कला

शब्दकोशमा शब्द प्रविष्टि र ॐ

भाषा

कोशविज्ञान भाषाविज्ञानको क्षेत्र हो। भाषाविज्ञानअन्तर्गत पनि प्रायोगिक भाषाविज्ञानमा यससम्बन्धी चर्चा एवं विश्लेषण हुदै आएको पाइन्छ। कोशविज्ञान ‘कोश’ र ‘विज्ञान’ दुई शब्द मिलेर निर्माण भएको छ। यो अङ्ग्रेजी भाषाको ‘लेक्सिकोलोजी’ को नेपाली रूपान्तरित शब्द हो। कोशविज्ञानको व्युत्पत्तिगत अर्थ ‘शब्दको अध्ययन गर्ने विज्ञान’ भन्ने हुन्छ।

वस्तुतः कोशमा समावेश हुने शब्द र यससम्बन्धी वैज्ञानिक अध्ययन गर्ने शास्त्रलाई कोशविज्ञान भनिन्छ। कोशविज्ञानअन्तर्गत कोश निर्माण/सम्पादन गर्दा आवश्यक पर्ने सिद्धान्तको विस्तृत र व्यवस्थित विवेचना हुन्छ। यस लेखमा भने कोशविज्ञानका आलोकमा नेपाली शब्दहरूको प्रविष्टि निर्धारण र ॐ शब्दलाई सापेक्षिक रूपमा हेरिएको छ।

कोशहरू ज्ञानपरक र भाषापरक गरी दुई स्वरूपका हुन्छन्। विषयवस्तुको ज्ञान दिने उद्देश्यले निर्माण गरिएका कोशलाई ज्ञानपरक कोश भनिन्छ। विश्वकोश तथा ऐतिहासिक कोश यस्ता कोशका उदाहरण मानिन्छन्।

भाषापरक कोशमा भने भाषासँग सम्बन्धित एकाइ, शब्द आदि र तीसँग सम्बन्धित सूचना दिइएको हुन्छ। भाषापरक कोश पनि सामान्य र विशेष गरी दुई प्रकारका छन्। सामान्य प्रयोजन पूरा गर्ने उद्देश्यले निर्माण गरिएका कोशलाई सामान्य कोश भनिन्छ।

सामान्य कोशले दैनिक जीवनयापनका क्रममा प्रयोगमा आउने शब्दहरूलाई समावेश गरी तिनको सूचना दिने अपेक्षा राख्छ। यस किसिमको कोशमा सम्बन्धित भाषाको समग्र क्षेत्रलाई समेट्ने प्रयास भएको हुन्छ। नेपाली बृहत् शब्दकोश (२०४०) लाई यसको उदाहरण मान्न सकिन्छ।

त्यस्तै कुनै विशेष क्षेत्र वा खास पक्षको सूचना दिनका लागि तयार गरिएका कोशलाई विशेष कोश भनिन्छ, जस्तैः साहित्यिक कोश, कानुनी कोश, उच्चारण कोश, पर्याय कोश आदि। सङ्क्षिप्त पर्यायवाची कोश (२०६२) विशेष कोशको उदाहरण हो।

कोशहरू विषयको अनुक्रम वा वर्णहरूको अनुक्रममा निर्माण गरिन्छ। सामान्यतया ज्ञानपरक कोशहरू र विशेष कोशहरू विषयानुक्रममा निर्माण हुँदै आए पनि सामान्य कोशहरू वर्णानुक्रममा नै तयार हुँदै आएको पाइन्छ।

कोश निर्माण गर्दा अरू विभिन्न पक्षहरूलाई पनि आधार बनाउने गरिन्छ। जसमा भाषा सङ्ख्या, कोशको प्रयोजन वा उद्देश्य, प्रयोक्ता आदिलाई आधारका रूपमा उपयोग गर्ने गरिएको छ।

भाषा सङ्ख्याका आधारमा कोश निर्माण गरिँदै छ भने एकभाषी, द्विभाषी र बहुभाषीमध्ये कुन कोश निर्माण गर्ने, प्रयोजन वा उद्देश्यका आधारमा भाषाको मानक प्रयोगको सूचना दिने वा सन्दर्भपरक सूचना दिने कस्तो कोश तयार गर्ने, प्रयोक्ताको आधारमा अनुसन्धाताको प्राज्ञिक आवश्यकतालाई ध्यान दिने वा विद्यार्थीहरूको सिकाइ आवश्यकतालाई हेरेर शिक्षार्थीपरक कस्तो कोश निर्माण गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ।

