कला

मैथिलीमा ‘राज्जा रानी’

काठमाडौं–दाइजो प्रथाको विषयलाई उठान गरिएको फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि प्रदर्शन हुने भएको छ। आगामी पुस २१ गतेबाट देशैभर रिलिज हुन लागेको फिल्मलाई मैथिली भाषामा प्रदर्शन गर्न दाइजो प्रथाविरुद्ध अभियान चलाइरहेको संस्था भोर कम्पनीले अधिकार लिएको हो।

भारत र नेपालका मिथिला क्षेत्रमा प्रदर्शन गर्ने सहमतिसहित कम्पनीका सिइओ राजकुमार महतो र फिल्मका निर्माता रमेश एमके पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार फिल्म मैथिली भाषामा प्रदर्शन गर्न २० लाख रुपैयाँमा सहमति गरिएको छ ।

निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली फिल्मको पहुँच बढाउन मैथिली भाषामा फिल्म रिलिज गर्न लागिएको बताए । यम थापा निर्देशित फिल्ममा नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यलगायतको अभिनय छ ।

फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य छ।

प्रकाशित: ६ मंसिर २०७४ ०४:२० बुधबार

मैथिलीमा राज्जा रानी