगले प्रस्तुती दिएका छन् । प्रदर्शनीमा राखिएमध्ये सबैभन्दा ठूलो मूर्ति महादेवको छ । मूर्तिले पुराणमा महादेवले आकाशमा दानवसँग गरेको युद्ध झल्काउने प्रयास गरेको छ । महादेवको मूर्तिको मूल्य नौ लाख रुपैयाँ छ । अन्य मूर्तिको भने बीस हजारदेखि चार लाख रुपैयाँसम्म मूल्य तोकिएको छ । प्रदर्शनीमा श्रेष्ठले विगत चार वर्षमा बनाएका २२ मूर्तिहरू प्रदर्शनीमा राखेका छन् । पुस १ गतेदेखि चलेको प्रदर्शनी पुस ८ गतेसम्म चल्ने छ ।

प्रकाशित: ६ पुस २०७४ ०१:४२ बिहीबार

मूर्तिभित्र मातृप्रेमका