मेरो बुवाको मामालाई हामी जीबा भन्थ्यौं। उहाँ पहाडमा रामेछाप जिल्लाको एउटा गाउँमा जन्मिएर गावैमा हुर्किनुभएको थियो। त्यस ताका पहाडमा कुनै सडक थिएन। यताउति जान कि पैदल हिँड्नुपर्थ्याे कि पैसा भए घोडा चढे हुन्थ्यो।
उहाँकी श्रीमती, हाम्री जीमा, पनि नजिकै गाउँकी हुनुहुन्थ्यो। उहाँ श्रीमतीलाई धेरै माया गर्नुहुन्थ्यो,जीमा अति किचकिचे भए पनि। श्रीमान् होस् वा जोसुकै होस् ठुल्ठुलो स्वरमा अरूको कुरा नकाटी उहाँलाई चैन हुँदैनथ्यो।
तीन वर्षअघि हाम्रै घरमा बस्दा उहाँको मृत्यु भयो। पेटमा गाँठो बढेर बिचरा उहाँले धेरै दर्द सहनुपरेको थियो। उहाँ मानिसहरू देख्यो कि चिच्याउनुहुन्थ्याे र गाली गर्नुहुन्थ्यो अनि त उहाँको अवस्था झन् बिग्रन्थ्यो। अरूसँग उहाँको व्यवहार सुस्त हुँदै गयो। त्यसपछि मृत्यु हुनु एकदुई महिना अघिदेखि बोली पनि पूरै जसो रोकियो।
जीबासँगको मेरो सम्झना दशकौं अघिसम्म जान्छ जब म ११ वर्षको हुँदो हुँ। सुन्थें, उहाँको स्मरणशक्ति विस्तारै गुम्दैछ तर कहिलेदेखि त्यसो भएको होला, मैले त्यति ठम्याउन सकेको होइन। धेरैजसो साँझपख उहाँ आफ्नो कोठाबाट बाहिर डुल्न निस्कनुहुन्थ्यो। घर नजिकै मेरो बुवाले बनाएको मध्यम ठुलो पोखरी र मन्दिर, यी दुवैको वरिपरि नै जीबाको घुम्ने काम हुन्थ्यो बढीजसो। जीबा आफ्नो कदम सोझ्याउन लौरो लिई हिंड्न थाल्नुभयो। उहाँ बाहिर हुँदा कसैले पनि उहाँलाई त्यति ध्यान दिंदैनथे। कसैलाई लाग्दैनथ्यो फर्कँदा उहाँ बाटो बिराउनुहोला भनेर। उहाँको स्मरणशक्ति राम्रै थियो।
एकदिन दूर अपरान्हमा उहाँ घरबाट हिंड्नुभयो अनि फर्किनुभएन। अँध्यारो भयो, खाना खाने बेला थियो, जीबा कहाँ जानुभयो? हाम्रा गाईवस्तु हेर्ने दुई गोठालेलाई टर्चबत्ती दिएर खोज्न पठाइयो। जीबा पोखरी मन्दिर कतैतिर भेटिनुभएन।
उहाँ कमला नदीसम्म पुग्नुभयो कि? धनुषा जिल्लाको हाम्रो गाउँबाट कमला दुई किलोमीटर पूर्व पर्थ्याे। त्यहाँ हामी साउन भदौमा आउने विशाल बाढीको रमिता हेर्न जान्थ्यौं, सूर्यग्रहण लाग्दा नदीमा डुबुल्की मार्न पनि। कात्तिक महिनामा छठ पर्व हुँदा सूर्य देवको पूजा गर्न पनि कमला पुग्थ्यौं। गाउँका महिलाहरू छठमा एक दिनभरि, रातभरि केही नखाई बस्थे।