शब्दकोशलाई सामान्य अर्थमा शब्दसूची भनेर लिने गरिए पनि प्रस्तुत भाषापरक कोशमा शब्दसूची मात्र हुँदैन। यी कोशमा शब्दको हिज्जे, व्याकरण, स्रोत, व्युत्पत्ति, अर्थ (पारिभाषीकरण, व्याख्या, पर्याय, विपर्याय आदि), उदाहरण, प्रयोग आदि विभिन्न सूचनाहरू दिइएको हुन्छ।

त्यस्तै कोशविज्ञान पनि शब्दसूचीसँग सम्बन्धित विज्ञान मात्र नभएर भाषाका ढुकुटीमा भएका शब्दहरूको विविध अर्थ, व्याकरण निर्देश, उदाहरण, स्रोत, व्युत्पत्ति आदिको संयोजन र सम्पादनसम्बन्धी सैद्धान्तिक पक्षको वर्णन, विश्लेषण र विवेचनासँग सम्बन्धित हुन्छ।

यीबाहेक शब्दकोश ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक आदि विषय क्षेत्रका सूचनासँग सम्बन्धित हुन्छ। कोशको मूल उद्देश्य अर्थसम्बन्धी सूचना दिनु त रहेको हुन्छ नै, यद्यपि यसमा शब्दसँग सम्बन्धित अन्य सूचनाहरूलाई पनि प्रस्तुत गरेर शब्दका बारेमा यथेष्ट जानकारी दिने उद्देश्य राखिएको हुन्छ।

मान्छेले कुनै पनि शब्द वा भाषिक एकाइलाई सुनेर वा पढेर जुन किसिमको विचार एवं धारणा निर्माण गरेको हुन्छ, त्यो विचार एवं धारणा त्यस शब्दले दिने अर्थ र अन्य (हिज्जे, उच्चारण, स्रोत, व्युत्पत्ति, व्याकरण, उदाहरण आदि) सूचनाबाट सम्भव भएको हुन्छ। भाषा प्रयोगका क्रममा विभिन्न शाब्दिक एवं सूचनागत सन्देह र दुबिधा उत्पन्न हुन सक्छन्।

शब्दकोशको उपयोग गरेर प्रयोक्तालाई शाब्दिक सन्देह र दुबिधा हटाउन मद्दत पुग्छ। यसबाट मानक भाषा प्रयोगमा रहँदै आएका कमजोरीहरूलाई सच्याउन र सुधार्दै लैजान टेवा पुग्छ। तसर्थ शब्दकोशले दिने अर्थ लगायतका यी विभिन्न सूचनाहरूको महत्वपूर्ण भूमिका रहन्छ।

प्रविष्टि निर्धारण शब्दकोश निर्माण/सम्पादनको मुख्य काम हो। शब्द तथा भाषिक एकाइहरूलाई छनोट गरी कोशमा स्थान दिने कामलाई प्रविष्टि निर्धारण भनिन्छ। शब्दकोशमा के–कस्ता शब्द तथा भाषिक एकाइले स्थान पाउने हुन्, तिनको चयन (छनोट) गरिसकेपछि क्रमशः ती सबैलाई प्रविष्टि दिने कार्य हुन्छ। शब्दहरूलाई कोशमा प्रविष्टित गराउने क्रममा कोशीय एकाइलाई गाढा अक्षरमा शीर्ष शब्दका रूपमा राखिने प्रचलन छ।

