कला

यस्तो आशीर्वचन पाइरहन सकियोस्

निबन्ध

यत्ति पनि गर्न सकिएन भन्ने आभास कहिल्यै कुनै दिन नहोस्। गर्न नसक्नुको पीडा र पछुतो कसैलाई पनि नहोस्। यति पनि गर्न सकिएन भन्ने पश्चात्तापको आगोले कसैको मन भत्भती नपोलोस्। थक्थकीले मुटु दिक्क नबनाओस्। सानै काम भए तापनि गर्न सकिएन भन्ने हृदयमा कहिल्यै नमज्जा नभइरहोस्।

अन्ततः गर्नुपर्ने काम जसरी पनि पूरा गर्न सकियोस्। सोचेको कुरा पूरा गर्ने आदत बनोस्। आजको काम भोलिलाई बाँकी राख्ने बानी हटोस्। आफूले गरेको काममा कहिल्यै कसैले खोट लगाउने ठाउँ नरहोस्। गरेको र गर्ने काम अरूका लागि पनि फाइदाजनक होस्। सबै काम आफ्नै ठानियोस्। काम अरूको लागि हो भन्ने बानीको अन्त्य होस्।

जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्न सक्षम भइयोस्। अरूको दोष खेप्न कसैले पनि नपरोस्। रोषको सिकार र खोटको भागिदार पनि नबनियोस्। कसैको नजरबाट कहिल्यै कसैले झर्नु नपरोस्।

सबैसँग सधैँभरि आँखा–आँखा जुधाएर निर्धक्क बोल्न र हाँस्न सकियोस्। कोही कसैप्रति पनि मनको कतै कुनामा, मझेरीमा कुनै कुराको गुनासो नरहोस्। कोही कसैको रिसको शिकार बन्न नजाओस्। कोही कसैको मायाको अङ्गालोमा बाँधिएर त्यत्तिकै जीवन वर्बाद नबिताओस्।

कसैले गरिदेला वा अरूले गरिदेला भनेर अर्काको मुख ताकेर बस्नु नपरोस्। आफ्नो कामलाई थाँती राख्ने बानी हटोस्। अर्काको कुरा गर्ने आदत छुटोस्। सबैलाई माया गर्ने बानी बसोस्। कसैको डाह, कसैको चाह, कसैको मोह, कसैको द्रोह, विद्रोह केही नहोस्। ‘आफू भलो त जगतै भलो’ भनाइ जस्तै त्यस्तै आनीबानी हामी सबैको बनोस्। यस्तै आशयको आशीर्वचन सधैँ पाइरहन सकियोस्।

अरूको दुःख देखेर स्वतः दयामाया, करूणाको भावना जागोस्। अरूको खुसीमा खुसी महसुस गर्न पाइयोस्। आफ्नो दुःखमा साथ दिन आफन्त भइदिउँन्। आफ्नो सुखमा डाहले मर्ने मान्छे नहुन्। दुखी आत्माको दुःखमा साथ दिन सकियोस्। मिठोमसिनो सबैसँग सधैँभरि बाँडिचुँडी खान पाइयोस्।

सबैको उन्नति–प्रगति भइरहोस्। अवनतिको भड्खालोमा कहिल्यै कोही नपरियोस्। सधैँ उपलब्धि हासिल भइरहोस्। कसैको मन नदुखाइयोस्। कसैप्रति अनादर नहोस्।

सबैलाई आदर गर्न सकियोस्। आफ्नो हैसियत नबिर्सियोस्। आफ्नो धरातल नछोडियोस्। कसैको चित्त नदुखाइयोस्। चुपचाप मौनता साँधेर बस्न नसकियोस्। मनमा कुरा धेरै नखेलोस्। मीठो सपना देख्न सकियोस्। अनिदो आँखा, कचपल्टिएको निद्रा नहोस्। प्रत्येक रात मीठो सपना देख्न सकियोस्। हरेक बिहान नवीन जोश र जाँगरसहित जीवनले सिर्जनात्मक कर्म गरिरहोस्।