भोलिपल्ट पनि क्षितिजमाथि सूर्य प्रकट नहुन्जेल र घुँडासम्म पानीमा उभिएर सूर्यपूजा नगरेसम्म उनीहरूलाई भोजन ग्रहण गर्न मिल्दैनथ्यो। खोजी गर्नेहरूले नदीमा पनि जीबालाई भेट्टाएनन्। उहाँ अलि कम गहिरो भागबाट कमला तरी सात किलोमिटर पर बस्नु हुने मेरो दिदीकहाँ पुग्नुभयो कि? अब खोज्ने काम भोलि फेरि चल्ने भयो।
तर, भोलिपल्ट बिहानै जीबा फर्किनुभयो। हाम्रो घरबाट तीन किलोमिटर दक्षिणपूर्व नदीको तिरैतीर पर्ने एउटा गाउँबाट कसैले उहाँलाई घर पुर्याइदियो। हाम्रो इलाकामा बस्ने धेरजसो मान्छे हाम्रो परिवारलाई चिन्थे। घर पुर्याइदिने मान्छेले मेरो बुवालाई भन्यो, जीबा राति १० बजेतिर उसको घरअगाडि ढलिराख्नुभएको रहेछ। उठाउँदा आफ्नो श्रीमतीबारे सोधपुछ गर्नुभयो र पछि आँगनमा खाटमाथि ओछ्यान लगाइदिंदा त्यहीं सुत्नुभयो रे।
घर आएपछि जीबा कसैसँग नबोली बस्नुभयो। दिन ढल्नुअघि मलाई सोध्नुभयो, ‘कमलासम्म घुम्न जाने हो?’
फेरि मन त थिएन, तर घर बसेर पनि के गर्नु? दाइ जरोखोकीले थला परेको, भाइचाहिं गोडा मर्केर थन्किएको। हुन्छ भनें। आमालाई सोधें, धेरै पर नजानु है भन्नुभयो। त्यति कडा आदेश थिएन त्यो। हाम्रो गाउँघरमा मान्छेको कुनै डर हुँदैनथ्यो। फेरि जीबासँग कुराकानी गर्ने मान्छे पनि धेरै थिएनन्। बुवा सधैं व्यस्त। तराईको त्यो गाउँमा बस्ने बूढाबूढी कसैलाई नेपाली राम्रो बोल्न नआउने। हामी सबै मैथिली फर्र बोल्थ्यौं, तर चार वर्षमा पनि जीबा अरूसँग मैथिलीमा कुरा गर्ने हुन सक्नुभएन।
जीबासँग बाहिर घुम्न निस्कँदा उहाँ मलाई आफ्नो बाल्यकालका धेरै कथा सुनाउनुहुन्थ्यो। सोह्र वर्षको उमेरमा नजिकै गाउँकी १० वर्षकी जीमासँग उहाँको बिहे भएको थियो। बिहेको पहिलो रात जीमा आफूले जानेका सारा गीत गाउँदै थाकेर निदाउनुभएछ।
जीबा भन्नुहुन्थ्यो, ‘जीमा साह्रै बकबके हुनुहुन्थ्यो रे। त्यो राम्रो भएछ। जीमाको कुरौटेपन अल्पभाषी जीबाको मानसिक बनौटसँग अनुकूल मिल्ने भएर घरमा सन्तुलित वातावरण रहन्थ्यो। आफ्नो श्रीमतीको गहन प्रेमले पनि होला, जीबा जवाफ फर्काउनु हुँदैनथ्यो।
बिहेको १५ वर्ष बित्दा पनि बच्चा नहुँदा बच्चा कहिल्यै नहुने आशंका त छँदै थियो। त्यसमाथि जीबाकी आमाले बारम्बार अर्को बिहे गर् भन्नुहुन्थ्यो र पनि उहाँलाई जीमाको मायाले फेरि कहिल्यै बिहे गर्न दिएन। त्यतिबेला लोग्नेमान्छेले जति स्वास्नी ल्याए पनि हुन्थ्यो रे तर जीबा भन्नुहुन्थ्यो, ‘हाम्रो बच्चा नहुनु भनेको ईश्वरकै चाहना हो अनि कसरी दैवी इच्छाको उल्लंघन गर्नु?’
