कला

कथाकार प्राडा कपिल लामिछानेकाे अणिमा कृतिप्रति पाठकीय नजर

पुस्तक

कास्की जिल्लामा जन्मिएर भैरहवालाई कर्मथलो बनाउँदै आउनुभएका प्राडा कपिलदेव लामिछाने नेपाली भाषा र साहित्यको सगरमा चिनाइरहनुपर्ने नाम होइन। लघुकथा, कथा, कविता, बालसाहित्य, लोकसाहित्य र समालोचना, भाषाव्याकरण, समीक्षा, पत्रकारिता, सम्पादन र अनुसन्धानको क्षेत्रमा उहाँको लगन अनवरत रूपमा सक्रिय छ। नेपाली विषयमा स्नातकोत्तर (प्रथम श्रेणीमा प्रथम) र गाउँ खाने कथामा विद्यावारिधि गर्नुभएका लामिछाने हाल प्राध्यापन क्षेत्रबाट सेवा निवृत्त हुनुहुन्छ।

चालिसको दशकदेखि लघुकथा लेखनमा लागेका प्राडा कपिल लामिछानेको पाँचौं लघुकथाकृति अणिमाको विमोचन २०८० साल जेठ ५ गते मुगुको राराको किनारामा स्थलगत सिर्जना शिविर तयार गरेर भएको थियो। किताब हात परेपछि केके रहेछ त भनेर खोतल्न मन लाग्यो।

साझा प्रकाशनबाट प्रकाशित प्रस्तुत ‘अणिमा’ किताबको नामले नै कौतुहूल जगायो। शब्दकोश पल्टाएँ। अर्थ लेखिएको थियो, योगको अभ्यासद्वारा होइने अणुजस्तै सूक्ष्मता।

लेखकको लघुकथन रहेछ, एक सासमा पढें। लघुकथाको विशेषता औंल्याउँदै लेख्नुभएको रहेछ, ‘आकारमा  लघुता, गतिमा तिव्रता, विषयमा पूर्णता, अभिव्यक्तिमा चोटिलोपन, रहस्यको हठात् पटाक्षेप,अकस्मात् आरम्भ र अन्त्य तथा न्यूनतम आख्यान।’

सर्जकको के कस्तो अभ्यास र साधना खनिएको होला त भन्ने जिज्ञासा उठ्यो। पाना पल्टाउँदै गएँ। १०४ पृष्ठभित्र ६२ लघुकथा समावेश रहेछन्।

तीन साथीले समय (भूत, वर्तमान र भविष्य ) लाई बुझाएको छ। घर, घाट र मान्छेले धनप्रति मानिसको आशक्ति देखाएको छ। आरक्षणमा हाम्रो शैक्षिक स्तरलाई मापन गरिएको छ। संरक्षणले जिम्मेवारहीन चरित्रलाई व्यंग्य कसेको छ। वृत्ति १ र २ यौन दुराचारको विषय उठान गरेको छ। फूलवालीमा मान्छेको लगन र परिश्रमलाई सङ्केत गरिएको छ। सहकार्यमा अवसरवादी चरित्रप्रति प्रहार गरिएको छ।

आहा पहाड! ले  हेर्न सहज तर भोग्न कठिन हुन्छ भन्ने यथार्थ भाव बोकेको छ। हर्केको रूख र प्रतिशोधमा बदलाको भाव पोखिएको छ। आसिकले भ्रष्टाचार प्रवृत्तिलाई चड्कन हानेको छ। सहिद पार्कले वनजङ्गलको हविगत चित्रण गरेको छ।

छलाङ र पाउपाउले प्रविधिको करामत पस्केको छ। लापर्वाहीले स्वास्थ क्षेत्रको विकृति उजागर गरेको छ। फासीले मानवीय चेतको वकालत गरेको छ। दाताले मानवीय तुच्छ चरित्र, अहिंसकले धर्मभिरूको  ढोङ्गी चरित्र, चस्माले नेता चरित्र, रछ्यानले कमिसन र भ्रष्टहरूको चरित्र उजागर गरेको छ।