सबैभन्दा ठूलो कुरा स्वास्थ्य! स्वास्थ्य नै अमूल्य धन हो। आफू स्वस्थ रहिएन भने सम्पत्ति, समाज, साथसहयोग केहीको पनि काम लाग्दैन। अतः स्वास्थ्यको ख्याल राख्न सबैलाई समय मिलिरहोस्। रोग लाग्नुअघि नै रोगको बाटो रोक्न सकियोस्। खानामा अरूचि नहोस्। लेखपढमा मन लागोस्। घुमफिरमा मन जागोस्। अल्छी, आलस्य दूर भागाभाग होस्। मनमा शान्ति छाइरहोस्। अनावश्यक तनावको छट्पटीबाट मुक्त भइरहियोस्।

मनको ईच्छा अधुरै नरहोस्। मनका चाहनाहरू, ईच्छा, आकाङ्क्षा पूरा गर्न सकियोस्। अधुरो, अपूरो, अस्पष्ट, अन्यौल, अलपत्र, अस्तव्यस्त जीवन कसैले पनि बाँच्नु नपरोस्। सुख, शान्ति, समृद्धि र सन्तुष्ट जीवनयापन बाँच्न सकियोस्। यस्तै आशयको आशीर्वचन सधैँ पाइरहन सकियोस्।

हामी सबैको हरेक पल अत्यन्त सुखद र स्मरणीय रहोस्। हरेक दिनको काम नयाँ होस्। नयाँ कामले फेरि अर्को अझ नयाँ काम गर्ने प्रेरणा प्रदान गरोस्। कसैलाई धोखा नदिइयोस्। कसैबाट धोखा नपाइयोस्। आनन्द जीवनसँगै सबैको जीवन प्रेमले हर्षित भइरहोस्। कोही ठुस्स, कोही दिक्क, कोही फुरूक्क, बुरूक्क यस्तो असमानता नरहोस्।

सधैँ बलियो मनस्थिति, स्वस्थ अवस्थिति, सबल तनमन भइरहोस्। अल्छीले बल्छी खेल्नु नपरोस्। शक्ति–सञ्चय सत्कर्म सफलतातिर मन लागिरहोस्। कसैको नराम्रो, कूभलो हामी कसैले सोँच्ने बानी नहोस्। अरू कोही कसैले पनि कसैप्रति नराम्रो, कूभलो सोँच्ने अवसरै मिल्न नपाओस्।

यति गर्न सकियोस्। अति गर्नु नपरोस्। खति नहोस्, अगति नपरियोस्। कसैको सरापबाट टाढै बसियोस्। लोभमा लाग्न नपरोस्। ऋणमा नफँसियोस्। फुर्सदको समयलाई सदुपयोग गर्न सकियोस्। यति पनि गर्न सकिएन भन्ने पछुतो नहोस्। कुनै कुरा नखड्कियोस्।

बरू बाटो बिराएकालाई बाटो देखाइदिन सकियोस्। नबुझेकालाई बुझाउन सकियोस्। खोला तार्न सहयोगी भइयोस्। बेसहाराको सहारा बनिदिँदा धर्म पाइन्छ। धर्म कमाउने कर्मतिर मन लागिरहोस्। नम्र बोली र विनम्र स्वभाव हामी सबैको पहिचान बनोस्।

सबैको मानसम्मान र इज्जत गर्न सकियोस्। इमानदारी कायम राख्न सकियोस्। अन्न–ऐश्वर्य र सुवासले जीवनवय झाङ्गिरहोस्। हलक्क हुर्किरहोस्। सर्लक्क सरी रहोस्। कसैको डरत्राश, हत्ते, हैरानी, सास्ती र सजायले सताउन नआओस्। यीबाट मुक्ति जीवनले पार पाउन सकोस्। आफ्नो व्यक्तिगत स्वार्थका लागि कसैलाई रिझाउनु, खुसाउनु, फकाउनु नपरोस्।

