कला

भुटानमा नेपालीपन

‘तपाईंहरू ‘लोत्साम्पा’ हो,’ भुटानको पारो एयरपोर्टमा लिन आएका सवारीचालक पेमा नाम्गेलले नेपाली भाषामा सोधे । 
‘लोत्साम्पा’ शब्द बुझ्न गाह्रो भयो । उनले फेरि भने, ‘तपाईंहरू नेपाली होइन ?’

उनैले भनेपछि थाहा भयो, भुटानमा नेपाली मूलका नागरिकलाई ‘लोत्साम्पा’ भनिँदो रहेछ। 
गएको २८ भदौमा हामी भुटान पुगेका थियौँ । भुटानमा हुने एक व्यापारीक मेलामा सहभागी हुन उद्योग वाणिज्य महासंघका पदाधिकारी र पत्रकार गरी पाँचजनाको समूह भुटान पुगेको थियो। 

पारोबाट कारमा राजधानी थिम्पु पुग्न एक घन्टाजति लाग्यो । बाटोमा पेमा र हामीबीच केही कुरा भए । उनी भुटानी मूलका भए पनि नेपाली राम्रैसँग बोल्न सक्दा रहेछन् । सुरुमा भुटानी नागरिकले नेपालीमै बोलेको सुन्दा रमाइलो लाग्यो। उनी प्रायः बाहिरी देशबाट भुटान घुम्न आउने पर्यटकलाई लिन एयरपोर्टसम्म आउने गर्दा रहेछन् । थिम्पु पुग्नुपूर्व उनले त्यहाँको बारेमा हामीलाई धेरै जानकारी गराए । गाडीमा गफिँदै हिँड्दा १ बजेछ । करिब एक घन्टा २० मिनेटको यात्रापछि हामी राजधानी थिम्पु पुग्यौँ । त्यहाँ पुगेपछि हामीलाई भुटान उद्योग वाणिज्य महासंघ र ललितपुर उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले स्वागत गरे । थिम्पु प्रवेश गर्ने मूलद्वारबाट स्वागतलगत्तै हामी मेलास्थल पुग्यौँ । त्यहाँ नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटानमा उत्पादन भएका सामग्रीका तीन सय स्टल थिए । औपचारिक कार्यक्रमपछि हामी नेपाली उत्पादनका स्टल पुग्यौँ । त्यहाँ नेपालमा उत्पादन भएका धातु र हस्तकलाका सामान सजाएर राखिएको थियो । करिब दुई घन्टा स्टल अवलोकन गरेपछि हामीले त्यहाँका अर्थमन्त्री लिम्पो नाम्गे दोर्जेसँग भेट ग¥यौँ । भुटान उद्योग वाणिज्य संघका पदाधिकारी र पत्रकार पनि त्यहीँ थिए । केहीबेर नेपाल र भुटानबीच व्यापार सन्धिको विषयमा छलफल चल्यो। 

भदौ ३० को बिहानै हामी टे«किङ जाने योजनामा बन्यो । हामी १० जना थियौँ, राजधानीबाट करिब एक घन्टा बस र दुई घन्टाको पैदलपछि ‘ताङ्गुचेरी’ पुग्यौँ । ताङ्गुचेरी भुटानका पहिलो राजाले स्थापना गरेको गुम्बा रहेछ । यहाँ सातौँ शताब्दीसम्मको बौद्ध संस्कृतिबारे जान्न पाइँदो रहेछ । दिउँसोतिर ‘ताङ्गुचेरी’बाट थिम्पु आयौैँ । चार घन्टाजतिको उकालो हिँडाइले निकै थकाइ महसुस भएको थियो। 

भदौ ३१, बिहान हामी थिम्पुनजिकैको ‘नेसनल एनिमल प्लान्ट’ गयौँ । त्यहाँ भुटानमा पाइने राष्ट्रिय जनावर संरक्षण गरिएको रहेछ । त्यहाँका मुख्य क्षेत्र अवलोकन गराउन एक ‘गाइड’ पनि हामीसँगै थिए । डिनरपछि हामी ‘टे«ड फेयर’ मा गयौँ । गाइडको रूपमा हामीसँग हिँडेका तासीले थिम्पुमा मुख्य–मुख्य ठाउँ घुमाए । 

नेपाली गीत, नेपाली शैली
भुटान बसाइको चौथो दिन, हामीले नेपाल र भुटानबीच धेरै संस्कृति, जीवनशैली जान्न पायौँ । हामी पुगेका धेरै स्थानमा नेपाली गीत–संगीत गुञ्जिएको सुनिथ्यो । सहरका चोक–चोकमा नेपालीभाषा बोलेको सुन्दा खुसी लाग्यो । कतिपय पसलमा नेपाली नबुझ्लान् भनेर हामीले अंग्रेजी बोल्दा उनीहरू नै नेपाली बोल्थे । राजधानी थिम्पुमा त धेरैजसो बोलिने भाषा नै नेपाली रहेछ । त्यहाँको हावापानीदेखि संस्कृतिसम्म नेपाल सुहाउँदो लाग्यो। 

