कला

पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा सम्पन्न

सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ।

नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी रहेका थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसासका वर्तमान वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास सांस्कृतिक समितिका संयोजक एवं कालीभक्त पन्त स्मृति प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, फलेवास वडा नं. ६ का अध्यक्ष नवीनकुमार श्रेष्ठ, प्रतिष्ठानका संरक्षक गोविन्द पन्त (कालीभक्त पन्तका साहिला छोरा) को विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्यकार महेश्वर पन्तको कवितासङ्ग्रह ‘उडेको पैताला’ को लोकार्पण प्रमुख अतिथि गंगाधर तिवारीले गरेका थिए भने सो कृतिको समीक्षात्मक मन्तव्य साहित्यकार सुरेन्द्र अस्तफलले गरेका थिए।

सो कार्यक्रममा कार्यक्रमको उदेश्य र महत्वमाथि साहित्यकार महेश्वर पन्तले प्रकाश पार्दै अतिथिहरूलाई स्वागत गरेका थिए।

कार्यक्रममा अध्यक्ष राजेन्द्र केसी, प्रमुख अतिथि गंगाधर तिवारी, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, वर्तमान वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास नेपाल च्याप्टरकी निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, सञ्चारकर्मी आरके अदीप्त गिरी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको दोस्रो सत्रमा अनेसास नेपाल च्याप्टरकी निवर्तमान उपाध्यक्ष साहित्यकार गीता कार्कीको सभापतित्वमा सम्पन्न कविता वाचन कार्यक्रममा विभिन्न कविले आआफ्नो रचना वाचन गरेका थिए।

सो कार्यक्रममा अनेसास नेपाल च्याप्टरका कार्यसमिति सदस्यहरू दुर्गाबहादुर शाह ‘बाबा’, इन्दिरा ढकाल, साहित्यकारहरू मदनकुमार थापा, सदस्य दुर्गाबहादुर शाह ‘बाबा’, विक्रमभक्त जोशी, गणेश श्रमण, रमेश दाहाल, उदय अधिकारी, लेखराम सापकोटा, पदम अर्याल, सूर्यप्रकाश कँडेल, देवेन्द्र केसी ‘देबु’, सरस्वती गौतम, आरजु विष्ट सल्यानी, आरके अदीप्त गिरी, असफल गौतम, दुर्गा अधिकारी, मनिला वन्त, गीतकार प्रकाश सुवेदी लगायतको उपस्थिति रहेको थियो।

यसैगरी कार्यक्रममा वरिष्ठ लोक गायक विमलराज क्षेत्री, वरिष्ठ संगीतकार नरहरि प्रेमी, गायिका ऋतु कँडेलको सांगीतिक प्रस्तुति समेत रहेको थियो भने मध्यरातसम्म स्थानीय कलाकारहरूको सहभागितामा दोहोरी गीत र नृत्य प्रस्तुत भएको थियो।

शुभकामना दिने क्रममा नगरप्रमुख गंगाधर तिवारीले सर्जक तथा साहित्यकारहरूलाई स्थानीय तहहरूमा ल्याएर कार्यक्रम गर्दा सो ठाउँबारे प्रभावकारी प्रचारप्रसार हुने हुँदा यस्ता कार्यक्रम बेलाबखत ७५३ वटै स्थानीय तहहरूले आफ्नै पहलमा पनि गर्नुपर्ने कुरामा जोड दिंदै आफ्नो कार्यकालमा निरन्तरता दिने समेत प्रतिबद्धता जाहेर गरेका थिए।

कार्यक्रम पर्वतको फलेवासमा रहेको ‘कालीभक्त पन्त स्मृति प्रतिष्ठान’ को संयोजनमा प्रतिष्ठानकै हलमा सम्पन्न भएको हो। दशैं-तिहार मनाउने सिलसिलामा अमेरिकाबाट नेपाल आएका अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको व्यवस्थापन र संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन मुक्तककार निशा केसीले गरेकी थिइन्।

साहित्यकारहरूलाई पर्वतका विभिन्न ठाउँको अवलोकन भ्रमण गराइएको सो कार्यक्रममा स्थानीयहरूको बाक्लो उपस्थिति थियो। फलेवास बरकोडाली आमा समूह र स्थानीयहरूको व्यवस्थापनमा पाहुनाहरूलाई खानेबस्ने व्यवस्था गराइएको थियो।

प्रकाशित: २० कार्तिक २०८० ०७:३३ सोमबार

अक्षर