कक्षाकोठामा खचाखच विद्यार्थी थिए। चैते खडेरीले उनीहरूको तनमनलाई उखुमै पारेको थियो। कताकता अपचबाट निस्केको गन्धले नाकलाई दक्खल दिंदा पङ्खाले सानो राहात पुर्याएको थियो।
‘पङ्खा तिमी कति ज्ञानी छौ हगि? सास नफेरी बुर्कुसी मारेर तिमीले हाम्रा साथीलाई दुर्गन्धबाट जोगाउँछौ हगि?’ सेतोपाटीले भन्यो।
पङ्खा बक्यो, ‘त्यसो होइन साथी, मेरो त यो कर्म मात्र हो। बरु तिमी बान्किला अक्षरमा सबैको ध्यान आकर्षण गराउन सक्छौ। त्यसैले तिम्रो महिमा पो अपरम्पार छ।’
‘मैले पनि त कर्म गरेको हुँ नि। आफ्नो रुचि र चाहना अनुसार मलाई केहीले मन पार्छन् तर तिमीलाई त सबैले।’ पङ्खा उत्तरको खोजीमा थियो।
संवादकै क्रममा शिक्षकको उपस्थिति भयो। विद्यार्थी गुरुलाई अभिवादन गरे। गुरुले विज्ञान र गणितका प्रयोग सेतोपाटीमा सजाउँदै थिए। पङ्खाको कुँदाइ निरन्तर थियो भने सेतोपाटी निश्चल र निश्छल स्वभावले गजधुम्म परेको थियो।
खाजापछिको समय हुनाले विद्यार्थीको शरीर तातो अनि रातो हुनु स्वभाविकै थियो। यही परिवेशमा गुरु र विद्यार्थीबिच जिज्ञासा, संवाद, छलफल चल्दै थियो। यो दृश्यले पङ्खा र सेतोपाटीलाई आनन्द तुल्याएको थियो। पङ्खा घुमेकै समय कक्षाको बिचबाट एकजना कोपीले हम्किंदै थियो। गुरुको नजर पर्नासाथ कोपी हल्लिन छोड्यो।
‘यो के हो? यस्तो दुर्गन्ध, कसलाई अप्ठ्यारो पयो बाहिर जाऊ न?’गुरुको स्वर ठुल्ठुलो भयो।
पङ्खा गन्धलाई भगाउन मच्चीमच्ची कुद्दै थियो। तर, दुई औंलाको च्यापुमा नाक राख्दै एक छात्रा बोलिन्, ‘गुरु, हामीले गाउँमा बनाएको फिरफिरेले कति स्वच्छ हावा फाल्छ तर यस शहरी पङ्खाले कस्तो पचेको हावा फालेको?’ भन्दै बाहिर निस्किन्।
प्रकाशित: २३ कार्तिक २०८० ०६:५६ बिहीबार