कला

एकादेशमा ९९ शर्ट फिल्म प्रदर्शन हुने

काठमाडौं, कात्तिक २७ –सामाजिक विषयवस्तु समेटिएर तयार भएका छोटा फिल्महरूको महोत्सव ‘एकादेशमा इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’मा यस वर्ष ९९ वटा फिल्महरु प्रदर्शन हुँदैछन् । आगामी कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म हुने पाँचौं संस्करणको यो फेस्टिभलमा २१ वटा नेपालको फिल्म सहित ४३ देशका फिल्म प्रदर्शन हुँदैछन् ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म महोत्सवबारे आयोजकले जानकारी गरायो । ‘सामाजिक विजयवस्तुमा केन्द्रित ३३ शर्ट फिल्ममध्ये विशेष छनौटमा परेका १४ फिल्म नियमित प्रदर्शनसँगै काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायरमा खुला प्रदर्शन पनि गरिनेछ,’आयोजकका अविनाशविक्रम शाहले भने ।
महोत्सवमा ‘परिपक्व परिवर्तन’, ‘सिनेमाको भविष्य’का गरी ३७ सर्ट फिल्म देखाइनेछन् । यस विधाको उत्कृष्ट फिल्मको छनोट भने अभिनेत्री मनिषा कोइराला, पाओलो बेर्टोलिन र मोस्ताफा सार्वर फारोकीको निर्णायक टोलीले गर्नेछ । त्यस्तै ‘सिनेमाको भविष्य’मा १७ फिल्म देखाइनेछन् । अभिनेत्री नम्रता श्रेष्ठ, अबु साहेद इमोन र यज्ञशको निर्माणयकको टोलीले यस विधाको उत्कृष्ट फिल्म छनोट गर्नेछन् ।
अघिल्लो संस्करणमा भुटानका फिल्मलाई प्राथमिकतामा राखेको आयोजकले यसपटक भने बंगलादेशका फिल्मलाई फेस्टिभलमा बहसको विषय बनाउने जानकारी गरायो । फेस्टिभलमा विशेष छनौटमा परेका ११ बंगलादेशी फिल्मलाई तीन सहायक खण्डमा प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाली फिल्ममा महिलाको भूमिका र दक्षिण एसियाली आबद्धता विषयमा अन्तरक्रिया पनि हुनेछ । महोत्सवमा ‘सिल्भर बेङ्लेश’, ‘टेष्ट अफ लभ’, ‘रिटो’ र ‘ए जेन्टल नाइट’ र ‘टाइम कोड’ लगायत शर्ट फिल्म प्रदर्शन गरिनेछन् ।

प्रकाशित: २७ कार्तिक २०७४ १३:०५ सोमबार

एकादेशमा ९९ शर्ट फिल्म प्रदर्शन हुने