मलाई अर्ति दिनुहुन्थ्यो, ‘बूढो हुँदा जिउमा त्यति बल रहँदैन। त्यसैले सकुन्जेल बेस्सरी काम गर्नु है, पछिसम्मलाई पुग्ने गरी।’
नौ वर्षअघि आएको ठूलो भूकम्पमा उहाँले आफ्नो घर गुमाउनुभयो। अनि गाउँकै जिम्दार साहूसँग ऋण लिएर अर्को घर बनाए पनि पछि ऋण तिर्न नसक्दा घर र जोतको जग्गा सब गुमाउनुपर्यो।
चार वर्षअघि उहाँको स्वास्थ्य ओह्रालो लाग्न थालेपछि श्रीमतीसँगै पहाड छोडेर हामीसँगै बस्न मधेश झर्नुभयो। मेरो बुवालाई कुनै आपत्ति भएन। अरूलाई मद्दत गर्ने बानी त छँदै थियो, आफ्नै मामाको बिन्ती झन् के अस्वीकार्नुहुन्थ्यो।
बुवा आफैं सत्र वर्षको हुनुहुन्थ्यो रे पहाडबाट ओर्लेर, फगत एउटा झोला भिरेर यो सानो गाउँमा आउँदा। बज्र मेहेनेत गर्नुभयो, सकेसम्म बचत गर्नुभयो, जग्गा किन्दै जानुभयो, राम्रै धनसम्पत्ति जोर्नुभयो र विशाल परिवारको सिर्जना समेत गर्नुभयो।
हामी नदीकिनार एउटा ठूलो काठको मूढामा गएर बस्यौं। गएको बाढीमा कमलाले बगाएर ल्याएको त्यो मूढो जीबाको सुस्ताउने थलो बनेको थियो।
भन्नुहुन्थ्यो हेर,
अरू रूखमूढा सबै बगेर समुद्रसम्म पुगेर त्यहीं विलीन भए, योचाहिं यतै बस्यो, एकछिन भए पनि हामी आराम गर्न सकौं भनेर।
मैले सोधें, ‘अरूले दाउरा काटेर लग्दिए भने नि, जीबा?’
‘ठीकै भन्यौ बाबु, लग्न नसक्ने पनि होइन। चार महिनादेखि यो यहीं छ। तर कुनै बेला यसको रूप परिवर्तन नहोला भन्न सकिन्न। हरियो रूखबाट यो सुकेर मूढो भयो। समुद्रमा पुगेकाे भए चार महिनामै यसमा कति लेउ लाग्ने, कीराले खाने भएर केके भइसक्थ्यो होला। अब यतै बसिरहँदा ठिकै छ, यसलाई कसैले काटेर, दाउरा बालेर खरानी पारे भने पनि यो संसारमै रहने हो, खालि यसको रूप फरक हुने मात्र त हो। दाउरा थियो, खरानी बन्छ।’
मलाई जीबाको धेरै कुरा नयाँ किसिमको लाग्थ्यो, नबुझिए पनि शान्त भएर सोची राख्न मन लाग्ने, कल्पनालोकमा पुगिने खालको।
मैले सोधें, ‘पहाडमा हजुरको साहूकार नराम्रो मान्छे थियो त जीबा?’
‘होइन, व्यापार गर्ने सबैले उस्तै किसिमले काम गर्छन्, बाबू। भन्ने हो भने सबै मान्छे उस्तै चीजले बनेका हुन्छन्। त्यसले मेरो जग्गासम्पत्ति त लग्यो तर त्यो उडाएर उड्ने होइन, त्यै ठाउँमा छ अहिले पनि, हो कि होइन? भोलि गएर उसले पनि अरू कोईसँग त्यो सम्पत्ति गुमाउन के बेर?’