शान्त सडक, सभ्य नागरिक, मौलिक शैलीमा बनेका एकनासे घर भुटानको विशेषतै रहेछ । सहरबाटै नियाल्न पाइने अग्लाअग्ला पाखापखेरा, खेतभरि झुल्दै गरेको धान हेर्दा नेपालजस्तै लाग्यो । यहाँ नेपालीपन सहजै पाउन सकिँदो रहेछ । थिम्पुमा बस्ने करिब ६५ प्रतिशतले नेपाली भाषा बुझ्ने र बोल्ने रहेछन् । प्रायःले नेपालीमै बोलेको सुनियो । लामो समय थिम्पुमा व्यवसाय गर्दै आएका तोक्दे छिरिङले यो सहर सन् १९६१ मा भुटानको राजधानी बनेको जानकारी दिए । उनका अनुसार यहाँ २० वटा जिल्ला छन्। 

यहाँको हावापानी, जीवनशैली र संस्कृति नेपालसँग मिल्छ । नेपाल र भुटानबीच फरक यति हो– यहाँ सबै कुरा व्यवस्थित छन्, नेपालमा भने त्यो पाइन्न । ६० प्रतिशतभन्दा बढी जंगली क्षेत्र कायम राख्ने यहाँको सरकारको नीतिका कारण पनि भुटान हराभरा छ। 

राजधानी थिम्पु बसाइका क्रममा यहाँ बस्ने करिब ६५ प्रतिशतले नेपाली भाषा बुझ्ने र बोल्ने गरेको हामीले पायौँ । उनीहरू आपसमा कुरा गर्दा प्रायः नेपाली भाषा नै बोलेको सुन्यौँ। 

एकनासे घर 
असोज २ मा हामी थिम्पु आसपासमा घुम्न निस्कियौँ । भुटानको राजधानी थिम्पुका एकैनासे घरले हाम्रो ध्यान खिच्यो । 
यहाँ भवन निर्माणमा एकरुपता रहेछ । कसैले पनि आफूखुसी घर तथा भवन बनाउन नपाउँदा रहेछन् । थिम्पुमा घुम्दा छाप्रोदेखि ठुल्ठूला भवन बनाउँदा पूरै मौलिकता पालना गरेको देख्यौँ । यहाँ घर बनाउँदा झ्याल र ढोकामा काठको बुट्टा हाल्नुपर्ने रहेछ । गुम्बा र प्यागोडा शैलीमा घरको डिजाइन हुनुपर्ने थिम्पुमा व्यवसाय गर्दै आएका नेपाली मूलका राजेश दुलालले बताए । उनका अनुसार घर बनाउँदा देखिने गरी फलाम प्रयोग गर्न पनि पाइँदैन । भवन बनाउँदा कसैले मौलिक शैली अपनाएको छैन भने सरकारले नक्सापास गरिदिँदैन । यहाँका ठुल्ठूला होटल, बिजनेस कम्प्लेक्स, स्टेडियम, मठ–मन्दिर, गुम्बालगायत सबै खाले भवन बनाउँदा सरकारी मापदण्ड मान्नुपर्छ । त्यस्तै, हरेक भवनमा जस्ताको छानो पनि सरकारी मापदण्डले अनिवार्य गरेको छ। 

कारैकारको सहर
दिनभरि हिँडेरै पनि थिम्पुका गल्लीगल्ली चहार्न सकिन्छ । सात दिन बसाइका क्रममा हामीले मुख्य ठाउँमा पुग्ने मौका पायौँ । भुटानका बासिन्दा पैदलयात्रा गर्न त्यति नरुचाउने रहेछन् । दुई लाख ७५ हजार जनसंख्या रहेको यो सहरमा जनसंख्याको झन्डै आधा त सवारी साधन होलान् । यहाँ कार पार्किङ नभएको घर देख्न मुस्किल पर्छ । सहरभित्र प्रायः पैदल हिँड्ने खासै भेटिँदैनन् । जताततै कार मात्रै देखिन्छ।

बाइक र स्कुटर त्यति देखिएनन् । जुनसुकै घर, गल्ली, खाली ठाउँमा पार्किङ गरेर राखिएका कारको लस्कर देखियो । लाग्यो, यो कारैकारकोे सहर हो । प्रायःसँग निजी कार नै भएकाले यहाँ सार्वजनिक यातायात त्यति आवश्यक छैन । सरकारी तबरबाट यहाँ ७० वटा बस सञ्चालनमा रहेको ट्राफिक प्रहरी तिक्दो दोर्जेले सुनाए । उनले यहाँ धेरैजसोले निजी सवारी नै किनेकाले सार्वजनिक बस पनि त्यति नचलेको बताए। 