मर्निङवाकले परिश्रमी बन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। परिवर्तनले धार्मिक विकृति, उपदेशले सिद्धान्त र व्यवहारमा हुने  फरक देखाएको छ। ऊ, उनी र उहाँले मानिसको स्तर मापन गरेको छ। विकासले कृषि व्यवसायप्रतिको चिन्ताभाव प्रकट गरेको छ। योगले कर्मयोगी बन्न उत्प्रेरणा बाँडेको छ। भगवानले धर्मप्रतिको अन्धविश्वास खोतलेको छ।

भाइरल, लकडाउन, नयाँ अवतार, राहत १, राहत २, राहत ३, कोरोनाकी माई, करूणा, कोरोना बेड, लाम, उपचार  जस्ता शीर्षकका लघुकथाले कोरोना अवस्थामा भोगिएका पीडा, त्रास, द्विविधा आदिलाई खोतलेको छ।

झपक्कको रूखले यौवनमा हराभरा दिने तर वृद्धमा सुकेनाश लाग्ने हुँदा त्यसको अस्तित्वको औचित्य नरहने विषयलाई प्रतिकात्मक शैलीमा राजसंस्थाप्रति संकेत गरेको भान हुन्छ। एक मात्र चिन्ताले व्यक्तिको स्वार्थप्रति स्वचिन्तन मौलाएको छ।

जवाफ दिनु पनि दान हो भनेर हास्य रसमा दान लघुकथा बुनिएको छ। दृष्टिले डाक्टरप्रति बिरामीको फरकफरक  सोच, जगेडाले पतिपत्नी एकको अभावमा जगेडा राख्न पाए जीवन सुरक्षित रहने व्यंग्यभाव पस्केको छ।

कार्यक्रमहरूमा मूल मुद्दाभन्दा खानेकुरालाई महत्व दिने सोचलाई संस्कृतिमा झल्काइएको छ। नाति मनमा बालमनोविज्ञान,  विशाल रूखले अरूको आडमा उभिनेको हविगत प्रस्तुत गरेको छ। चरो र चारोले निरीहमाथि गरिने दमन र तिनलाई  बन्धनमा पार्ने नीति प्रस्तुत गरेको छ।

मोटोमा हैकम प्रवृत्ति, पुलमा कमिशनतन्त्रप्रति प्रहार गरिएको छ। घकु र भुकुमा जीवनको सम्पन्नता र विपन्नतालाई व्यंग्यात्मक शैलीमा बुनिएको छ। सजायमा शिक्षकहरूप्रति शिष्यको आक्रोश, लक्ष्मीमा धनप्राप्ति प्रतिको लालसा र धन भित्रिने तौरतरिकालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत भएको छ।

फलफूल र काम्लोले गरिबीको पराकाष्ठा खोतलेको छ भने चिनु, बराबरी र तलाकले महिलाप्रतिको हिंसा र सामाजिक समस्याको सवाल उठाएको  छ भने  फरक मान्छेले न्यायिक असमानताप्रति सङ्केत गरेको छ।

समग्रमा हेर्ने हो भने प्राडा लामिछानेका  लघुकथाहरूमा नेपाली समाज र परिवेश बोलेका छन्। मानवीय चरित्र, भ्रष्टाचार र कमिशनविरुद्धको  चेतना, सामाजिक विकृति विसङ्गति  र विभेद, आर्थिक उत्पीडन, न्यायिक असमानता, धर्म र संस्कारमा पाइने दिग्भ्रम, नारी मनोविज्ञान, बालसुलभ जिज्ञासा, महामारी कोरोना कहर, लकडाउनको पीडा, राहतप्रतिको असमानता, जनताका आशा र भरोसाप्रति कुठाराघात, नेता चरित्रका फरक रूपहरू, जनश्रमको कदर, सकारात्मक सन्देश आदि पाइन्छन्।

