कला

वार्षिक नाटक मञ्चनको पर्खाइमा रामपुरवासी

महान् चाड बडादसैं पर्वका अवसरमा हरेक वर्ष रामपुर गाउँस्थित वरुणेश्वर माविको प्रांगणमा मञ्चन हुँदै आएको वार्षिक नाटक लामो समयदेखि बन्द हुँदा स्थानीय बुद्धिजीवी, कलाकर्मी, साहित्यकार र कलाप्रेमी चिन्तित भएका छन्। २०१८ सालदेखि सुरु भएर लगातार ४५ वर्षसम्म चलेको वार्षिक नाटक मञ्चन २०६३ सालमा बन्द भएको थियो।

स्थानीय बुद्धिजीवी पुष्पराज दाहाल भन्छन्, ‘स्थानीय अग्रजको नेतृत्वमा हामीले नै नाटक मञ्चन सुरुआत गरेका थियौं। हामी अब वृद्ध भयौं। धेरै वर्षदेखि वार्षिक रूपमा हुने कार्यक्रम बन्द भएको पनि लामो समय भयो। यस्तो महत्वपूर्ण कार्यक्रम बन्द भएकोमा मलाई दुःख लागेको छ।’ पूर्वशिक्षक तथा समाजसेवी बलभद्र दाहाल आफू पनि सोही पुस्ताको भएको र २०२७ सालसम्म आफूले नाटक अभिनय गरेको अनुभव सुनाउँछन्।

नाटक मञ्चनको उद्देश्य के थियो भन्ने प्रश्नमा उनी राजनीतिक चेतना तथा शैक्षिक जागरणकै लागि नाटक मञ्चनको थालनी भएको हो भन्छन्। समाजसेवी पुष्पराज दाहाल नाटक गाउँलेका लागि मनोरञ्जन दिनका गरिएको बताउँछन्।

उनले भने, ‘दसैंका बेला विशेषगरी नवमीको राति (बेलुका ७ देखि १२ बजेसम्म) आयोजना हुने नाटक दसैंमा सहरबाट घर फर्कने दाजुभाइलाई रमाइलो गराउने महत्वपूर्ण माध्यम थियो।’

उनीहरू नाटक मञ्चनको व्यवस्थापन गर्न विद्यालयका तत्कालीन प्रधानाध्यापक नन्दलाल अधिकारी र शिक्षक वासुदेव दाहालको भूमिका महत्वपूर्ण रहेको सम्झन्छन्।

‘नाटक मात्र होइन, विद्यालय स्थापना र शैक्षिक उन्नयनमा प्रअ अधिकारी भूमिका अविस्मरणीय छ’, ‘पूर्व शिक्षक बलभन्द्र भन्छन्। नाटक बन्द हुनुको कारणमा बलभद्र र पुष्पराजको धारणा एकै छ–नयाँ र छिटो मनोरञ्जन दिने सूचना प्रविधिको विकास। नयाँ प्रविधिप्रति नयाँ पुस्ताको अति लगावका कारण उनीहरूले नाटकलाई कम महत्व दिएको उनीहरूको तर्क छ। समाजसेवी बलभद्रले भने, ‘शैक्षिक केन्द्रका रूपमा रहेको गाउँमा दसैंका बेला नाटक हेर्न रातको समयमा वारिपारिका आधा दर्जनभन्दा बढी गाउँबाट हजारौं मानिस भेला हुन्थे।’

कला र संस्कृतिको जगेर्ना गरी प्रतिभा प्रस्फुटन गर्न नाटक महत्वपूर्ण माध्यम हो, तर राजनीतिक तथा शैक्षिक जागरणका हिसाबले जिल्लाकै अग्रस्थान मानिएको गाउँ रामपुरमा नाटक मञ्चन बन्द हुनु चिन्ताको विषय बनेको छ। नाटक मञ्चनको सुरुआती र पछिल्लो दुवै पुस्ता पुनः सञ्चालन होस् भन्ने पक्षमा छन्।

‘सेन्सर’ पास गर्नुपर्ने नियम र प्रजातन्त्र पुनर्स्थापनापश्चात् आएको शैक्षिक लहरको सिलसिलामा सुरु भएको नाटक दलविहीन पञ्चायतकालमा पनि निरन्तर आयोजना गर्न भने त्यति सहज थिएन।

समाजसेवी बलभद्र भन्छन्, ‘नाटक (पटकथा) लेखेर प्रमुख जिल्ला अधिकारीलाई पहिल्यै बुझाउनुपथ्र्यो। त्यहाँबाट सेन्सर पास भएपछि मात्रै नाटक खेल्न पाइन्थ्यो। शिक्षक नन्दलाल अधिकारीले पनि हामीलाई एक महिनाअगावै ‘अभ्यास’ गराउँथे।’

त्यसबेला देखाइने नाटक प्रायः धार्मिक कथामा आधारित हुन्थे, तर कतिपय अवस्थामा बहुदलको पक्षका लागि पनि नाटक खेलेको बलभद्रलाई राम्रो सम्झना छ। उनको समूहले २०२८ सालमा ‘पुनर्जागरण’ नामको राजनीतिक सन्देश बोकेको नाटक खेलेको उनी बताउँछन्। सोही वर्ष दुईवटा नाटक देखाइएको थियो। यसो गर्दा तत्कालीन प्रधानपञ्च गंगा दाहालले पनि सहयोग गरे।

