कला

नेपाली साहित्यमा जातीय पहिचान

पहिचान

विगतदेखि नै विभिन्न साहित्यिक आन्दोलन, प्रकाशन र विचार मन्थनहरूमार्फत मुखरित हुँदै आएको पहिचानको मुद्दा आज आएर नेपाली साहित्य र समसामयिक चिन्तनको महत्वपूर्ण विषय बन्न पुगेको छ।

अहिले जातीय पहिचानको सन्दर्भ साहित्यको प्रमुख विषयमध्ये पर्छ। पहिचान विरोधी कोही पनि हुँदैन। हामी सबैले समाजमा आफ्नो पहिचान खोजिरहेकै हुन्छौं। हरेक मानिसले आफूले बाँचेको भूगोल र समयमा आफ्नो र आफ्नो समाज वा जातिको पहिचान खोजिरहेको हुन्छ।

सबै मान्छे कुनै न कुनै जातविशेषमा अनुबन्ध भएको हुन्छ। व्यक्ति, जाति र समाज विशेष प्रकारका सांस्कृतिक व्यवहार एवम् संस्कारले बाँधिएका हुन्छन्। त्यसैले कुनै पनि समाज बुझ्न त्यस समाजमा रहेका जाति समूहको सांस्कृतिक आचार व्यवहार बुझ्न सक्नुपर्छ।

जातीय पहिचान सबैले खोजिरहेका हुन्छन् अनि जातीय पहिचानविरोधी कोही पनि हुँदैन। सांस्कृतिक तथा भौगोलिक विशिष्टताले जातीय पहिचानलाई विशेष बनाएको हुन्छ।

भूगोलले एकै जातिलाई पनि भिन्न प्रकृतिको बनाएको हुन्छ। कञ्चनपुरका थारू र सुनसरीका थारूहरूको आचार व्यवहार एउटै नहुन सक्छ, मोरङका बाहुन र डोटीका बाहुनहरू त भाषैका कारण पनि एकअर्कालाई बुझ्न नसक्ने अवस्थामा छन्। राईहरूबिच भाषाको दर्जनौं विविधता र ती भाषाहरूभित्र निहित मिहिन सांस्कृतिक विविधता गनिनसक्नुका छन्।

पहिचानको मुद्दा आजको स्वाभाविक मुद्दा पनि हो। जहानियाँ शासनव्यवस्था भएको ठाउँमा, राजतन्त्र अर्थात् हस्तान्तरित नेतृत्व भएको ठाउँमा, तानाशाही र व्यक्तिप्रवृत्त शासन व्यवस्था भएका ठाउँमा शासनसत्ताको परिधिभन्दा बाहिरका मान्छे, जातजाति, क्षेत्र र समुदाय उत्पीडनमा पर्छन् अर्थात् अधिकारबाट कुण्ठित बन्न पुग्छन्। यस्तो अवस्थामा रहेका मान्छेले आवाज उठाउने अनुकूल वातावरण पाउँदा पहिचानका स्वरहरू स्वतःस्फूर्त उठाउने गर्छन्।  

नेपालमा युगौंदेखि किरात, मल्ल, लिच्छवि, शाह, राणा र अहिले शासनव्यवस्थाअन्तर्गत जुनसुकै जातका भए पनि उच्च ओदहामा बस्नेहरूले शासनसत्ता चलाइरहेका छन्। यसैगरी समाजमा पनि जातीय, आर्थिक एवम् सत्तासँग नजिक रहेकाहरूले नै प्रभुत्व जमाइरहेका हुन्छन्।

आजका सन्दर्भमा यस्तो प्रभुत्व हरेक जातका मान्छेहरूले जमाइरहेको पाइन्छ। पहिचानको समस्या कुनै एक जात विशेषमा निहित हुँदैन। यो शासनसत्ता तथा शक्तिका कारण विकसित भइरहेको हुन्छ। जो सत्तामा पुगे पनि आफ्नो प्रभुत्व बढाउने प्रवृत्ति देखिन्छ। यो मानव सभ्यताको सुरुवातदेखिकै प्रवृत्ति हो।

नेपाली साहित्यमा पहिचानको आवाजलाई धेरै अगाडिदेखि नै उठाउँदै आएको पाइन्छ। पहिचानको आवाज उठाउने काम समसामयिक साहित्यमा अझै बढी भइरहेको छ। साहित्यमा पहिचानको मुद्दा उठ्नु सांस्कृतिक अध्ययनको महत्वपूर्ण पक्ष हो तर आजको पहिचानमुखी साहित्यमा संस्कृति र सभ्यताको खोजी एवम् चिनारीभन्दा आक्रोश बढी देखिँदै आएको पाइन्छ। यो पक्ष साहित्य लेखनका साथै साहित्यको सांस्कृतिक अध्ययन गर्ने सन्दर्भको विकृति हो।

साहित्य समय र समाज निरपेक्ष रहन सक्दैन। यस सन्दर्भमा नेपाली साहित्य पनि अछुतो रहन सक्दैन। आज नयाँ नेपालको चर्चा भइरहँदा नेपाली साहित्यमा नयाँ स्वरूप, जातीय सांस्कृतिक विषयवस्तु, राजनीतिक सन्दर्भबारे चिन्तन गर्न थालिएको छ।

