कला

सोभियत संघका झझल्काहरू

पुस्तक

भक्तपुर पुस्तक मेलामा जम्काभेट भएका इन्जिनियर रामविन्दु श्रेष्ठसँग केही घतलाग्दा सोभियत अनुभव सुनेपछि मैले उहाँले लेख्नुभएको पुस्तक ‘मेरा सोभियत सम्झनाहरू’ किन्ने निधो गरें। पुस्तक पढ्दा यसरी डुबिएछ कि लिएको भोलिपल्ट बिहानसम्म विकट बागलुङबाट दिल्ली हुँदै सोभियत संघका फाँट, समुद्र, शैक्षिक संस्थान, छात्रावास, आराम गृह र युरोपका केही देशहरूको एक फेरो मारिसकेको थिएँ। सोभियत समाज, संस्कृति र सोचको एक झलक पाइसकेको थिएँ। एउटा ‘आहा क्षण’ सकिएको छ र लेख्न बसेको छु यो अनुभूति।

कहाँबाट थालूँ भइरहेको छ। सोभियत सम्झनाका पोकाहरू लेखकले ‘समर्पण’बाट सुरु गर्नुभएको छ। आमाबुबापछि उहाँले संस्मरण सोभियत जनताप्रति समर्पित गर्नुभएको छ। यो समर्पणले पुस्तकको भाव बोल्छ। लेखिएको छ, ‘ती सोभियत जनतामा, जसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर खडा गरे।’

२०४२ सालमा उच्च अंकसहित प्रमाणपत्र तह उत्तीर्णपछि उच्च शिक्षा अध्ययनका निम्ति उहाँ सोभियत संघ जानुभयो। त्यहाँ उहाँले एरेभान विश्वविद्यालयमा रुसी भाषाको अध्ययन गर्नुभयो। त्यसपछि खार्कोभमा पाँच वर्ष स्नातकोत्तर सकेर नेपाल फर्किनुभयो। यसबिच उहाँले देखेभोगेको जीवन नै ‘मेरा सोभियत सम्झनाहरू’ को विषय हो।

उहाँ सोभियत संघको एरेभानलाई रुसी कखरा सिकेको दोस्रो मातृभूमि भन्नुहुन्छ। एरेभानमा उहाँलाई एक बुढी गुरुआमा आर्पिक आभेतोभ्ना खच्यातुर्‍यानले पढाउनुभयो। त्यहाँ शिक्षकले विद्यार्थीहरूलाई आमाबुबाले जस्तै रेखदेख गर्ने चलन थियो। चाडबाडमा घरमा बोलाउँथे, नजानेको कुरा बुझाउन सदा हाजिर हुन्थे। भाषा सिकाउने काइदा सानदार थियो। सबै थोक रुसी भाषामै सिकाइन्थ्यो, उल्था हुन्नथ्यो।

यो प्रभावकारी विधिकै कारण आफूहरू महिना दिनमै रुसी भाषा बोल्न र किनमेल गर्न जान सक्ने भएको लेख्नुभएको छ। आर्पिकको पेन्सन पाकिसकेकाले घर बस्न सक्नुहुन्थ्यो, तर सक्रिय जीवन बिताउन पढाउने पेसा छोड्नुभएको थिएन।

सोभियत समाजका सर्जक लेनिन गोली लागिसकेर पनि केही वर्ष बाँच्न सक्नुको कारण सक्रिय जीवन हो भनी शिक्षिका आभेतोभ्ना बारम्बार सम्झाउनुहुन्थ्यो।