‘मलाई पनि यो मेरो यो तेरो भनेर झगडा गरेको नरमाइलो लाग्छ, जीबा।’
‘मानिसहरूमा सामान लेनदेनको खेल त चली नै रहन्छ संसारमा, तर त्यसबारे चिन्ता भने हामी धेरै गर्छौं, बुझ्यौ? केही कुरा कोही मान्छेले अलि बढी भेट्टाउलान्, केही कुरा तिनले कम भेट्टाउलान्, अझ गुमाउलान् पनि। त्यसैले उनीहरू अरूको तुलनामा फरक पनि देखिएलान् तर मानिसहरू बीच हुने सम्बन्धको अगाडि यी चीजबीजहरू भनेको त के हो र, साधारण कुरा। त्यै पनि हेर्दै जाउ , विचित्र के छ भने त्यै ससाना कुरामा मान्छेहरू अलमलिन्छन, रातदिन झगडा गर्न तम्सिन्छन, मानौं तिनीहरू जीवनको प्रवाह रोक्न खोजिरहेका छन्, समयलाई अँठ्याउन खोजिरहेका छन्। के सम्भव छ त्यो? मूर्ख हुन् ती।’
जीबा एकछिन रोकिनुभयो अनि नदीको बीचतिर देखाउँदै फेरि भन्नुभयो, ‘ऊ त्यो भुमरीमा हेर, त्यहाँ पानी नबगेर घुमिरहेको मात्र देखिन्छ नि? एकैछिन पर्खिएर हेर, त्यो सोझो भएर फेरि बग्न थाल्छ। जिन्दगी त्यस्तै हो, भुमरीमै अल्झिएर बस्ने हो भने अगाडि कहिले बढ्ने? थोरैमा अल्झिएर मान्छेले समय खेर फाल्छ, पिल्सिएर बस्छ। मैले पनि अलि दिन त्यसै गरें, बुद्धि पुर्याइनँ। कुरा बुझेपछि सबै छोडेर यता तिमीहरूकहाँ बस्न आएँ अनि सञ्चाे भयो।’
‘सबैले एकैनास सोच्दैन क्यारे, जीबा।’
हो, त्यो पनि ठीक। सबैले समान व्यवहार गर्न थाले भने संसार त सार्है सोझो र नीरसै हुन्थ्यो नि, होइन?
मलाई जीबाले भनेको कुरा मन पथ्र्यो, उहाँले भनेको सबै कुरा मैले नबुझे पनि।
जहिले पनि कमलातिर घुम्न जाँदा जीबा एक घन्टाभन्दा बढी कि हिंडिरहने कि चुपचाप बसेर बगिरहेको पानी हेरिरहनुहुन्थ्यो। मलाई भने नदीको बीचतिर दक्षिणतर्फ बग्ने मुस्लो पानीको आवाजको उतारचढावभन्दा किनारतिर उत्तरतर्फ मन्द गतिमा लर्बरिएको र उल्टो दिशामा चल्ने बहाव हेर्न मन लाग्थ्यो।
तर, त्यो त अगाडि बढ्नुभन्दा पछाडि फर्कने कुरा होला र जीबालाई मन नपर्ला भनी नबोली बस्थें। उहाँको विस्तारो सोचाइगराइ मलाई मनपर्थ्याे , जति बेला पनि कामकै पछाडि दौड्या दौड्यै गर्ने उहाँ हाम्रो बुवा जस्तो होइन।
मैले सोधें, ‘जीबा, जीमा किन बित्नुभएको?’