नेपाल मूलतः संघीय लोकतान्त्रिक गणतन्त्रमा रहिआएको सन्दर्भमा नेपाली साहित्यको स्वरूपमा पनि परिवर्तन एवम् नयाँपनका सङ्केत देखिनुपर्छ र यस्ता सङ्केत देखिँदै आएका पनि छन्।

२०४६ पछि स्रष्टाहरूले पाएको अभिव्यक्ति स्वतन्त्रताको भरपूर सदुपयोगले नेपाली साहित्यलाई अरू बढी फराकिलो बनाइदियो। त्यसपछि २०५२ देखि सुरु भएको माओवादी जनयुद्धको एक दशक लामो समयले नेपाली साहित्यमा नयाँ परिवेश र विषयलाई अगाडि ल्याइदियो।

विगतमा बाहिरी देशका युद्ध–साहित्य मात्र पढ्दै आएका नेपाली साहित्यका पाठकले आफ्नै देशको युद्ध–साहित्यको स्वाद र अनुभूति पाए। आज नेपाली साहित्यको बजारमा आफ्नै भूमिमा भएको युद्ध–साहित्यका पुस्तकहरू प्रशस्त उपलब्ध भएका छन्।

विगतमा नेपाली साहित्यको आयाम अहिलेजस्तो फराकिलो थिएन। विगतमा नेपाली साहित्य केन्द्रीकृत एवम् एकल चिन्तनको चौघेरामा बन्दी थियो। एक जाति, भाषा, धर्म र राष्ट्रको विषयवस्तुमा नेपाली साहित्य पनि केन्द्रित थियो।

जातीय सौन्दर्यदृष्टिको प्रस्तुतिबाट अहिलेको नेपाली साहित्य गहिरोसँग प्रभावित भएको स्पष्ट देखिन्छ। श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ कवितासङ्ग्रहमा सङ्कलित थुप्रै कविता जातीय पहिचान कविता रहेका छन्। यस सङ्ग्रहभित्रको ‘बिसे नगर्चीको बयान’ कविताले दुई शताब्दीभन्दा बढी समयदेखि पहिचानको खोजीमा रहेका बिसे नगर्ची नामक सीमान्तकृत जनताको विद्रोहलाई प्रस्तुत गरेको छ।

राजन मुकारुङको ‘दमिनी भीर’, सरस्वती प्रतीक्षाको ‘नत्थी’, दिलीप ढकालको ‘छलाङ’ उपन्यास जातीय संस्कृतिलाई नै प्रस्तुत गर्ने कृतिका उदाहरण हुन्। ‘दमिनी भीर’ले नेपाली समाजमा रहेको जातीय विभेद तथा पहिचानलाई नै कथ्य विषय बनाएको छ। ‘नत्थी’ले पश्चिम तराईका दलित वादी समुदायको संस्कृति, जीवनशैली, व्यवसायलाई मुख्य विषयवस्तु बनाएको छ। ‘छलाङ’ले जातीय तथा वर्गीय विभेदकै कारण नेपाली समाजमा परिवर्तन नआएको सन्दर्भलाई गर्भविषय बनाउँदै परिवर्तनका लागि त्याग र राष्ट्रिय चिन्तनमै छलाङ हुनुपर्नेमा जोड दिएको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘लूनी’ र ‘म्हेन्दु’ खण्डकाव्यले तामाङ र सेर्पा समुदायको जातीय संस्कृतिलाई प्रस्तुत गरेका छन्। महेश विक्रम शाह र नयनराज पाण्डेले पश्चिम तराईका थारु र अन्य समुदायको सांस्कृतिक सरोकारमा कथा लेखेका छन्।

भवानी भिक्षुका कथामा तराईका स्थानीय पात्रहरूको प्रयोग गर्दै त्यहाँको समाज, त्यहाँका आस्था विश्वासहरूलाई नै मुख्य रूपमा देखाइएको पाइन्छ।

काजीमान कन्दङ्वा र शिवकुमार श्रेष्ठले मूलतः किराती लोककथालाई आफ्नो साहित्यको आख्यानसन्दर्भ बनाएको पाइन्छ भने उपेन्द्र सुब्बाले मिहिन रूपमा ‘लाटो पहाड’ जस्ता कथाबाट किराती संस्कृतिका रूपहरूलाई प्रस्तुत गरेको पाइन्छ।

यसप्रकार नेपाली साहित्यमा नेपालका विविध जातजातिहरूको सांस्कृतिक प्रस्तुति भएको पाइन्छ। यी सबै जातीय संस्कृतिको प्रस्तुतिमा जातीय पहिचानको मुद्दा जोडिएरै आएको पाइन्छ। व्यक्ति, जाति र समाज विशेष प्रकारका सांस्कृतिक व्यवहार एवम् संस्कारले बाँधिएका हुन्छन् र सबैले आफ्नो परिचय स्थापित भएको हेर्न चाहन्छन्।

जातीय पहिचानको खोजी गर्नु राजनीतिक मुद्दा नभएर सांस्कृतिक मुद्दा हो। यस्तो जातीय संस्कृतिको प्रस्तुति भएका साहित्यिक कृतिहरूको प्रकाशन, जातीय सांस्कृतिक अनुसन्धान एवम् लेखनमार्फत सांस्कृतिक बहस आजका कृतिहरूमा हुनु आवश्यक छ।  

प्रकाशित: १८ कार्तिक २०८० ०५:०० शनिबार

अक्षर