कोश सम्पादन प्रक्रियामा प्रविष्टि निर्धारण प्रमुख प्रायोगिक कार्य मानिन्छ। कोशको प्रविष्टि भागमा प्रचलित शब्द, पारिभाषिक÷प्राविधिक शब्द, अभिनव/नवप्रचलित शब्द, व्यक्तिवाचक शब्द (सगरमाथा, पोखरा, काठमाडौं, लुम्बिनी, बुद्ध, भानुभक्त), सङ्क्षेप तथा पारिवर्णी शब्द (त्रि.वि जस्ता सङ्क्षेप र नेपा., उदा. जस्ता पारिवर्णी शब्द) रिक्त शब्द (कारः निबन्धकार, मरः मरमसला, सातः भातसात जस्ता रिक्त शब्द), समस्त शब्द, उखान टुक्का, अप्रचलित/लुप्त/आर्ष शब्द, अक्षर, सर्ग, सूक्ति एवं विशिष्ट पद/पदावली, वैकल्पिक शब्द, अनेकार्थी शब्द आदिले भाषापरक कोशमा स्थान पाएका हुन्छन्। उदाहरणका लागि अनेकार्थी शब्दलाई कोशमा राखिने प्रविष्टि यस्तो रहेको हुन्छ:

कल१– ना. सं. कल धेरै पुर्जा जोडेर बनाइएको विभिन्न कामका लागि प्रयोग गरिने साधन, यन्त्र, मेसिन (उदा. धान कुट्ने कल, तेल पिँध्ने कल, लुगा सिउने कल, गन्जी बुन्ने कल इ.।

कल२– ना. सं. कलह, बाझाबाझ

कल३– ना. अङ्. टेलिफोनबाट हुने वा गरिने कुराकानीका निम्तिको बोलावट वा खबर (नेपाली बृहत् शब्दकोश, २०४०, पृष्ठ १९७-१९८)

यस उदाहरणमा ‘कल’ कोशमा प्रविष्टिका लागि छनोट गरिएको शब्द हो। अनेकार्थी यो शब्दलाई कोशीय प्रविष्टिको सुरु (शीर्ष स्थान) मा गाढा मसीले लिपिबद्ध गरिएको छ। ‘कल’ शब्दको सूचना दिने क्रममा क्रमशः हिज्जे, व्याकरण र स्रोतगत सूचना दिँदै तिनले सन्दर्भअनुसार दिने भिन्न भिन्न अर्थलाई क्रमैसँग १,२,३ सङख्या दिएर देखाइएको छ। कोशलाई वैज्ञानिक, व्यवस्थित र सूचनामूलक बनाउनका लागि अन्य शब्दहरूलाई पनि निश्चित किसिमको प्रविष्टि प्रबन्धन गरिएको हुन्छ।

कोशको प्रविष्टिमा उद्देश्य र विधेय गरी दुई भाग हुन्छन्। उद्देश्य भागअन्तर्गत कोशमा समावेश गरिने शीर्ष शब्द, त्यसको हिज्जे/वर्णविन्यास, उच्चारण, स्रोत, व्युत्पत्ति, व्याकरण (शब्दवर्ग र अन्य) सूचना पर्दछन् भने विधेय भागमा उक्त शब्दको अर्थ, उदाहरण, प्रयोग आदि सूचनाहरू उल्लेख हुन्छन्। यसबाट कोश सम्पादनमा वैज्ञानिकता, स्तरीयता, एकरूपता र स्पष्टता कायम गर्न मद्दत पुग्छ।

प्रविष्टि निर्धारण कोशको महत्वपूर्ण कार्य भएकाले यसलाई कोशको मेरुदण्ड नै मानिन्छ। के–कस्ता शब्दलाई प्रविष्टिमा प्रवेश दिने भन्ने कुरा कोशको प्रकृति, प्रकार र प्रयोजनले पनि निर्भर गर्छ । कतिपय अवस्थामा सङ्कलित सम्पूर्ण शब्दहरूलाई कोशमा प्रविष्टि दिन नसकिने हुन्छ । एउटै शब्दका विभिन्न रूपहरू भएको अवस्थामा ती सबै रूपहरूलाई शब्दकोशमा स्थान दिन मिल्दैन।

जस्तै: जा धातुबाट निर्माण हुने शब्दका जान्छ, जानेछ, जाला, जाओस्, जाँदैछ, जाँदै हुनेछ आदि विभिन्न रूपहरू भए तापनि यसको मूल रूप ‘जानु’ लाई नै प्रविष्टिमा राख्न विशेष ध्यान दिइएको हुन्छ। कोशलाई आकारका दृष्टिले ठिक्क रूपको र सूचनाका दृष्टिले बृहत् हुने गरी सम्पादन गर्नका लागि कोशमा राख्न मिल्ने शब्दहरूलाई प्रविष्टिमा यथाशक्य पूर्ण सूचना दिएर राखिन्छ।