जीबाले आँखा पुछ्दै भन्नुभयो, ‘उनको मुर्ख्याइँ, बाढी आएको बेलामा एक्लै कमला आइन्। बिरामी थिइन्। अलि दिनमा घरैमा बित्ने थिइन् होला, तर सूर्यग्रहणको दिन ग्रहणबाट निस्कने बेला पारेर उनलाई कमलामा डुबुल्की लाउनुपर्यो। मलाई विश्वास छ, कमलाले लगिन् उनलाई, उनी फेरि कहिल्यै फेला परिनन्। कि भने जानीजानी कमला देवीमा आफ्नो निरानन्द जीवन समर्पण गर्दै हिंडिन्।’
मैले नसोधे पनि मलाई लाग्थ्यो, उहाँ सधैं जीमासँग मौन वार्तालापका लागि नै कमला आउने गर्नुहुन्थ्यो।
‘जीबा, मरेपछि मान्छेलाई के हुन्छ?’ मृत्यु के हो मैले कहिले बुझ्न सकिनँ। मृत्युदेखि त्यतिबेला धेरै डर लाग्थ्यो मलाई। एकदिन हामी बसिराख्या हुन्छौं, बोल्दै, हाँस्दै, खेल्दै अनि एक्कासि एकदिन बेपत्ता हुन्छौं। कसरी हुन्छ यो सब?
उहाँले भन्नुभयो,‘वर्ष दिन बित्दा नबित्दै कहीं फेरि हामी जन्म लिन्छौं, बाबु!’
‘जीमाले फेरि कहाँ जन्म लिनु भयो होला?’
‘खोई थाहा भएन। हुन सक्छ यतै कतै, कि भने पहाडमा हाम्रो गाउँतिर कतै।’
‘जीमालाई कहिले भेट्न सक्नुहुन्छ होला, जीबा?’
‘अहँ, भन्नै मिल्दैन तिनी के भइहोलिन्, कहाँ होलिन्। रूप बदलिन्छ, ठाउँ बदलिन्छ। मान्छेको पुनर्जन्म कहाँ हुन्छ, ऊ को भएर जन्मन्छ, त्यो थाहा पाउने सिद्धपुरुष यो संसारमा विरलै पाइन्छन्,बाबु।’
जीबा आँखा बन्द गरेर आफ्नो श्रीमतीको सम्झनामा डुब्नुभयो।
‘म कति भन्थें, पेटमा गाँठो बढेर कत्रो भइसक्यो, अब धेरै नखाऊ तिमी। विस्तारै आफैं गलेर त्यो डल्लो सुक्ने थियो। तर, के गर्नु, भोजनको प्रेममा लिप्त मान्छेलाई आहार घटाऊ भनेर केही हुन्छ? भन्थिन्, ‘आ, भोकै मर्नुभन्दा त बरु खाएरै मर्नु राम्रो।’
जीबालाई देखेर उदास हुन्थें म। जीमाप्रति कति माया थियो उहाँलाई। हामी कमला घुमेर आएको एक महिनामै जीबामा धेरै परिवर्तन हुन थाल्यो। एकचोटि नदी किनारै जीबाले आफ्नो लौरो बिर्सेर भोलिपल्ट फेरि त्यहीं भेट्टाउनुभयो। छ महिनाभित्र उहाँको कैयौं छाता हराए। गाईभैंसीका बथान पालिने हाम्रो घरमा कति दहीमही बन्थे।
उहाँलाई प्यारो लाग्ने महीको नाम समेत बिर्सनुभयो। पछि उहाँको लुगा समेत गन्हाउने हुन थाल्यो, शोच जानुपर्ने सुद्धि हराउँदै जान थाले। केही दिनपछि जीमा बितेको कुरा पनि बिर्सनुभयो। आँगनमा हल्लिरहँदा जो भेटिए पनि सोध्नुहुन्थ्यो, ‘जीमा पल्लो घरबाट फर्केर आइन् त?’
