काठमाडौं- स्त्रीत्वलाई महत्व दिने शाक्त दर्शन र शिव भाव बोल्ने शैव दर्शनबारे नेपालका दार्शनिकहरुले बहस गरेका छन् । पूर्वीय दर्शनका बलियो पात्रका रुपमा रहेका शाक्त र शैव दर्शनले नेपाली समाजको इतिहास र वर्तमानलाई समेत बलियो बनाउने दाबी उनीहरुको छ ।
अन्तर्राष्ट्रिय दर्शन दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन विभाग र युनेस्को काठमाडौको संयुक्त आयोजनामा भएको दर्शन गोष्ठीमा नेपाली दार्शनिकहरुले शाक्त र शैव दर्शनका विविध पक्ष खोतलेका थिए ।
शाक्त दर्शनको कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक विद्यानाथ उपाध्याय भट्टले शक्तिलाई खाली देवता स्वरुपमा मात्र नभएर मानवभित्र रहेका हरेक चेतनाका स्वरुपलाई पनि मानिएको उल्लेख गरे । ‘शाक्त दर्शनमा पनि ज्ञानशक्ति, इच्छाशक्ति र कर्मशक्तिका प्रारुप रहेका छन्,’ उनले भने, ‘जल, तेज, वायु, आकाश, पृथ्वीले सिर्जना गरेको संसार सबैमा शक्ति नै छन् ।’ उनले क्रम दर्शन,कौल दर्शन र प्रत्यभिज्ञ दर्शनसँग जोडिएका शाक्त भावको विवेचना पनि गरे ।
नेपाली समाज शक्ति बिनाको नरहेको प्रस्ट्याउँदै उनले तन्त्रविद्या होस् वा पूजनीयताको हिसाबले नै किन नहोस् शाक्त दर्शनको महŒव रहेको बताए । गुहेश्वरीलाई माता मान्नु, तुलजा भवानीको उपासना गर्नु, गायत्री सावित्री लिएर विद्या आर्जन गर्नु, काठमाडौं उपत्यकाको निर्माण शक्तिका अधिष्ठात्री स्थापना गरेर हुनु, शक्तिकै उपासनामा पर्व तथा जात्रा गर्नु, उनीहरुको नाच र संस्कृतिको चलन हुनु, दुर्गाको तन्त्र पूजा गरिनु, तिहारमा लक्ष्मीपूजा गर्नु, उपवास आदिमा शक्तिको आराधना गर्नु, मोक्ष र धर्मको वर्णन गर्ने आधार पनि शाक्त दर्शन नै रहको भट्टले सुनाए ।
उनको कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा. डा. वीणा पौडेलले शाक्त दर्शन हिन्दु धर्म मात्र नभई बौद्ध धर्मसँग पनि सम्बन्धित रहेकाले त्यसबारेमा पनि व्याख्या विश्लेषण हुन जरुरी रहेको औंल्याइन् । ‘जसले धर्म मान्दैन उसका लागि पनि शाक्त दर्शन नैतिक सदाचारका रूपमा प्रयोग गर्न सकिने गरी जोड्नुपर्छ,’ उनले भनिन्, ‘जसले धर्म नरहेको अवस्थामा पनि समाजलाई भ्रष्ट हुनबाट बचाउँछ ।’
प्राज्ञ विष्णु प्रभातले शैव दर्शनलाई अलग रूपमा विश्लेशण गरे । ‘दर्शनको परम्परागत व्याख्याभन्दा भिन्न रुपले उठाएको छु,’ उनले भने, ‘शैव धर्म र दर्शन फरक हुन् ।’ पश्चिममा दर्शनमा धर्म र दर्शन अलग पाटो मानिन्छ । तर नेपालमा धर्म र दर्शनलाई एकै ठाउँमा राख्दा त्यसले अन्यौल सृजना गरेको उनको ठम्याइ छ । शैव दर्शनले भगवानको आराधनामात्र हैन पश्चिमा निकै पछि गरेको पदार्थमाथिको अध्ययनलाई त्यभन्दा पहिल्यै गरेको उनले दाबी गरे । ‘कार्ल माक्र्सले भौतिकवादको सिद्धान्त ल्याउनु अघि नै शिवले प्रकृतिमा भएका सौम्य र अग्निले पदार्थको द्वन्द्वलाई पुष्टि गरेका थिए,’ उनले थपे, ‘शैव दर्शनले अन्तरजातीय विवाह र परिवारसँगै नयाँ आलोकको ढोका खोलेको हो ।’ उनको कार्यपत्रमाथि टिप्पणी गर्दै संस्कृतिविद् वेदुराम भुषालले दर्शन र धर्मलाई अलग गर्ने हिम्मत गर्नु नै ठूलो कुरा भएको बताए । उनले कार्यपत्रको संरचनाको भने आलोचनात्मक टिप्पणी गरे ।
तेस्रो कार्यपत्र भने दर्शन र शिक्षाका बारेमा प्रा.जगत उपाध्याय प्रेक्षितले प्रस्तुत गरे । उनले दर्शन र शिक्षाको इतिहाससँगै यसको सम्बन्ध केलाउने प्रयास गरे । पूर्वीय र पश्चिमा दर्शन र शिक्षाको तुलनात्मक परिचय दिने प्रयास उनले गरे । उनको कार्यपत्रमाथि डा.जनार्दन घिमिरेले टिप्पणी गरेका थिए । खुला सत्रमा कार्यमाथि सुझाव दिर्दै उपस्थित स्रष्टाहरुले नेपाली दर्शनको व्याख्या विश्लेषणमा बढी ध्यान दिन आग्रह गरे । मिश्रित दर्शनले नेपाली समाजलाई पार्ने असरका बारेमा अहिलेदेखि नै बहस हुनु जरुरी रहेको उनीहरुले सुझाए ।
दर्शनको बहस वर्षभरी गर्न नसके पनि पूर्वीय दर्शन सभ्यता र पश्चिमा दर्शन सभ्यताका बारेमा प्रतिष्ठानले केलाउने कार्यलाई निरन्तरता दिएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए । युनेस्को काठमाडौंका शिक्षा प्रमुख बलराम तिमिल्सिनाले दर्शनको बहस दिवसका बेलामात्र नभई अरुबेला पनि हुुनुपर्नेमा जोड दिए । दर्शन विभागका प्रमुख दिनेशराज पन्तको सभापतित्वमा भएको गोष्ठीमा सदस्य सचिव जीवेन्द्रदेव गीरी,विष्णुराज आत्रेय, हरिप्रसाद भट्टराई, शीतला गिरी लगायतले आफ्नो धारणा राखेका थिए ।
प्रकाशित: ४ मंसिर २०७४ ०३:२६ सोमबार