नाटकलाई समावेशी बनाउन चाहे पनि महिलाको भूमिकामा महिला पात्र नै खडा गर्न ठूलो समस्या थियो। त्यसैले पुरुषहरूले महिला भेषमा महिलाको भूमिका खेल्नुपथ्र्यो। महिला शिक्षामा गाउँ अगाडि भए पनि नाटकमा महिला पात्र पाउन अहिले पनि कठिन रहेको पछिल्लो पुस्ताका सक्रिय नाटक लेखक तथा निर्देशक खिलानाथ दाहाल बताउँछन्।

नृत्य र संगीतका लागि वाद्यवादन नहुँदा उत्तिकै अप्ठ्यारो पथ्र्यो। कतिपय अवस्थामा मादलले मात्रै काम चलाउनुपर्थ्याे। मादल बजाउन दलित समुदायले सहयोग गर्दथे। ब्राह्मण, क्षेत्री, आदिवासी जनजाति र दलितको संलग्नताले भने नाटक सहभागितामूलक नै हुन्थे।

त्यस्तै, राति देखाइने नाटकका लागि उज्यालो व्यवस्थापन पनि चुनौतीपूर्ण नै थियो। घनश्याम दाहाल, बलभद्र दाहाल, पुष्पराज दाहाल, पुष्पराज दाहाल (भुसुने), लीलाबल्लभ दाहाल, बालकृष्ण दाहाल, रुद्र दाहालहरूको समूहपश्चात् पछिल्लो पुस्तामा नाटक मञ्चन जारी राख्नमा शिक्षक खिलानाथ र गाउँका युवाहरूको सक्रियता उल्लेख्य छ।

२०३७ सालपछि खिलानाथ दाहालले थुप्रै नाटक लेखन तथा निर्देशन गरे। उनका अनुसार वार्षिक नाटक बन्द हुनुमा केवल आधुनिक सूचना प्रविधिको प्रभाव मात्र होइन। उनी भन्छन्, ‘राजनीतिक र आर्थिक रूपमा सहयोग पाए नाटक पुनः सञ्चालन गर्न सकिन्छ। सामाजिक सहनशीलता पनि उत्तिकै आवश्यक छ।’

शिक्षक खिलानाथ दाहाल आफूले नाटकसम्बन्धी औपचारिक अध्ययन नगरे पनि नाटक पढेर, अघिल्लो पुस्ताबाट सिकेर र समाजको आवश्यकता बुझेर नाटक लेखेको, निर्देशन गरेको र अभिनय गरेको बताउँछन्।

उनी पनि नाटक मञ्चनलाई ४५ वर्षसम्म अविरल सञ्चालन गर्नमा अग्रजको भूमिका विशेष रहेको स्वीकार्छन्। यस सिलसिलामा देवमणि काफ्ले, धर्मराज अधिकारी, रामप्रसाद अधिकारीको भूमिका पनि अहं रहेको थियो।

‘वरुणेश्वर माविका तत्कालीन प्रधानाध्यापक रामशरण यादवले पनि नाटक लेखन तथा निर्देशन गरे। उनले पनि मलाई नाटक लेख्न र आयोजना गर्न हौस्याए’, खिलानाथले भने। उनी नाटकको उद्देश्य राजनीतिक चेतनाभन्दा पनि शैक्षिक जागरण नै बढी भएको बताउँछन्।

पछिल्लो समय विशेषगरी तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला वार्षिक रूपमा नाटक जारी राख्न समस्या भयो। डराउँदै–डराउँदै केही नाटक आयोजना गरिए, तर पूर्णरूपमा बन्द भएनन्। ‘मलाई २०६३ सालतिर गरिएको नाटक नै अन्तिम हो जस्तो लाग्छ, ‘२०६३ सालपछि नाटक पुनः सञ्चालन हुन नसकेकोमा दुःख लागेको जनाउँदै खिलानाथ भन्छन्, ‘विश्वासिलो नेतृत्व, नयाँ सन्दर्भअनुसारको नाटक लेखन तथा भौतिक पूर्वाधार, आर्थिक सहयोग, राजनीतिक सहनशीलता, विचारगत दबाबको अन्त्य र युवाको सक्रियता भए नाटक पुनः सञ्चालन गर्न सकिन्छ।’

अनेक बाधाका बीच पनि २०३७ पछि आफूले लामो समय नाटकलाई निरन्तरता दिएको बताउने उनको जिकिर छ-टिकटक, फेसबुक र युट्युबले नाटक प्रतिस्थापन गर्न सक्दैन।

कुनै बेला नाटकमा छोटो भूमिका खेलेका तेजप्रसाद घिमिरेले पनि खिलानाथले भने झैं युवाहरू सक्रिय भए नाटकलाई निरन्तरता दिन सकिने बताउँछन्।

‘नाटक लेखन र निर्देशन भए आफू र केही युवा साथी अभिनयमा सहयोग गर्नेछौं, ‘उनले भने। समाजको चित्रण र जागरणको माध्यम नाटक यसरी बेवास्तामा परेको कुरा एक साहित्यकारलाई जानकारी गराउँदा उनले पनि यस्तो सुन्दा अत्यन्त दुःख लागेको बताए। 

प्रकाशित: ११ कार्तिक २०८० ०१:५८ शनिबार

अक्षर