पल्लो घर भनेको उहाँको पहाडको घर होला भन्थे सबै। जीबा भन्नुहुन्थ्यो, ‘अब पहाड जाँदा डाँडामा घुम्दै गीत गाइरहेकी जीमा भेट्टाउँछु म।’
त्यसपछि छिट्टै उहाँको देहान्त भयो। अरूसँग मिलेर बुवाले उहाँको दाहसंस्कार गरिदिनुभयो।
हाम्रो खलिहानको सीमानामै पीपलको एउटा ठूलो रूख थियो। त्यो रूखमुनि एउटा सानो खाल्टो खनेर जीबाको जिउको खरानी अलिकति पुर्न लगाइयो, त्यसबाट जीबाको सम्मान हुन्थ्यो रे। तर, धेरजसो खरानी कमलामा लगेर सेलाइयो, जन्ममृत्युको चक्रबाट जीबा उम्किन सक्नुहुन्छ कि भनेर।
मलाई त उहाँको जीवनले भोगेका अनुभव सुन्न नपाइने र अझ शब्दभन्दा बढी उहाँको सामीप्यको कमीले पिरोल्थ्यो। जीबाले कहाँ फेरि जन्म लिने होला, त्यो सोचमा डुब्थें म।
तीस वर्ष भइसक्यो जीबा बितेको तर उहाँको यादले छोड्दैन। उहाँ ठीकै भन्नुहुन्थ्यो-हामी सबै एकै किसिमले त बनेका छौं। जीवशास्त्रले भने जस्तै हामी सबैको रचना अणु र परमाणुबाट नै हुन्छ। हामी देख्छौं, सुन्छौं, सोच्छौं, गर्छौं, सबै कुरा दिमागभित्र परमाणुबाटै बनेका अरबौं न्यूरोनमा विद्युतीय र रासायनिक प्रक्रिया चलिरहने हुनाले। जीबाको स्मरण शक्ति दुईतीन वर्षदेखि शिथिल त हुँदै थियो तर अन्त्यतिर अल्झाइमरले होला, न्यूरोनहरू तीव्र गतिमा सुकाउँदै ज्ञानशून्य बनाउँदै उहाँलाई लिएर गयो।
मलाई अहिलेसम्म यो प्रश्नले पिरोलिरहन्छ, कहिले थियो होला जीबा पूर्ण अस्मिताको विस्तारित भाव छोडेर संकुचित चेतनामै सीमित भएर बस्न थाल्नुभएको अनि कहिलेदेखि होला डुब्दो श्वास प्रणालीको झीनो सहारामा वनस्पतिझैं अचल हुनुभएको?
हुन त तथाकथित मृत्युमा पनि उहाँ बाँची नै रहेको हुनुपर्छ, अणु र परमाणुको एक भिन्न मिश्रणमा।
एकदिन नदी किनारको मुढामा बस्दा मभन्दा तीन वर्ष जेठो केशु दाइ बोलिरहे पनि मेरो ध्यान जीबाको खरानीमै जान्छ। के उहाँ खरानीसँगै सागरमा मिसिनुभयो त?
घर पुग्दा पीपलको बोटतिर हेर्छु र त्यसमुनिको खरानी सम्झन्छु। लाग्छ, केही वैज्ञानिक मिलेर जीबाको बाँकी रहेका परमाणुहरू जोड्दै हाड, मासु, रगत र न्यूरोनहरू बनाउन सके कस्तो हुन्थ्यो अनि तीमध्ये केही न्यूरोन चम्किन थाले कस्तो हुन्थ्यो अनि अझ बढी न्यूरोनको सामूहिक नृत्य चलेर जीबा एकपटक फेरि मानिस भएर प्रकट भइदिए त झन् कस्तो हुन्थ्यो।
केशु दाइलाई थाहा रहेछ मेरो गाम्भीर्य कसरी हटाउने।
भन्नुभयो, ‘जीबाले भन्या हो कि होइन, बितिसक्या कुरामा अलमलिएर बसिरहनु राम्रो होइन भनेर?’
‘हो, तर मान्छे साह्रै बेस हुनुहुन्थ्यो। तपाईंलाई याद आउँदैन उहाँको?’
‘आउँछ, तर सबै मान्छेको राम्रो नराम्रो दुवै पक्ष हुन्छ के। त्यो पनि याद राख्नुपर्छ।
‘जीबाको के थियो नराम्रो?’