कोश निर्माण: सम्पादन गौरवपूर्ण कार्य हुँदाहुँदै पनि यसलाई अति गम्भीर, ठुलो समर्पण तथा साधनाबाट मात्र सम्भव मानिने कार्यका रूपमा लिइन्छ। कोश सम्पादन निरन्तर अध्यवसायको परिणति मानिन्छ। निकै मिहिनेत धैर्यता र समर्पणबाट मात्र कोश सम्पादन सम्पन्न गर्न सकिन्छ। त्यसैले यसलाई गहन तथा जटिल कार्यका रूपमा पनि लिने गरिएको छ। कोश सम्पादनका विषयमा कोशकार पारसमणि प्रधानले भनेका छन्, ‘कोश निर्माण कार्य सरस्वती र लक्ष्मीको बाससित हनुमानको जाँगर हुनेले मात्र सम्पन्न गर्न सक्छ।’

त्यस्तै कोशकार जे.ए. स्यालिंकरको भनाइ छ, ‘कुनै अपराधीलाई मृत्युदण्ड दिनुभन्दा कोश सम्पादन गर्न लगाउँदा उनीहरूका लागि उपयुक्त सजाय हुन सक्छ।’

यी भनाइबाट पनि कोश निर्माण/सम्पादन कार्य सानोतिनो मिहिनेत, समर्पण र खर्चबाट सम्पन्न हुन नसक्ने कार्यका रूपमा देखापर्छ।

शब्दकोश निर्माण/सम्पादनका क्रममा चरणबद्ध रूपले कार्य सम्पन्न गर्दै जाने योजना बनाउनु पर्छ। शब्दकोश निर्माण/सम्पादनका खास विधि एवं प्रक्रिया हुन्छन्।

यस क्रममा योजना निर्माण, सामग्री सङ्कलन, शब्द तथा तिनले प्रदान गर्ने यथेष्ट सूचना सङ्कलन, प्रविष्टि निर्धारण, प्रविष्टि अनुक्रम र समग्रमा कोशका पूर्व, मध्य र अन्त्य भागको संयोजनसम्मका कार्यहरू चरणबद्ध रूपमा सम्पन्न गर्नुपर्छ। यी विविध पक्षको सैद्धान्तिक ज्ञान एवं प्रयोगात्मक सिप तथा कला कोशविज्ञानबाट प्राप्त हुन्छ।

कोशमा शब्दको लेख्य विन्यासलाई आधार बनाई तिनको उच्चार्य रूप, व्याकरण, स्रोत, व्युत्पत्ति, अर्थलगायतका विविध सूचनाहरूलाई खास पद्धति अपनाएर संयोजन गरिन्छ। शब्दकोश प्रयोगको विधिसम्बन्धी स्पष्ट भएर मात्र यसको प्रयोग गर्ने बानी बसालिएमा आफूले जान्न चाहेको शब्दसम्बन्धी प्रष्ट सूचना प्राप्त गर्न सकिन्छ।

यसो गरिएन भने कुनै शब्दको खास सूचनाका लागि लामो समय व्यर्थमा खर्चिनुपर्ने हुन्छ। त्यसैले कोशमा शब्दलाई दिइएको प्रविष्टिअनुरूप कोश प्रयोग गर्दा सामान्यतया ध्यान दिनुपर्ने आधारलाई यसप्रकार प्रस्तुत गरिएको छ:

१. शब्दकोशमा प्रत्येक पृष्ठको सिरानमा त्यस पृष्ठको सुरु र अन्त्यसम्म प्रयोग भएका शब्दलाई गाढा अक्षरमा दिइएको हुन्छ।

२. शब्दकोशमा शब्दहरूलाई प्रायः वर्णानुक्रममा नै राखिने हुदा नेपाली भाषाका स्वर तथा व्यञ्जन वर्णको यस्तो क्रम रहेको हुन्छ ः

(अ) स्वर वर्णको अनुक्रम: अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ

(आ) व्यञ्जन वर्णको अनुक्रम: क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, श, ष, स, ह

