कला

संस्कृति जोगाउन दलित समुदाय अग्रसर

देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ। शहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति-विसङ्गति बढ्दै गएको छ।

तिहार अर्थात् भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका-३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ। समाजले गाउँगाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ।

ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहा, विकुल, सहनाइ लगायतका विभिन्न वाद्यवादनसहित देउसीभैलोका नाममा अहिले भित्रिएको विकृति रोक्न सामूहिक रूपमा देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विक बताउँछन्।

‘‘अहिले देउसीभैलोको मौलिकपन नै भेटिंदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिक रूपमा मनाइनुपर्छ, यस अभियानमा हामी सामूहिक रूपमा जुटेका छौं”, उनले भने।

समाजले गत वर्ष एक लाख ६० हजार रुपैयाँको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताए।

नयाँ पुस्तामाझ देउसीभैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउँछन्, समाजका ज्येष्ठ सदस्य मोहनबहादुर विक। उनले पहिला-पहिलाको देउसीभैलोको तुलनामा हिजोआज धेरै फरक रहेको बताए। आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकामा उनी चिन्तित छन्।

बालबालिका, युवा, उमेर ढल्कदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसीभैलोमा गाउँगाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुसी हुँदै दानदक्षिणा दिने गरेको युवा मनु विक बताउँछन्।

देउसीभैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा लगाउने उनले बताए। नयाँ पुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिक रूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ।

मौलिक बाजाको तालमा देउसीभैलो समूह घरघरमा आउँदा स्थानीय पनि दङ्ग छन्। मेमोरी कार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसीभैलो खेल्नेको जमात बढ्दो छ।

मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसीभैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ।

देउसीभैलोबाट चाडपर्व मनाउने नाममा विकृतिविसङ्गति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मक रूपमा लिएका छन्। समाजमा ८० घरपरिवार दलित समुदाय मात्र आबद्ध छन्। आफ्नो समाजमा हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ।

हिजोआज खैंजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसीभैलो खेल्ने परम्परा हिजोआज कतै देखिंदैन। कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो। पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसीभैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाका पुस्ताको बुझाइ छ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ। तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन्। उज्यालै उज्यालैको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनी बिचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो। चाडपर्वमा पहिलेजसो मौलिकपनको सट्टा नयाँपन दिन खोज्दा पुरानो इतिहास नै मेटिन पुगेको बूढापाका बताउँछन्।

प्रकाशित: ३० कार्तिक २०८० ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App