‘तँलाई थाहा छैन तर बुवाले भन्नुभएको, जीबाले उहाँको घर खोस्ने जिम्दारलाई एक राति बेस्सरी कुट्नुभएछ अनि त्यो मर्यो कि भन्ने डरले रातारात जीमालाई लिएर भाग्नुभएको रे।’
‘हो र, खोई पुलिसले उहाँलाई समातेर लगेन त?’
‘पहिले दुई महिना त जीबा र जीमा कताकता लुकेर बस्नुभएछ। त्यो जिम्दार पनि विस्तारै हिंडडुल गर्न सक्ने भएछ। कुरा सेलायो भनेको, पछि जीबा यहाँ बसेको थाहा पाएर जिम्दार त अरू दुईजना लिएर झगडा गर्न यहीं आइपुगिराख्या। तीन वर्ष भइसक्यो, हामी केटाकेटीलाई कसैले भनेनन् तर बुवाले पैसा दिएर त्यसलाई फकाउनुभएछ र अब यहाँ फेरि कहिले नआउनु भनेर चेतावनी दिनुभएछ। अनि यो ठाउँमा बुवाको अगाडि त्यसको चलोस् पनि कसरी? पैसा लियो, हिंड्यो।’
म भरङ्ग भएँ, ‘जीबा सोझो भनेको, त्यस्तो कसरी थाहा पाउने होला मान्छेको मनमा के बसेको हुन्छ, हँ?’
‘ठीकै छ नि, यहाँ आइसकेपछि उहाँ धेरै सोझो पनि हुनुभयो। बुवालाई आदर र हामी सबैलाई माया गर्नुहुन्थ्यो। आफ्नो छोराछोरी नभए पनि तँलाई त झन् छोराभन्दा बढी माया गर्नुहुन्थ्यो, हुरुक्कै गर्नुहुन्थ्यो नि।’
दाइको कुरा सुनेपछि नरमाइलो त लाग्यो तर मान्छे जटिल प्राणी हुँदो रहेछ भन्नेमा विश्वास पनि बढ्दै गयो र व्यक्तिगत अनुभवबाट केही बुझ्न पाउँदा अलि सन्तोष पनि।
तीस वर्ष बितिसकेछ। यसपालिको दशैंमा मूलघर आउँदा छोरा १० वर्ष पुगेको छ। उसलाई लिएर म कमलातर्फ लागें। पानी बगेको हेर्न उसलाई पनि धेरै मन पर्छ। मुढो त थिएन कतै, त्यै पनि हामी नदी किनार हरियो घाँसमा बस्यौं। जीबा बस्ने ठाउँतिर पानी नै पानी। यसपालिको बाढीमा कमला फैलिएर झण्डै १०० मिटर वर सरेको बुझियो। अलि पर दक्खिनतिर भने किनार नकाटी नदी अविरल र निर्विघ्न प्रवाहित।
छोरा ससाना ढुंगा पानीमा परसम्म फाल्ने कोसिसमा लाग्यो, मचाहिं मध्यरातको प्रवाह हेर्दै भुमरीको खोजीमा। एकछिनपछि छोरोले सोध्यो, ‘बुवा, यो छेउको पानी यसरी बग्नु सट्टा बीचको पानी जस्तै उता बग्नुपर्ने होइन? किन यता उत्तरतिर फर्किराख्या छ त?’
मनमा आयो, जीबा कहाँ जन्मिनुभएको होला, के थाहा? तर, मुखबाट यति मात्र भन्न आयो, ‘बाबु, सबै कुराको उत्तर हुँदैन मान्छेसँग।’
अनि अरू केही नबोली म पनि परसम्म फाल्न ढुंगा टिप्न थालें।
-ब्रह्मोल्लास
प्रकाशित: ५ कार्तिक २०८० ०५:२८ आइतबार