कला

फिल्ममेकर लक्षित ‘हिरो सिक्स’

काठमाडौं–फिल्म सुटिङका लागि चाहिने सम्पूर्ण सामान उपलब्ध गराउँदै आएको आइसफल प्रडक्सनले फिल्मकर्मीलाई लक्षित गर्दै गोप्रो कम्पनी अन्तर्गत उत्पादन हुँदै आएको हिरोको छैटौं भर्सन बजारमा आएको जानकारी गराएको छ । शनिबार ठमेलस्थित मुलबरी होटलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नयाँ विशेषतासहितको ‘हिरो सिक्स’को बारेमा फिल्मकर्मी तथा बिक्रेतालाई जानकारी गराएको हो । आइसफल गोप्रोको आधिकारिक बिक्रेता हो । 
कार्यक्रममा आइसफल टेक्नोलोजीका निर्देशक भिम थापाले गोप्रोको नयाँ क्यामरा फिल्मकर्मीका लागि उपयुक्त हुने दाबी गरेका थिए । 
‘नेपालको सुटिङमा जुन खालका समस्या छन् गोप्रोको हिरो सिक्समा त्यसलाई सजिलो बनाउने विशेषता छन्,’ उनले भने, ‘ किनकि यो संस्करणबाट खिचेको क्यामराको आउटपुट फोके बराबरको छ । अनि, तपाईंले खिचिरहँदा हल्लिएला भन्ने चिन्ता छैन । किनकि यो भित्र अटोमेटिक रुपमा स्टेबलाइजेसन सिस्टम छ अर्थात जति हल्लाए पनि तपाईंको भिज्युवल हल्लिदैन ।’ उनले भीड र दौडिएको दृश्यहरु खिच्न यस्ता क्यामरा उपयुक्त हुने बताए ।
आइसफल प्रडक्सनका निर्माता रामकृष्ण पोखरेलले गोप्रोको हिरो सिक्स ‘वाटरप्रुफ’ रहेको बताए । ‘हिरो सिक्सले १० मिटर गहिराइसम्म निर्धक्क पानी भित्रको दृश्य खिच्न सक्छ । फिल्मकर्मीले अड एंगल वा एक्सनको सट लिन पर्यो भने यो उपयोगी हुन्छ,’उनले भने, ‘शरिरको जुनसुकै भागमा राखेर पनि खिच्न सकिने भएकाले यसको उपयोगिता बढी छ ।’
सन् २०१२देखि नेपालमा गोप्रो बेच्दै आएका पोखरेलले नेपालमा किन्दा क्यामराको मूल्य ५५ देखि ६० हजारसम्म पर्ने बताए ।  

 

प्रकाशित: २ पुस २०७४ ०१:३५ आइतबार

फिल्ममेकर लक्षित हिरो सिक्स