आहा पहाड!, हर्केको रूख, छलाङ, मर्निङवाक, परिवर्तन, चस्मा, रछ्यान, नयाँ अवतार, लाम, दान, हिंसक,जगेडा, आरक्षण,उपचार, विशाल रूख, चिनु,फलफूल, फरक मान्छे,  स्यालको रोदन, काम्लो जस्ता कतिपय लघुकथा उत्कृष्ट छन्, मानक छन्।

अन्य केही सामान्य छन्। कृतिभित्र समेटिएका लघुकथाहरू विभिन्न पत्रपत्रिका पुस्तकहरूमा प्रकाशित भैसकेका हुन्। फेसबुक पेजहरूमा पोष्ट भएर, वाचनमा परेका लघुकथाहरू नै हुन् भनेर लेखकले आभार/साभारमा प्रष्ट्याउनुभएको छ।

प्रयोजन,पात्र, विषयभाव, समापनका दृष्टिले लघुकथाहरू उम्दा छन् अझ बढी भाषा, शैली र प्रस्तुतिको दृष्टिले सर्जक  बेजोड र  सिद्धहस्त लघुकथाकारको रूपमा  उभिएका छन्।

वर्णन र संवाद शैलीमा लघुकथा लेखिएका छन् जसमा भरपूर मात्रामा बिम्बको प्रयोग  र सशक्त व्यङ्ग्य आएको छ। जगेडा, करूणा, कोरोना कि माई, छलाङ, लकडाउन, दान, बराबरी शीर्षक जस्ता लघुकथाले पाठकलाई खित्का छाड्ने गरी हँसाउँछ।

पात्र र परिवेशअनुरूपको भाषाको प्रयोगले रोचक र मिठास थपेको छ। लघुकथाहरू रोचक र घोचक छन्,  चोटिला बनेका छन्। आवरण चित्र सुन्दर र शालिन छ। किताबको मूल्य २५५।-छ।

खट्किएको विषय-साझा प्रकाशन जस्तो गरिमामय संस्थाले प्रकाशित गरेको कृति अनि श्रीओम श्रेष्ठ रोदन, हरिप्रसाद भण्डारी, वनमाली निराकार, डा. पुष्करराज भट्ट जस्ता विज्ञहरूले शुभकामनाका सन्देश प्रवाह गरेको कृतिमा लघु कथा, लघु कथासङ्ग्रह, लघु कथन, लघु कथाक्रम जस्ता शब्दहरू किन पदवियोग भएर आए? कुन पक्षबाट लापरवाही भयो? मननीय छ।

यसैगरी सिद्धहस्त लघुकथाकार प्राडा लामिछानेको पाँचौं कृतिमा किन  कतिपय लघुकथामा शीर्षक र भावपक्ष दोहरिएर आएको होला भनेर सोच्न बाध्य भएँ।  नआएको भए हुन्थ्यो जस्तो पनि लाग्यो।

नेपाली भाषा आफैंमा सम्मृद्ध छ। लेखक आफैं भाषाविज्ञ हुनुहुन्छ तर पनि वृत्त १, वृत्त २, राहत १,२,३ भनेर एउटै शीर्षक प्रयोग नगरेको भए हुन्थ्यो। घर, घाट र मान्छे यसैगरी  ऊ, उनी र उहाँ जस्ता तीन पदावलीको ठाँउमा शीर्षक एक पदीय भएको भए हुन्थ्यो नि जस्तो पनि लाग्यो। हुर्केको रूख र प्रतिशोध लघुकथामा समान विषयभाव, करूणा र करूणा की माईको शब्दको समान भ्रम जाल जस्ता विषयहरू नदोहोरिएको भए हुन्थ्यो नि भनेर मनमा खटकी नै रह्यो। समग्रमा अणिमा पठनीय छ।

प्रकाशित: १५ कार्तिक २०८० ०५:२६ बुधबार

अक्षर