चाडपर्व हुनेखानेकै लागि रहेछ। हुन त गरिबका लागि पनि नभएको होइन तर खुलेर हाँसीखुसीसाथ राम्रोसँग मनाउनका लागि चाहिँ आर्थिक अवस्था दहै्र हुनु पर्दोरहेछ। म आफूले अनुभव गरेको कुरा हो यो। त्यसमा पनि चाडपर्व खास गरेर केटाकेटीहरूका लागि रहेछ। केटाकेटी छँदा दसैंमा मामा घर जाने, टीका लगाउने, मिठो खाने, राम्रो लगाउने, रमाइलो गर्ने, यसको छुट्टै आनन्द हुन्छ।
चाडपर्व भनेको केटाकेटी छँदा मात्र रहेछ भन्ने कुरा मैले कसरी अनुभव गरें भने जति बेला आफू सानो थिएँ, त्यति बेला दसैं–तिहार आएपछि नयाँ लुगा लगाउन पाइने, मिठो खान पाइने, मामाघर तथा आफूभन्दा ठुलाबडाको हातबाट टीका थाम्न पाइने, पिङ खेल्न पाइने, दक्षिणा पाइने, तिहारमा दिदीबहिनीहरूको हातबाट टीका लगाउने, देउसी–भैलो खेल्न पाइने आदि भएकाले पनि रमाइलो लाग्थ्यो।
पहाडको मध्यम वर्गीय परिवारमा जन्मेको म बुबाआमाको पालादेखि नै हाम्रो आर्थिक अवस्था राम्रै थियो। पहाडको ठाउँ पाखाबारी त प्रायः सबैको हुन्थ्यो। धेरथोर मात्र हो तर खेती भएको परिवार चाहिँ धनीमानी नै मानिन्थ्यो।
सबैको खेती हुँदैनथ्यो। हाम्रो खोला–खेती थियो। तीन चार खला खेत थिए। हामी वर्षमा लगभग सय मुरी धान थन्क्याउँथ्यौं। त्यति बेला राम्रो थियो हाम्रो घरको आर्थिक अवस्था। त्यति मात्र होइन, हाम्रो त्यतिबेलादेखि नै झापामा पनि खेती थियो।
त्यति बेला झापामा खेती गाउँमै कसैको थिएन। एकदुईका खोला–खेत थिए। त्यो पनि थोरै मात्र। त्यस गाउँमा हुनेखाने कहलिएका हामी नै थियौं। हाम्रो परिवार ठुलो थियो। हजुरबा पहिले नै बित्नु भयो। हजुरआमा हुनुहुन्थ्यो। उहाँ छुट्टै घरमा बस्नुहुन्थ्यो। सानोमा म प्रायः हजुरआमासँगै बस्थें। कहिलेकाहीं मात्र घर आउँथें।
हजुरआमाको एउटौ नाति म, उहाँको साह्रै प्यारो थिएँ। हजुरआमाको घर हाम्रो घरबाट पन्ध्र मिनेटमाथि पथ्र्यो। हेर्न चाहिँ उहाँलाई हामीले नै हेथ्र्यौं। त्यो पनि हाम्रै घर थियो। बुबाआमा, छ ओटी दिदीबहिनी, हामी दुई दाजुभाइ गरी एघार जनाको परिवार थियो।
पहिला पहाडमा अहिलेजस्तो यातायातको सुविधा थिएन। तर पनि मानिसहरू पहाड छोडेर मधेस बसाइँ सर्ने गरेका पनि थिएनन्। गरे पनि वर्षमा एक दुई घर परिवार सर्थे। अहिले त पहाडबाट मधेस वा गाउँबाट सहर बसाइँ सर्नेको ताँतीले गाउँ नै रित्तिन लागिसकेका छन्। त्यस बेला मानिसजस्तो छ, जे छ पहाडमै वा गाउँमै गुजारा चलाउँथे।
अन्य चाडपर्व सामान्य रूपले मनाए पनि दसैं–तिहार चाहिँ धुमधामसँग नै मनाउने गर्थे। नहुनेहरूले पनि वर्ष दिनको चाड भनेर वर्षमा एक पटक यही दसैं–तिहारमा छोराछोरीलाई नयाँ लुगा किनिदिने, रिनधन गरेर भए पनि दुईचार छाक मिठोमसिनो खान दिने गर्थे।
त्यतिबेला पनि दसैंतिहारजस्ता चाडपर्व अलिक करकाप र देखासिखीकै रूपमा मनाइन्थ्यो। नहुनेले पनि नयाँ लुगा लगाउथे। मिठै खान्थे। बनीबुतो गरेर भए पनि छोराछोरीको मन खुसी नै राख्थे।
