कला

राष्ट्रिय विभूति फाल्गुनन्द

जहाँ अज्ञान हुन्छ त्यहाँ ज्ञानको, जहाँ पाप हुन्छ त्यहाँ धर्मको जरुरत पर्छ। किराँत जनजातिले आफ्नो मूल प्रणयमन्त्र मात्र होइन, साधारण मानव जातिको पहिचानरूपी सप्त बुँदा भाषा, लिपि, संस्कार, धर्म, इतिहास, भेषभूषा, गरगहणा नै यकिन गर्न नसकिरहेको अवस्थामा मुक्तिदाता, ज्ञानदाता, चेतनदाताका रूपमा ईश्वरीय अवतार महागुरु फाल्गुनन्दको जन्मावतरण भयो।

पूर्व इलाम जिल्ला इभाङ चुक्चिनाम्बाको डाँडा गाउँ (हाल माङसेवुङ गापा-५) मा पिता जगनवाज, आमा हंसमोती बेघाको कोखमा साहिँला भाइका रूपमा १९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष तिथि मानिन्छ।

फाल्गुनन्दले भनेका छन् -देवसत्ता, राजसत्ता चलाउन नजानेकाले, हत्या-हिंसाले पापको पोको भरिएकाले, गरिब, टुहुरा, भोका, नाङ्गा भई बोल्नलेख्न नजान्ने भ्रममा बसेकाले परमेश्वरले तिमीहरूलाई माया गरेर उकास्नका लागि मलाई पठाएका हुन्। अब मैले देखाएको बाटो नबिराई सेवासत्कार गरेर कर्मधर्म गर्नुभयो भने देवसिद्धि–राजसिद्धिमा पुग्छौ।

यस्तो विचार राख्ने किराँत धर्मदर्शनका निर्माणक फाल्गुनन्दलाई २०६६ सालमा सोह्रौं राष्ट्रिय विभूति घोषणा गरियो। फाल्गुनन्दको चित्राङ्कित हुलाक टिकट प्रकाशन, जन्मजयन्तीमा सार्वजनिक बिदा दिएर राज्यले ठुलो सम्मान गरेको छ।

नेपालको धार्मिक इतिहासमा १९८८ साल वैशाख २४ मा पाँचथर लब्रेकुटीमा १७ थुम १० लिम्बुवानको बृहत् किराँत याक्थुङ चुम्लुङ सम्मेलन गराई सात बुँदे लिखित सत्यधर्म मुचुल्का तयार गरियो। राणाकालीन एकतान्त्रिक शासनकालमा स्वतन्त्रता, सहिष्णुता, मानवता र प्रजातान्त्रिक समाजवादको प्रथम उदाहरण प्रस्तुत गरिएको ऐतिहासिक दस्तावेजको औचित्य अद्यावधि महत्वपूर्ण रहेको वर्णन गर्नु जरुरी छ।

पाँचथरको लब्रेकुटी २ माङहिम, सिलौटी मन्दिर, काबेली मन्दिर, आठराई चिलिङसे मन्दिर, इलाम चारखोला चुक्चिनाम्बा र जितपुरलगायत भुटानको लामिटारलगायत स्थानमा ८/९ वटा माङहिम स्थापना गरी प्राचीन मन्दिरहरूको ऐतिहासिक तथ्य अनुसन्धान गरी यी सम्पदा जोगाउनु आवश्यक छ।

सत्य, दया, अहिंसा र शान्तिका दूत, सुसंस्कार–सुसंस्कृतिका संस्थापक, सत्य धर्म, सत्य कर्म, सत्य व्यवहार, सत्य विचार, सत्य आहार अवलम्बनका प्रणेता हुन् फाल्गुनन्द। हत्या, हिंसा, मादक पदार्थ, मदमंस, बलिपूजा निषेध गराई सात्विक भोजन, सात्विक सेवा, पूजापाठ गरी किराँत धर्मको उत्थानमा कर्मकाण्ड मुन्धुम र ज्ञानकाण्ड दर्शन शास्त्र निर्माण गरी किराँत लिपि, किराँत मुन्धुम, किराँत संस्कारको आचारण, विचरण, विवरणहरू निर्माण गरेकाले फाल्गुनन्दको नाम अमर रहनेछ।

फाल्गुनन्दद्वारा प्रतिपादित किराँत धर्म नेपालमा चौथो दर्जामा स्थापित छ भने अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जापान, कोरियालगायत राष्ट्रमा फैलिएको छ। उहाँकै सक्रियतामा किराँत धर्मको अन्तर्राष्ट्रिय सम्मेलन दुई पटक थियो। अहिले १५० भन्दा बढी किराँत मठमन्दिर र ५० भन्दा धेरै फाल्गुनन्दका सालिक स्थापना भएका छन् भने फाल्गुनन्दकृत मुन्धुमहरू धेरै सङ्ख्यामा प्रकाशित भएका छन्।

‘विश्व शान्ति र मानव एकता’ फाल्गुनन्दको मूल सिद्धान्त हो। यस मत्र्यलोकमा स्वर्गको अवतरण गराई पृथ्वीतलका सम्पूर्ण मानवलाई सुखशान्ति र आनन्द-परमानन्द दिने उहाँको उद्देश्य हो।

१३९ औं जन्मजयन्ती केन्द्रीय स्तरमा झापाको चिल्लागढमा किराँत मन्दिर उद्घाटन, फाल्गुनन्दको प्रतिमा अनावरण, झापा लक्ष्मीपुरमा निर्मित फाल्गुनन्द छात्रावास उद्घाटन गरी मनाइँदै छ। यसरी नै देश-विदेशमा जन्मजयन्ती मनाउने तयारी भइरहेको छ।

एकपटक स्वर्गद्वारी प्युठानका गौमाताहरू नुन खान नपाएर कराएको सुनेपछि उहाँहरूलाई नुन खुवाउन लिम्बुवानमा चामल भए एक माना, पैसा भए एक आना अर्थात् ‘आनामाना’ चन्दा संकलन गरियो। उक्त चन्दा सङ्कलन फाल्गुनन्दको सक्रियतामा भएको थियो। यसप्रकारको दानको महिमा र महŒव उच्चकोटिको रहेको पाइन्छ।

मानिसको जात मानिस नै हो, स्त्री-पुरुष लैङ्गिक भेद मात्र हो। यो लोक, पाताल लोक र स्वर्ग लोक मनुष्य मात्रका लागि हो। यही चेतनाबाट चैतन्य खोजेर विश्वधरातलका मानवलाई हिंसामुक्त गराई स्वर्गारोहण गराउनका लागि फाल्गुनन्द आजीवन ब्रह्मचर्य व्रतमा रहे। घरजग्गा थात-बास केही निर्माण नगरी मनुष्य मोक्ष–सेवामा उपदेश दिँदै हिँड्ने फाल्गुनन्द २००५ चैत्र २२ मा पाँचथर हाङयाकमा परमधाम हुनुभयो।  

प्रकाशित: २५ कार्तिक २०८० ०५:१८ शनिबार

राष्ट्रिय विभूति फाल्गुनन्द नेपालको धार्मिक इतिहास