३. क्ष, त्र, ज्ञ वर्ण मात्र नभएर संयुक्त अक्षर पनि भएकाले क वर्णको क्रममा क्ष (क् + ष = क्ष), त वर्णको क्रममा त्र (त् + र = त्र) र ज वर्णको क्रममा ज्ञ (ज् + ञ = ज्ञ) राखिएको हुन्छ।

जस्तै: ‘क्विन्टल’ पछि क्षत, क्षमता शब्द खोज्नु उपयुक्त हुन्छ। त्यस्तै ‘त्यो’ पछि त्रस्त, त्रास आदि शब्द खोज्नुपर्दछ र ‘जौहरी’ शब्दपछि ज्ञात, ज्ञान, ज्ञापन आदि शब्द खोज्नुपर्दछ।

४.मात्रा लागेका शब्दहरूलाई स्वर वर्णको माथिका जसरी नै र व्यञ्जनको निम्न क्रममा  राखिएको हुन्छ:

व्यञ्जन वर्ण: कँ, कं, क, का, कि, की, कु, कू, के, कै, को, कौ, क्य, क्र,  क्ल, क्व,

५. नेपालीमा ‘ऋ’ उच्चारण हुने कतिपय शब्दहरू जस्तै कृपा, धृत आदि ‘ऊ’ स्वरपछि नै राखिएको हुन्छ

६. शब्दको अनुक्रम पहिलो वर्णमा जस्तै दोस्रो, तेस्रो, चौँथो आदि वर्णमा पनि त्यही नियम लागु हुने भएकाले पछिल्ला वर्णमा पनि सोही अनुक्रमलाई पछ्याउनुपर्दछ।

७. ह्रस्वविन्यासमा शब्द फेला परेन भने दीर्घमा र दीर्घमा फेला परेन भने ह्रस्व विन्यासमा शब्द खोज्नु पर्दछ । मोबाइल एपमा भने यसलाई ह्रस्व वा दीर्घ जुन भए पनि उही पृष्ठमा शब्दकोशले देखाइदिएको छ। जस्तो प्रयोक्ताले सिप खोजी गर्दा यसका ह्रस्व र दीर्घ दुवै रूपलाई देखाइदिएर सजिलो बनाइएको छ।

८. ‘स’ उच्चारण हुनेमा पहिलो प्राथमिकता ‘स’ लाई नै दिनु पर्ने मान्यता छ।

९. ‘ब’ उच्चारण हुने शब्द खोज्दा ‘ब’ मा र ‘व’ उच्चारण हुने शब्द खोज्दा ‘व’ मा नै खोज्नुपर्दछ। यदि नपाइएमा एक अर्कामा जानुपर्छ।

१०. ङ, ञ, ण, न, म उच्चारण हुने शब्द ती वर्णविन्यासमा नभेटिएमा चन्द्रबिन्दु र शिरबिन्दुमा  जानुपर्छ।

११. अजन्त नभेटिए हलन्तमा र हलन्त नभेटिए अजन्तमा खोज्नुपर्छ।

१२. सघोस (ग, ज, ड, द, ब, घ, झ, ढ, ध, भ, ङ, न, म, य, र, व) मा नभेटिए अघोस (क, च, ट, त, प, ख, छ, ठ, थ, फ, स) मा र अघोसमा नभेटिए सघोसमा खोज्नुपर्दछ।

१३. अल्पप्राण वर्ण (क, च, ट, त, प, ग, ज, ड, द, ब, ङ, न, म, य, र, ल, व) मा नभेटिए महाप्राण वर्ण (ख, छ, ठ, थ, फ, घ, झ, ढ, ध, भ, स, ह) मा र महाप्राणमा नभेटिए अल्पप्राणमा खोज्नुपर्छ।

१४. शब्दकोशको प्रयोगसम्बन्धी विस्तृत जानकारीका निम्ति शब्दकोशको प्राक्कथन वा सम्पादकीय अध्ययन गर्नु पर्दछ।

प्रस्तुत आधारहरू शब्दकोशमा निर्धारण गरिएको प्रविष्टिअनुरूप कोश उपयोग गर्ने सामान्य आधारहरू हुन्। यिनै आधारअनुरूप नेपाली वर्णमाला भित्रका वर्णबाट सुरु हुने शब्दहरू र भाषिक व्यवहारमा प्रयोग हुने शब्दहरूलाई शब्दकोशहरूले स्थान दिएको देखिन्छ।

