कला

जस

लघुकथा

कहिले नुन चर्को भयो रे, कहिले एक थरी मात्रै तरकारी भयो रे, कहिले भात गिलो भयो रे अनि कहिले काँचो रे!  ‘यसपालि त सबै ठिक छ। त्यसैले कुनै गुनासो सुन्न नपर्ला!’ खाना पकाइसकेर ठसठस कन्दै नारनप्रसाद एक्लै भुनभुनाउने गर्थ्याे।

‘बाटुली’ त्यो घरमा भित्रिएको चौध पुगेर पन्ध्र वर्ष लागेछ। श्रीमतीले पकाएर दिएको खाने बानी परेको हुँदा महिनावारीका बेला महिनामा तीनचार दिन भान्छे बन्नु पर्दा लोग्ने नारनलाई नर्क पुगेको अनुभूति हुन्थ्यो। कारण एउटै थियो: मीठो भएन भनेर बाटुलीले किचकिच गर्नु।

एक मनले भन्थ्यो, ‘यी तीन दिन त अफिसै नगई बिदामै बसेर जाने जतिका परिकार बनाएर खुवाऊँ र जान्ने कहलिऊँ!’

फेरि मन मान्दैनथ्यो।

कहिले त ‘किन बार्नुपरेको होला यो महिनावारी?’ भन्दै पड्किन्थ्यो अनि गाउँमा बस्ने एकदमै कडा मिजासकी आफ्नै संस्कारी आमाको डरले फेरि लुतुक्क पर्थ्याे। बजारबाट केही ल्याएर छाक टार्न खोजे पनि सानी छोरीलाई सञ्चो गर्दैन कि भन्ने ठानेर खुम्चिन्थ्यो।

यताबाट श्रीमतीले ‘हजुरलाई तीन दिन पकाउँदा यस्तो हुन्छ है! खै, हामीले त महिनाभर मिठै पकाएर खुवाउँछौं’ भन्ने अझ कडा वाक्य सुन्दा नारनलाई आफू पाक कलामा साँच्चै अयोग्य रहेछु भन्ने लागे पनि ऊ हार्न भने चाहँदैनथ्यो।

आज ऊ बिहान पाँच बजेबाटै भान्छाको तरखरमा लाग्यो। अफिस पनि समयमै पुग्नु थियो। हिजो नै काटेर फ्रिजमा राखेको तरकारी पकायो। चामल भिजाएर कुकरको बिर्को लगायो। दाल पनि झान्यो। चटनी पनि बनायो। दाल, तरकारी र चटनीमा नुन, पिरो, अमिलो सबै जाँचेर ऊ आफै मक्ख प–यो।

खाना खाने बेला भयो। सानी छोरी र आफूलाई डाइनिङ टेबलमा अनि बाटुलीलाई चाहिं भुईमै बस्ने व्यवस्था मिलायो। अफिसको युनिफर्म लगाइसकेकाले अलि सतर्क भएर घडी हेर्दै भात पस्किन चुल्हामा पुग्यो। तीनवटै कचौरामा अघि झानेको मिठो दाल हाल्यो। ससाना प्लेटमा अचार राख्यो। तरकारी पनि थालकै छेउका राखेर भात पस्किन भन्दै हतारहतार कुकुरको बिर्को खोल्यो।

कुकरमा भात थिएन। कुकरमा आगो लगाउन बिर्सेको नारनले भाँडामा चामल र चौलानी मात्रै देखेपछि ऊ खिन्न भयो। उता, खाना खान बसेका आमाछोरीतर्फ यसो मुन्टो घुमायो। छोरीको हातको चम्चा अनि पलेटी मारेर खाने तयारीमा बसेकी बाटुलीको गोरो अनुहार देख्यो। केही बोल्न खोज्दै थियो तर बोल्नका लागि कुनै शब्द नै भेट्टाएन।

 -हरिप्रसाद गौतम

प्रकाशित: १५ कार्तिक २०८० ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App