सोभियत संघमा विदेशी विद्यार्थीहरूको अध्ययन घतलाग्दो हुन्थ्यो। तेस्रो विश्वका विद्यार्थीहरू एउटै कक्षा र छात्रावासमा भेट हुन्थे। अश्वेतहरूले जीवनमा सम्मान पाएको महसुस गर्थे। उनीहरू आफ्नो देशको कला, भाषा र संस्कृतिका प्रतिनिधि थिए। त्यहाँ उनीहरूले एकअर्काको संस्कृतिलाई आदर गर्न सिके। त्यस्तो एउटा नयाँ विश्व संस्कृति र नयाँ सोभियत मान्छे निर्माण गर्ने उद्देश्यले स्थापित ‘सोभियतहरूको देश’ विघटन हुँदा भावविह्वल भएको उहाँको मनसँगै पाठकको मन पनि खिन्न हुन्छ। यही पीडालाई उहाँ पुस्तक लेख्ने प्रेरणा ठान्नुहुन्छ।

लेखक रामविन्दुले सोभियत शिक्षा प्रणालीबारे धेरै कुरा लेख्नुभएको छ। जस्तो, सोभियत शिक्षा पद्धतिमा विद्यार्थीलाई विषयगत ज्ञानका अतिरिक्त विश्वदृष्टिकोण निर्माणमा जोड दिइन्थ्यो। त्यहाँ सोभियत इतिहास, दर्शन, अर्थशास्त्र र समाजबारे पढाइन्थ्यो।

इन्जिनियरिङका विद्यार्थीलाई केको दर्शन पढाएको होला भनेर सुरुमा लेखकलाई झर्को लागेको थियो। पछिपछि उहाँले दर्शनको ज्ञानको महत्व बुझ्दै जानुभयो। जीवन र जगत्लाई बुझ्न र समाजलाई नेतृत्व दिन दर्शनको आवश्यकता हुने उहाँ लेख्नुहुन्छ।

आजभोलि नेपालमै पनि विज्ञान र प्रविधिका विषयमा दर्शनको कुरा कहींकतै पढाइन्न। यसले सोच्ने र विश्लेषण गर्ने मान्छे होइन, कारिन्दा वा कर्मचारी मात्र निर्माण गर्छ। यसै सन्दर्भमा अध्ययनको प्रथम वर्षमा इतिहासको कक्षामा शिक्षिकाले सोभियत कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशन बहिष्कार गरी निस्कने नेता को थियो? भनी सोध्दा लेखकले माओ भन्नुभएछ। त्यो सुनेर कति विद्यार्थी लेखकनिकट हुन पुगेछन्। पुस्तकका यस्ता प्रसङ्गहरू घतलाग्दा छन्।

सोभियत शिक्षकहरू समर्पित र कर्तव्यपरायण थिए। त्यहाँ ठुलाले सानालाई पहिला अभिवादन गर्ने चलन थियो। परीक्षाका बेला प्रत्येक विद्यार्थीले अलग अलग प्रश्नपत्र पाउँथे। विद्यार्थीले उत्तरकापी देखाउँदा शिक्षकले थप प्रश्न सोध्न पनि सक्थे। त्यसैले रटानलाई भन्दा बुझाइलाई बढी ध्यान दिइन्थ्यो। विद्यार्थीको मूल्याङ्कन ठाउँको ठाउँ तत्कालै हुन्थ्यो, हाम्रोमा जस्तो महिनौ कुर्नु पर्दैनथ्यो। त्यसैले सायद लेखक रामविन्दुजस्ता विद्यार्थीहरूले उच्च आदर्शका साथ अध्ययन गरे।

सोभियत संघले दोस्रो विश्वयुद्धमा धेरै रगत बगाएको थियो। यसलाई लेखकले इतिहासको अंश उद्धृत गर्दै ‘यो सङ्ग्राममा सोभियत जनताले आफ्नो निःस्वार्थ सङ्घर्षबाट युरोपको सभ्यतालाई फाँसीवादी विध्वंसबाट बचाएका थिए। यो मानव जातिको इतिहासमा सोभियत जनताको ठुलो देन हो’ भनी चित्रण गर्नुभएको छ। यही उत्सर्गको स्मरणमा त्यहाँ मनाइने चाडहरूमध्ये मे ९ को विजय दिवसलाई सबैभन्दा ठुलो मानिन्थ्यो। त्यो दिन सोभियत संघले आफ्ना अढाई करोड वीरहरूको सहादतबाट नाजी फासीवादीमाथि विजय प्राप्त गरेको दिन हो।