वर्णमालाभित्रका विभिन्न स्वर तथा व्यञ्जन वर्णहरू र यी वर्णबाट सुरु हुने शब्दहरूले कोशमा आफ्नो क्रमअनुसार महत्त्वपूर्ण स्थान (प्रविष्टि) ग्रहण गर्छन्।

भाषाका लिखित र मौखिक दुई स्वरूपमध्ये लिखित भाषा वर्णमालामा आधारित हुन्छ भने मौखिक भाषा उच्चारणमा आधारित हुन्छ। शब्दकोशले कोशीय सामग्री छनोट गर्दा लिखित स्रोतलाई मात्र आधार बनायो भने सामग्री सङ्कलनको कार्य एकाङ्गी बन्न पुग्छ।

तसर्थ कोशमा सामग्रीको पूर्णताका लागि मौखिक स्रोतलाई पनि आधार बनाउने गरिन्छ। मौखिक भाषाका शब्दहरूलाई सकेसम्म मानक उच्चारणका आधारमा कोशमा प्रविष्टि दिनुपर्छ, जस्तैः

उँधो-ना.यो.सं. तल, तलतिर, मन्तिर, मुनि

उँभो-ना.यो.सं. माथितिर, मास्तिर अग्लो ठाउँमा (पृष्ठ १२३)

प्रस्तुत उँधो र उँभो नेपाली मौखिक भाषामा प्रयोग हुने शब्द हुन्। कोशमा उँदो, उँबो जस्ता उच्चरित रूपहरूलाई स्थान नदिई उँधो र उँभो मानक उच्चारणहरूलाई नै प्रविष्टि दिइएको छ।

भाषाको उच्चार्य व्यवस्थामा पनि नभएका र वर्णमालामा पनि अनिर्धारित भाषिक एकाइले भने शब्दकोशमा प्रविष्टि पाउँदैनन्। नेपाली वर्णमालामा प्रत्यक्ष रूपमा नपरेका कतिपय शब्द उच्चार्य प्रचलनमा आइरहेका देखिन्छन्। संस्कृत स्रोतको ॐ यस्तै प्रकारको शब्द हो। ॐ नेपाली वर्णमालामा नपरे पनि यसको उच्चार्य रूप (ओम्) लाई शब्दकोशमा प्रविष्टि दिन सकिन्छ। ओम्/ॐ विकल्प दिएर पनि यसको अर्थलगायतका सबै सूचना दिन सकिन्छ।

यस किसिमको वैकल्पिक आधार उल्लेख गर्न सकियो भने वर्णमालामा नभएका तर सामाजिक, सांस्कृतिक, धार्मिक आदि क्षेत्रमा महत्व राख्दै आएका ॐ जस्ता शब्दलाई कोशको प्रविष्टिमा बढाउँदै लैजान सकिने आधार तय हुन सक्छ। यसबाट संस्कृत स्रोत भएका कर्म, ज्ञान, भिक्षा, जस्ता शब्दहरूलाई नेपाली शब्दकोशमा प्रविष्टि दिइए जसरी नै संस्कृत स्रोतका अन्यलाई पनि प्रविष्टि दिन सकेको ठहर्दछ।

नेपाली वर्णमालामा निर्धारित नभएको र निश्चित आकृतिका रूपमा रहेकाले कतिपयले ॐ लाई चिह्न पनि भन्दै आएका छन्। चिह्नका रूपमा देखिए पनि ॐ एक अक्षरी शब्द हो। शब्द वर्ण वा वर्णसमूहबाट बनेको अर्थयुक्त भाषिक एकाइ हो। ॐ मा उक्त विशेषता अन्तर्निहित छ। 

अक्षर उच्चारणका आधारमा निर्धारित हुन्छ। सासको एक झोक्कामा उच्चरित हुने भाषिक एकाइ अक्षर हो। अक्षर वर्णभन्दा माथिल्लो भाषिक एकाइ हो। वर्ण ‘स्वर’ र ‘व्यञ्जन’ गरी दुई प्रकारका छन्। एउटा अक्षर बन्नका लागि व्यञ्जन वर्ण एक, दुई, तीन जति वटा रहे पनि वा नरहे पनि एउटा स्वर वर्णको आवश्यकता पर्छ। यसरी हेर्दा अक्षर बन्नका लागि स्वर अनिवार्य हुन्छ भने व्यञ्जन ऐच्छिक हुन्छ।