वर्षमा पाँच सडक दुर्घटना
भुटानमा सवारीचालक र पैदलयात्रु दुर्घटनाबारे अति नै होसियार रहेछन् । दुर्घटना हुन नदिन यहाँको सरकारले पनि छुट्टै प्रावधान अपनाएको छ । करिब डेढ महिना ‘असल सवारी चालक तालिम’ लिएपछि मात्रै लाइसेन्स दिने व्यवस्था रहेछ । यसो गर्दा चालकले धेरै कुरा बुझेको र दुर्घटना पनि न्यून भएको ट्राफिक प्रहरी तिक्दो दोर्जेले सुनाए । उनी भन्छन्, ‘यहाँको ट्राफिक नियमले चालकलाई अति अनुशासित बनाएको छ, सडकमा एकले अर्कोलाई ओभरटेक गर्न पाउँदैन ।’
उनले वर्षमा सामान्य खालका पाँचवटा मात्रै दुर्घटना भएको सुनाए । त्यसो त थिम्पुको मुख्य सडकखण्डमा सवारीको चाप त्यति देखिन्न । यहाँ हर्न बजाउने, ओभरटेक गर्ने, जेब्रा क्रसमा नरोक्ने चालकलाई जरिवाना हुन्छ।  

चालक पेमा नाम्गेलका अनुसार यहाँ दुर्घटना नहुनुको अर्को कारण हो, व्यवस्थित सडक । थिम्पु जोड्ने मुख्य सडकखण्ड व्यवस्थित छन् । कतै जाम देखिँदैन । भुटानमा ग्रामीण भू–भाग जोड्ने कच्ची सडक नभएका होइनन्, तर त्यहाँ कतै धुलो देखिएन। 

सहरका शान्त कुकुर
राजधानी थिम्पुस्थित क्लक टावरअगाडि सयौँ कुकुर सुतिरहेका थिए । यहाँका कुकुरमा पनि इमानदारिता देखियो । पार्कमा रहेका कुकुर शान्त थिए । कुकुरलाई कुनै तालिम दिइएको भने होइन । बरु सरकारले नै सहरका कुकुरको रक्षा गर्नु भनेर सहरवासीलाई सिकाएको हुन्छ । स्थानीयवासीले ठाउँठाउँमा कुकुरलाई खानेकुरा राख्ने गर्छन् । 

स्वास्थ्य र शिक्षा निःशुल्क 
भुटानमा कसैले पनि आफ्नो स्वास्थ्य र शिक्षामा लगानी गर्नुपर्दैन । यहाँको सरकारले सबैखाले स्वास्थ्य र शिक्षा सेवा निःशुल्क गरेको छ । कसैलाई प्राणघातक र भुटानमा उपचार नहुने रोग देखापरेमा सरकारले नै बाहिरी मुलुकमा निःशुल्क उपचार हुने गरी रिफर पनि गरिदिन्छ । त्यस्तै, भुटानबाट बाहिरी देशका उच्च शिक्षाका लागि जाने व्यक्तिलाई सरकारले शतप्रतिशत छात्रवृत्ति प्रदान गर्छ। 

लोभलाग्दो पहाड र ट्रेकिङमार्ग
असोज २ मै हामी ‘ताक्साङ’ गयौँ । भुटानको मुख्य आकर्षकका रूपमा रहेछ, ताक्साङ । यहाँ सातौँ शताब्दीमा बनेका पुराना मन्दिर र गुम्बा छन् । सदरमुकामबाट डेढ घन्टाको दूरीबाट यहाँका रमाइला पहाड पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यताले यहाँ घुम्न आउने धेरैको मन तान्छ । भुटान पुगेर छुटाउने नहुने स्थानमा टाइगर नेस्ट, बुद्ध प्वाइन्ट, ताङ्गुचेरी, ताक्साङ, पुनाखा, वाङ्दी लगायत हुन् । यी ठाउँ हेर्नकै लागि धेरै पर्यटक भुटान आउने गरेको थिम्पुमा पर्यटन व्यवसाय गर्दै आएका तास छिरिङले बताए । उनी भन्छन्, ‘भुटान नेपालजस्तै छ, यहाँका अग्ला पडाड र गुम्बा चढ्का लागि युरोपका पर्यटक धेरै आउँछन् ।’ उनका अनुसार भुटानमा वार्षिक २६ हजार पयर्टक आउने गर्छन्। 

राजाको हातबाट दसैँको टीका 
भुटानमा बुद्धिस्ट र हिन्दूलाई बराबर मान्यता दिइन्छ । यहाँको सरकारले पनि कुनै योजना बनाउँदै छ भने दुवै पक्षलाई बराबर स्थानमा राख्छ । हरेक वर्ष दसैँका बेला यहाँ राजाले नागरिकलाई टीका लगाइदिन्छन् । दसैँको टीका ग्रहण गर्नकै लागि भनेर राजा आफैँले मन्दिर निर्माण गरेका छन् । हरेक वर्ष यहाँ बस्ने र नेपाली संस्कृति मान्नेका निम्ति राजाले पनि सहयोग गर्दै आएका छन् । यहाँ दुई महिना धार्मिक महिनाको रुपमा मनाउने चलन पनि छ। 
भुटानका मुख्य सहरको घुमघाम र अवलोकनपछि असोज ३ गते दिन हामी नेपाल फर्कियौँ।  

प्रकाशित: ९ मंसिर २०७४ ०२:५२ शनिबार

भुटानमा नेपालीपन