कला

चङ्गा

लघुकथा

चङ्गाहरू उड्थे आकाशमा दसैं लागेपछि। लटाइँको बिक्री बढ्थ्यो। धागाहरूमा माड लगाउनेहरू व्यस्त बन्थे। रङ्गीबिरङ्गी चङ्गाहरूका बजार लाग्थे।

ऊ पनि कम्ता रौसिन्थ्यो र सानामा चङ्गाका लागि, माथिमाथि उडेको चङ्गासँगै आफैं उडेजस्तो ठानेर। आकाशको यायावर ठान्थ्यो ऊ आफैंलाई।

आकाशका चङ्गाहरू काट्थ्यो, खुसीले उफ्रिन्थ्यो।

भन्थ्यो, “आमा, मेरो चङ्गाले पाँचवटा चङ्गा चेट गरायो। चेट भएकाहरू अहिले रुँदै होलान्।’’

च्याँठ्ठिन्थ्यो,“बाबा, देख्नुभो त मेरो चङ्गा कति बलियो छ।’’

उसका बालचाञ्चल्य देखेर बाआमा पनि खुसीका सरोवरमा पटकपटक चोपलिन्थे।

चङ्गासँगै उडेको उसको बालापनमा १२ को परीक्षाफलपछि एकाएक पूर्णविराम लाग्यो। उसको बालापन खोसियो। उसको चञ्चलता चो¥यो यो असत्तीले। नयाँनयाँ सपना देख्न थालेका उसका  मनमा दसैँको चङ्गा होइन उडनतस्तरी आउने गरेका छन्।

आज चङ्गाहरू उड्ने आकाश हुँदै ऊ उडेको छ। आजकल यो देशका धागा काटिएका चङ्गाहरू जहाँजहाँ खस्छन् अब ऊ पनि त्यहीं पुगेर खस्नेछ।

 -लक्ष्मण अर्याल

प्रकाशित: ८ कार्तिक २०८० ०५:०० बुधबार

अक्षर