सोभियत संघको भूराजनीतिक परिवेशकै कारण त्यहाँ प्रत्येक युवाले दुई वर्ष अनिवार्य सैन्य तालिम लिनुपर्ने बन्दोबस्त थियो। लेखकलाई पढाउने एक शिक्षक आफै पनि युद्धका भेटरान हुनुहुन्थ्यो।

नारीप्रतिको सम्मान सोभियत संघको उल्लेख्य विशेषता थियो। राज्यका सबै क्षेत्रमा नारीहरू अगाडि थिए। भाषा सिकाउने प्रशिक्षक प्रायः महिला थिए। नेपालमा महिला साक्षरता १.८ प्रतिशत छँदा सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा २६ वर्षको कलिलो उमेरमै अन्तरिक्षमा पुगेकी थिइन्। ट्रामका प्रायः चालक महिला नै हुन्थे। सार्वजानिक सवारी साधनहरूमा जेष्ठ नागरिकहरू पस्नेबित्तिकै सिट छोड्ने चलन थियो। यसलाई लेखक सोभियत सभ्यताको चिनारी भन्नुहुन्छ।

लेखकले सोभियत संघको खानाको गुणस्तर र मालसामानको दिगोपनको पनि चर्चा गर्नुभएको छ। जस्तैः युक्रेनबाट ल्याएको एउटा ओभन ३५ वर्षभन्दा बढी चलेको, खाना स्वादमा सादा भए पनि पोषक र पथ्य भएको आदि। तर २९ वर्षपछि फेरि रुस जाँदाको बजार अर्थतन्त्रमा त्यसको गुणस्तर उहिलेको जस्तो नपाउनुको प्रसङ्गले पहिला मुनाफाभन्दा मानिसको स्वास्थ्यका लागि भोजन र सामान तयार गरिन्थ्यो भन्ने खुल्छ।

सोभियत संघमा अध्ययनका क्रममा लेखक रामविन्दुले युरोपको भ्रमण गर्ने मौका पनि पाउनुभयो। युरोप महँगो थियो। उहाँले फ्रान्कफर्टमा भुइँमा रुमाल ओछ्याएर सुत्नुपर्‍यो।

 सोभियत संघमा तातोपानीका पाइपहरूबाट कोठा न्यानो पारिन्थ्यो, जाडोमा कसैले रात कटाउनुपर्दैनथ्यो। त्यो निःशुल्क थियो। सोभियतको सादा संसारमा बानी परेका लेखकलाई युरोप झिलिमिली लाग्थ्यो। जताततै विज्ञापनहरू, घरैपिच्छे पसल र साथमा लोभलाग्दो व्यापारिक कला पनि थियो। सोभियत संघमा यसको अभाव थियो, त्यहाँ यति धेरै पसल हुन्नथ्यो र सामान किन्दा लाइन बस्नुपथ्र्यो।

‘मेरा सोभियत सम्झनाहरू’ मा नछुटाई भनूँभनूँ लाग्ने धेरै प्रसङ्ग र घटना छन्, चिन्तनका अनेक झिल्का छन्, सभ्यताका अनेक पाठ छन्। एउटा सानो अनुभूति–लेखमा ती सबै उल्लेख गर्न मिल्दैन।

यति भनौं, सोभियत संघ सभ्य र उच्च समाज थियो। सोभियत दर्शनले ‘भाइचारावादयुक्त समाज’ निर्माण गर्न चाहन्थ्यो। तर पार्टीमा घुसेको घुनकिरा तप्काले त्यो सोच पूरा हुन दिएनन्। प्रजातन्त्रोत्तर रुस र पूर्व सोभियत गणराज्यहरूमा छाएका ऐतिहासिक सालिकहरू ढाल्ने, सहर–गल्लीका नाम फेर्ने र इतिहास तोडमरोड गर्ने मास हिस्टेरियालाई लेखकले बानरको संज्ञा दिनुभएको छ।