उदाहरणका लागि ए, ऊ, ओ, ओम् (ओ म्), स्त्री (स् त् र् इ) आदि एक अक्षर भएका शब्द हुन्। यी एक अक्षरका शब्दहरूमध्ये ए, ऊ र ओ व्यञ्जन वर्णबिनाका र ओम् र स्त्री व्यञ्जन वर्णसहितका एक अक्षरी शब्द हुन्।

समग्रमा यी सबै एक अक्षरबाट बनेका शब्द हुन्। ॐ सङ्कथन पनि हो। यसले सिङ्गो कथन एवं पूर्ण अभिव्यक्ति प्रस्तुत गर्न सकेको छ। ॐ उच्चारण गर्दा यसबाट प्रस्तुत हुने नाद (लयात्मक आवाज) ले पवित्र भाव, माङ्गलिक, विनयशील, शान्तिमय, आस्था, आराधना आदि कार्यमा अन्तर्निहित व्यापक र पूर्ण अर्थलाई समष्टिमा बोध गाराउँछ। त्यसैले ‘ॐ’ चिह्न, शब्द र सङ्कथन सबै हो।

प्रस्तुत सन्दर्भबाट हेर्दा शब्दकोशहरूमा ॐ शब्दलाई प्रविष्टि दिइएको पनि देखिन्छ। विभिन्न कालखण्डमा सम्पादन हुँदै आएका कोशहरूले ॐ शब्दलाई समावेश गर्दै आएका छन्।

अधिकांश कोशहरूले यसलाई मूल प्रवष्टिमा ओम् नै राखेर यससम्बन्धी सूचना निर्देश गर्दै आएको देख्न सकिन्छ। ॐ का सट्टा ओम् समावेश गरी ॐ ले दिने अर्थ, स्रोत,उदाहरण, प्रयोगलगायतका सूचनालाई कोशहरूले निर्देश गर्दै आएका छन्। जब कि कुनै शब्दले त्यससम्बन्धी दिनुपर्ने पूर्ण सूचना दिइएको छ भने त्यसले शब्दकोशमा प्रविष्टि पाएको मान्न सकिन्छ। ओम्/ॐ ले कोशमा स्थान पाएको अवस्थालाई हेर्दा यसले शब्दकोशमा प्रविष्टि पाएकै छ।

ॐ नेपाली वर्णमालामा नपरे पनि यसको उच्चार्य रूप (ओम्) लाई शब्दकोशमा प्रविष्टि दिन सकिन्छ। ओम्/ॐ विकल्प दिएर पनि यसको अर्थलगायतका सबै सूचना दिन सकिन्छ। यस किसिमको वैकल्पिक आधार उल्लेख गर्न सकियो भने वर्णमालामा नभएका तर सामाजिक, सांस्कृतिक, धार्मिक आदि क्षेत्रमा महत्व राख्दै आएका ॐ जस्ता शब्दलाई कोशको प्रविष्टिमा बढाउँदै लैजान सकिने आधार तय हुन सक्छ।

कतिपयले ब्रम्हाण्डको सारतत्वका रूपमा रहेको ॐ को धार्मिक एवं सांस्कृतिक महत्व धेरै छ। त्यसैले यसको रूप जुन छ त्यस रूपलाई नै कोशमा प्रविष्टि दिइनुपर्छ पनि भन्दै आएको देखिन्छ। तर यसलाई ॐ कै रूपमा प्रविष्टिमा समावेश गर्नका लागि भने वर्ण वैज्ञानिक आधार अहिलेसम्म फेला पर्दैन। यसको समाधानका लागि भाषावैज्ञानिक वा कोशवैज्ञानिक आधार तय गरेर अघि बढ्नुको विकल्प हुँदैन।