आँखाहरू सधैँ सौन्दर्यमय दृश्यहरूमा रमाइरहुन्। कानले अप्रिय समाचार सुन्नु नपरोस्। मुखले नमीठो बोली नबोलियोस्। कसैको उल्झनमा नफँसियोस्। कसैको किनाराको साक्षी बस्नु नपरोस्। कसैको दूधको साक्षी बन्नु नपरोस्।

रात निदाएर दिन बिउँझिए जस्तै जीवन पनि बिउँझियोस्, बौरियोस्, बाठो–बौद्धिक होस्। समयसापेक्ष बन्न सकोस्। जीवन जीवन्त भइरहन सकोस्।

ईर्ष्याले कोही नजलुन। रिसले कोही नठुस्किउँन। निष्ठुरी बनेर कोही नतर्किउँन। घृणाले कसैले नहेरून। सबैको साथसहयोग र आशीर्वाद पाइरहियोस्। एक्लिएर एकलकाँटे जीवन नहोस्। सबैसँग पवित्र मित्रता, मानवताको साथ रहिरहोस्।

मिलन–महोत्सवले उल्लासको सञ्चार गरोस्। विछोडको विरहमा कोही पनि तड्पिएर हाँसोको ठाउँमा आँसुले बास बस्न नआओस्। झलमल्ल उल्लासमय उत्साहको वातावरणमा औँसीको अन्धकार कदापि कहिल्यै नभित्रियोस्।

सम्बन्धहरू मात्र जोडिउँन् तर कहिल्यै नटुक्रिउँन्। सच्चा यादहरू सदा अमर रहिरहुन्। विस्मृतिको गर्भमा ती त्यत्तिकै नतुहुन्। ती कहिल्यै भुलिँदैनन्, नभुलिउँन्। सबैको सधैँ जय होस्। कोही पनि पराजयको पलबाट गुज्रिनु नपरोस्।

खुसीहरू मौलाइरहुन्, सफलताहरूले सधैँ चुमिरहुन्। माया र ममताले कहिल्यै साथ नछोडुन्। फूलहरू फुलिरहे जस्तै, हिमालहरू हाँसिरहे जस्तै, समय बद्लिरहे जस्तै हाम्रो जीवन फुलिरहोस्, हाँसिरहोस्, खुसी बाँडिरहोस्। मनहरू नदुखुन, मुटुहरू नतड्पिउँन्। पाइलाहरू नथाकुन्। हृदय शान्त, गम्भीर र चिन्तन–मननमा गतिशील रहोस्।

हरेक दिन नयॉ–नयाँ कर्म गरिरहन सकियोस्। आफूभन्दा अग्रज विशिष्ठ व्यक्तित्वहरूको माया र आशीर्वचन पाइरहन सकियोस्। हिजोभन्दा आज समयको बद्लिँदो परिवेशमा जीवनलाई गतिशील पारिराख्न सकियोस्। नवीनतम् सोचाइ र सिर्जनामा मन सदैव लागिरहन सकोस्। धन्य–धन्य जीवन बनाइराख्न सकियोस्। भगवानप्रतिको भरोसा अन्धविश्वासले होइन आत्मविश्वासले गर्न सकियोस्।

केवल यति गर्न सकियोस्। कसैको आशा र भरोसामा बस्नु नपरोस्। कसैको दयामा बाँच्नु नपरोस्। कसैको उपेक्षा होइन सबैको विश्वासमा जीवन बितोस्। विश्वासघातको लात कसैले कहिल्यै खान नपरोस्। यत्ति, उत्ति वा कत्ति पनि गर्न सकिएन भनी चिन्ताले पिरोलिएर ज्यान भड्खालोमा नजाकियोस्।

क्षणिक खुसीका लागि हजार दुःख सहेर पनि सुखद प्राप्ति प्राप्त भइरहोस्। यति पनि गर्न सकिएन भन्ने भावना मनमा कहिल्यै नआओस्। यस्तै आशीर्वचन आजको बडादशैँ २०८० मा पाइयोस् पाउन सकियोस्। शुभ विजयादशमीको मङ्गल कामना सबैमा!

प्रकाशित: ७ कार्तिक २०८० ००:४१ मंगलबार

अक्षर