उहाँ भन्नुहुन्छ, ‘लेनिनका विचार र वादसँग सहमत–असहमत हुनु छुट्टै कुरो हो तर विरोधका नाममा इतिहास निमिट्यान्न पार्न खोज्नु असहिष्णुता हो, जुन प्रजातन्त्रका हिमायती भन्न रुचाउनेहरूलाई अशोभनीय छ।’ लेखक माक्र्स, लेनिन, गान्धी हरेकका रचनालाई मानव इतिहासका अमूल्य सिर्जना मान्नुहुन्छ।

सोभियत संघ विघटनका कारणहरू अनेक कोणबाट केलाउन सकिन्छ। लेखकले पनि यसबारे धेरै चर्चा गर्नुभएको छ। तर, लेखकको एउटा कन्फेसनले मन छुन्छ। उहाँले सोभियत जनताको मन भाँड्न हामी विदेशी विद्यार्थीहरूको पनि थोरबहुत हात रहेको उल्लेख गर्नुभएको छ।

विदेशी विद्यार्थीहरू छुट्टीका बेला युरोप भ्रमण जान्थे र आउने बेला थरीथरीका झिलिमिली सामान ल्याउँथे। सोभियत नागरिकहरूलाई ती सामानले मोहनी लगायो र विदेशी चिजबिजलाई राम्रो ठान्न थाले। आधारभूत रूपमा उनीहरू सभ्यताको निकै उच्च स्थानमा पुगिसकेका तर नेतृत्वदायी राजनैतिक पार्टीको संयन्त्रमा लागेको खिया र अन्तरपार्टी प्रजातन्त्रको अभावले मुलुक र समाजलाई समयानुकूल गतिमान बनाउन सकेनन्।

विश्वमा आएका परिवर्तनका अनेकन् हुरीबिच इतिहास रहेको सोभियत संघको गौरवशाली स्थानलाई बिटुल्याउन दिनुहुँदैन भन्ने लेखक रामविन्दुको दृढ अडान छ। त्यसैले कोरोना महाकालको बेला उहाँले आफ्ना डायरीहरू छिचोल्दै यो पुस्तक लेख्नुभयो।

विभिन्न घटनाका तिथिमिति मात्र होइन, समय पनि दिइएकाले यो पुस्तक लघु इतिहास बन्न पुगेको छ। त्यसमाथि लेखकले सोभियत संघको साहित्य, सांस्कृतिक वैभव र भव्यताबारे ठाउँ ठाउँमा धेरै रोचक जानकारी पनि समेट्नुभएको छ।

साहित्यमा उहाँको कलम चलिरहेको हुनाले भाषिक दृष्टिले पुस्तक सलसली बग्छ, उपन्यास पढेजस्तो मिठास आउँछ। कताकति शुद्धाशुद्धिको समस्या छ। यो पुस्तक विश्व–राजनैतिक इतिहासमा रुचि भएका सबैका लागि पठनीय र संग्रहणीय छ। पुस्तकमा ठाउँ ठाउँमा सोभियत जनताको वीरतापूर्ण संघर्षको मूल्याङ्कन र तिनको अथक बलिदान र योगदानप्रति कृतज्ञता जाहेर गर्नमा लेखक चुक्नुभएको छैन।

यो पुस्तक विश्वको प्रथम ‘समाजवादी हेडक्वार्टर’ सोभियत संघ, इतिहासका निर्माता र रक्षक सोभियत जनताप्रति उच्च कोटिको सम्मान भाव हो । 

प्रकाशित: ११ कार्तिक २०८० ०४:१४ शनिबार

अक्षर