कला

गाडोटलाई ‘राइजिङ’ अवार्ड

वासिङटन- वर्षको सबैभन्दा सफल सुपरहिरो फिल्म ‘वन्डर वुमन’की अभिनेत्री गाल गाडोटलाई ‘राइजिङ स्टार अवार्ड’ प्रदान गरिने भएको छ । उनलाई  सो अवार्ड ‘पाम स्प्रिङग्स् इन्टरनेसनल फिल्म फेस्टिभल’ को अवसरमा प्रदान गरिन लागेको हो । फेस्टिभल आउँदो वर्षको जनवरी २ देखि १५ तारिखसम्म अमेरिकाको क्यालीफोर्नियामा आयोजना हुँदैछ ।
महोत्सव निर्देशक हारोल्ड माजनरले विज्ञप्ती जारी गर्दै खबरको पुष्टि गरेका हुन् । ‘ गाडोटको वन्डर वुमनले थुप्रै विशेषता भएको चरित्र बोकेको छ र ती सबै चरित्रमा गाडोटको अभिनयलाई विश्वले नै प्रशंसा गरेको छ । त्यसमाथि फिल्मले महिला मात्र हैन बृद्धदेखि जवानसम्मलाई एकै हिसाबले मानसिक रुपमा बलियो हुन प्रेरित गरेको छ । त्यसैले गाडोट यो अवार्डको हकदार मानिएकी हुन् ,’ माजनरले भनेका छन् ।
प्याटी जेनकिन्सले निर्देशन गरेको फिल्मले आफ्ना नाममा थुप्रै कीर्तिमान सुरक्षित गरेको थियो । फिल्मले  महिलाले मुख्य भूमिकामा अभिनय गरेको मध्ये सर्वाधिक कमाइ गर्ने फिल्मको रुपमा कीर्तिमानी कायम गरेको हो भने कमिकमा आधारित फिल्ममा महिलाले अभिनय गरेको फिल्मको रुपमा पनि पनि यसले कमाउने मामलामा अरु फिल्मलाई पछाडि पारेको थियो । फिल्मले विश्वभरबाट करिब ८करोड २० लाख अमेरिकी रुपैंया कमाइ गरेको छ । यसअघि सो अवार्ड रुथ नेगा,अलिसिया भिकान्डेर, जेनिफर लरेन्स,स्कारलेट जोन्सन। अन्ना केन्ड्रिक र डकोटा फानिङले पाइसकेका छन् ।  
इजरायलकी सुन्दरी गाडोटलाई दर्शकले ‘जस्टिश लिग’मा चाँडै नै देख्न पाउनेछन् । फिल्ममा बेन एफलेक, जासोन मोमोअ, इज्रा मिलर, रे फिसर, ज्याक स्नाइडर आदि कलाकारको अभिनय छ । फिल्म आउँदो शुक्रबार विश्वभर नै रिलिज हुँदैछ ।

प्रकाशित: २६ कार्तिक २०७४ ०५:५४ आइतबार

गाडोटलाई राइजिङ अवार्ड