पहाडको ठाउँ पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभासम्मका मानिसको किनमेल गर्ने बजार धरान नै थियो।
दसैंमा लत्ताकपडा, नुनतेल, चामल, चिउरा, चिनी आदि लिन कुम्लाकुटुरा बोकेर धरान आउँथे। किनमेल गरेर फर्कन हप्ता दिन लाग्थ्यो।
पहाडमा त्यति बेला अहिलेजस्तो जताततै बजार थिएनन्। पछि विस्तार भएका हुन् रवि, यासोक, मौवा आदि बजारहरू। रवि चाहिँ अलि पहिलेकै बजार हो तर त्यति ठुलो थिएन। प्रायः गाउँलेहरू दसैंतिहारको किनमेल गर्न धरान नै आउने गर्थे।
यसरी आउँदा कोही बदाम, कोही कागती, सुन्तला, नास्पती, चिराइतो, घिउ आदि आफूसँग भएको चिज केही न केही लिएर आउँथे अनि त्यो बेचबिखन गरेर लुगाफाटो, नुनतेल, चिउरा, चामल आदि आफूलाई चाहिने चिज लिएर फर्कन्थे।
हामी चाहिँ प्रायः हिउँदमा वर्षमा एकपटक मधेसको खेतीमा आउनैपर्ने भएकाले त्यति बेलै वर्षभरिलाई चाहिने प्रायः सम्पूर्ण कुरा लिएर जान्थ्यौं। चिउरा, चामल चाहिँ घरमा धान हुनेले ढिकीमा कुट्थ्यौं। धान नहुनेले पनि कसैले त गाउँमै धान किनेर गाउँमै कुट्थे। नौरथा लागेपछि गाउँमा रातभरि नै ढिकी बज्थे। चिउराको बासना चल्थ्यो। अन्य सामान्य मरमसला, टीका लगाउने रङ आदि खिच्रिङमिच्रिङ चिज चाहिँ धरान आउने कसैलाई ‘ल्याइदेओ है’ भनेर पैसा दिएपछि किनेर ल्याइदिन्थे।
घरका प्रायः सबै सदस्यलाई पुस–माघमा बुबा मधेस आउँदा ल्याइदिएको लुगाले हुने वा पछि ल्याउँला भन्दा हुने तर मलाई चाहिँ दसैंमै ल्याउनुपर्ने। दसैंमा नभए पनि तिहारमा देउसी खेल्न जाँदा चाहिँ नयाँ कपडा नभइनहुने। नत्र झगडा गरिहाल्थें। त्यसो भएकाले बुबाआमाले मलाई दसैंमा नभए तिहार कसैलाई साथ लगाएर लुगा किन्न पठाउनुहुन्थ्यो।
म गाउँलेहरूको साथ लागेर आफूलाई लुगा किन्न जान्थें। कहिले धरान, कहिले रवि बजार। नजिकका गाउँले वा आफन्त जता जान्छन्, त्यतै जान्थें र लुगा किनेर सिलाएर ल्याउँथें। अनि स्मार्टसँग तिहारमा देउसी खेलिन्थ्यो। दसैंमा टीका थापिन्थ्यो। पिङ खेलिन्थ्यो। रमाइलो गरिन्थ्यो।
केटाकेटीपन दसैं आउनुभन्दा तीन महिना अगिदेखि नै मन रमाउन थाल्थ्यो। साथीभाइसँग खुसी बाँड्न थालिन्थ्यो। साथीभाइ पनि दसैं आयो भनेपछि सबै खुसी हुन्थे।
नयाँ लुगा लगाउन पाइने आशाले पुराना लुगा भुइँमा धस्रीधस्री फटाउँथ्यौं हामी। पुराना लुगा नफटाई नयाँ लुगा किनिदिनु हुन्न बुबाआमाले भनेर हामी दसैं आउने बेला भएपछि ढुङ्गामा सुलिली खेलेर भए पनि पुराना लुगा फटाउँथ्यौं।
एकदुई ठाउँ दुला पार्थ्याैं अनि नयाँ लुगा किन्न लगाउँथ्यौं। हाम्रा दसैं, तिहारमा लगाउने लुगा छुट्टै हुुन्थे। नयाँ, एकदम नयाँ। भर्खर सिलाएका। हामी केटाकेटीहरूका लागि टाँकी फुल्न थालेपछि नै दसैंको रमझम सुरु हुन्थ्यो। पहाडमा असोज लागेपछि टाँकी फुल्न थाल्थ्यो। आफूले पुर्याउनु परेको थिएन। बुबाआमासँग म यस्तो थोक लगाउने भनेर पिरोलिदिएपछि पुग्ने। बुबाआमासँग पैसा होस् कि नहोस्। पैसा छैन भन्नुभयो भने पिलपिल आँसु झारेर रोइदिएपछि भयो। बुबाआमाको मन पलाइहाल्ने। घरमा होस् वा नहोस् चाहियो भनेपछि चाहियो चाहियो। जसरी भए पनि बुबाआमाले पुर्याउनु नै हुन्थ्यो।