ॐ का सन्दर्भमा प्रविष्टि निर्धारणको अर्को आधारका रूपमा संस्कृतको ‘कर्म’ नेपालीमा ‘काम’ भएर मौलिक रूपमा प्रयोग भए जस्तै संस्कृतको ‘ॐ’ नेपालीमा ‘ओम्’ प्रयोग हुन सक्ने प्रबल सम्भावना भाषिक व्यवहारमा सार्थक देखिन आयो भने ‘ओ’ रहेको क्रममा ॐ नै राखेर पनि प्रविष्टि दिन सकिन्छ। प्रविष्टि निर्धारणमा यसको पृष्ठाधार भने वर्णमाला नभएर उच्चारण नै बन्न पुग्छ।

कोशले दिनै पर्ने अर्को महत्वूर्ण सूचना उच्चारणगत सूचना हो। यस सूचनालाई नेपाली बृहत् शब्दकोश (२०६९) र प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) ले समेत दिएका छैनन्। प्रयोगात्मक नेपाली शब्दकोश (२०७०) ले भने यो सूचनालाई पनि निर्देश गरेको देखिन्छ।

 भाषाको मानक प्रयोगका लागि शुद्ध उच्चारण अति आवश्यक मानिन्छ। यो सूचना नेपाली मातृभाषीका साथै अन्य भाषी प्रयोक्ताका लागि अझ आवश्यकताको विषय बन्दै आएको छ। तसर्थ अबको कोश सम्पादन र संशोधनको योजनामा उच्चारणगत सूचनालाई समावेश गर्ने उद्देश्य राखिनु बुद्धिमानी हुन्छ।

कोशविज्ञान भाषाविज्ञानको बृहत् क्षेत्र हो। यसअन्तर्गत कोशको विकास, कोशका प्रकार, कोश सम्पादनका चरण, पूर्वोत्तर भागको संयोजन आदि विषयको गहन विश्लेषण हुन्छ। यस लेखमा भने कोशविज्ञान र नेपाली वर्णहरूको प्रविष्टि निर्धारण र यसका सापेक्षतामा ॐ शब्दबारे चर्चा गरिएको छ।

भाषिक अभिव्यक्तिमा भाषा शिष्ट र मानक रूपमा प्रयोग हुनुका पछाडि कोशको उपादेयता र भूमिका महत्त्वपूर्ण हुन्छ।

मानक भाषाको विकास र उन्नयनका सन्दर्भमा कोशको ठुलो देन रहेको हुन्छ। कोश निर्माण गौरवमय कार्य हुदाहुदै पनि यो निरन्तरको साधनाबाट मात्र सम्पन्न हुने गम्भीर एवं जटिल कार्य पनि हो। कोश सम्पादनका निश्चित विधि एवं प्रक्रियाहरू छन्।

 कोशको प्रयोजन, क्षेत्र र प्रकारका आधारमा निर्माण गरिने कुनै एउटा कोशमा प्रयोजनपरक क्षेत्रका विविध शब्दहरूलाई समेट्न नसकिने स्थिति हुन्छ। यति हुँदाहुँदै पनि देशको भाषा नीति, भाषा योजना र भाषा विकासका सवालमा ध्यान दिनुपर्ने विविध पक्षअन्तर्गत भाषा प्रयोक्ताको आवश्यकता र प्रयोजन पनि महत्त्वपूर्ण तत्वका रूपमा अग्रगतिमा देखापर्छ।

 नेपाली भाषाका कोशमा ॐ लाई प्रविष्टित गर्न वर्णवैज्ञानिक एवं कोशवैज्ञानिक स्पष्ट आधार तय गर्न लचिलो कदम चालिनुपर्छ। साथै यस प्रकृतिका कोशमा नेपाली मानक उच्चारणलाई पनि सूचित गराउनु श्रेयस्कर हुन्छ।

विश्व भुमण्डलीकरणको प्रभाव र बढ्दो सूचना सञ्चारका कारण देशमा वैदेशिक हस्तक्षेप बढ्दै जाने उत्तिकै सम्भावना देखिन्छ। यसबाट समाज, संस्कृति र भाषामा पर्न जाने अपूरणीय क्षति देशका लागि घातक सिद्ध हुन्छ। यस सन्दर्भलाई मनन् गरी नेपाली समाजमा प्रयोग हुने शब्दलाई कोशमा समेट्दै लैजाने प्रयत्न गरिनुपर्छ।

लेखक पौडेल त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ।

प्रकाशित: ११ कार्तिक २०८० ०२:४३ शनिबार

अक्षर