अहिले सम्झँदा कसरी पुर्याउनुहुन्थ्यो होला त्यत्रो परिवारलाई जस्तो लाग्छ। यस्ता लुगा नभए म स्कुल नै जान्न भनेपछि बुबाआमाको दाँतमा ढुङ्गा लाग्थ्यो। पैसा दिएर पठाइहाल्नुहुन्थ्यो। अहिले त्यो बाल्यकाल सम्झँदा मन कुँडिन्छ। चाडबाड आयो कि भुइँमा खुट्टा नहुने। ‘शोक न सुर्ता भोक न भकारी’, ‘खायो डकारी हिँड्यो हकारी’ भनेजस्तो आफ्नो हातमा व्यवहार नहुँदाको आनन्द नै अर्को हुँदो रहेछ। माग गरिदिएपछि पुग्ने। जिन्दगीको बाल्यकाल नै रहेछ रमाइलो काल, आनन्दको क्षण। बढ्दै गएपछि, हुर्कंदै गएपछि जिम्मेवारी आइलाग्दा रहेछन्। अनि त जिन्दगी नै दिक्क लाग्ने पो हुँदो रहेछ।
जब हुर्कंदै, बढ्दै, पढ्दै गइयो, व्यवहार बुझ्दै लगेपछि पो थाहा भयो, जीवनका खुट्किलाहरू उक्लन कति कठिन हुँदो रहेछ। जीवन चलाउन कति गाह्रो हुँदो रहेछ भन्ने कुराको ख्याल हुँदै जाँदो रहेछ। जब व्यवहार आफ्नो हातमा आउँछ, सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमाथि आएपछि पो थाहा हुँदो रहेछ, जीवन चलाउन कति गाह्रो रहेछ भन्ने।
परिवार धान्न कति कठिन हुँदो रहेछ भन्ने कुरा त्यतिबेला थाहा हुँदो रहेछ। अझ त्यसमा पनि चाडबाड आएपछि त झन् मनमा विरह नै चल्दो रहेछ। चाडबाड त्यसमा पनि यो दसैंतिहार त नआए पनि हुन्थ्यो जस्तो पो हुँदो रहेछ।
परिवारको गनगन र आर्थिक समस्याले चिमोट्दो रहेछ। भन्न त भन्नुहुन्थ्यो बुबाआमा, त्यस बेला आफू सानो छँदा, उहाँहरूलाई पिरोल्दा अहिले आफूले व्यवहार गर्नुपरेको छैन। यस्तो खाने, यस्तो लगाउनेभन्दा भएको छ। पछि आफूले प¥याउनु परेपछि थाहा हुन्छ।
अहिले सम्झन्छु, बुबाआमालाई चाडबाड, नयाँ लुगा, मिठो मसिनो खाना, रमाइलो गर्ने निहुँमा व्यर्थै कति पिरोलिएछ। बुबाआमाले जस्तो दिनुहुन्थ्यो, त्यस्तै लगाएको, खाएको भए पनि त हुन्थ्यो जस्तो पनि लाग्छ।
अहिले परिवारको खाँचो, छोराछोरीको रहर पूरा गर्दागर्दै आफूले त यो सालको दसैंमा पनि एउटा लुगा फेर्न सकिएन। जहान, परिवार, बालबच्चाको चाहना पूरा गर्दागर्दै खल्ती रित्तिइहाल्ने। आफूले त अर्को दसैंमा भन्यो, चित्त बुझायो, बस्यो।
त्यसैले पो बुबाआमा पहिले आफूलाई दसैंमा लुगा किन्नुहुँदो रहेनछ। निम्न स्तरको परिवारलाई त झन् कस्तो हुँदो हो! ‘नखाऊँ त दिनभरिको सिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’ भनेझैं हुन्छ। छरछिमेक, तल्लाघर, माथ्लाघर, वरपरकाले देख्दा पनि कुरा काट्ने।
हैसियतअनुसार जाऔं न त भन्दा पनि आफैले कोरेको हैसियतको लक्ष्मण रेखा पनि कसोकसो नाघिहालिने। जतिसुकै सतर्क भएर व्यवस्थापन गर्छु भन्दा पनि कहीं न कहीं चुकी हालिने। धेरथोर रिन त लागि नै हाल्ने। दसैं गएपछि सम्झियो। पछुताउनुसिबाय केही हुन्न। यसपालिको दसैं पनि त्यस्तै हुने भयो।
प्रकाशित: ४ कार्तिक २०८० ०२:५० शनिबार