कला

सहायक प्रजिअ भट्टराईको ‘ठाँटीको घाम’ लाेकार्पण

पछिल्लो पुस्ताका चर्चित साहित्यकार तथा ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईकाे ‘ठाँटीको घाम’ उपन्यास लाेकार्पण भएको छ।

घटस्थापनाका अवसरमा ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, पाथीभारा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेङ्म्बो, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष यूक हां वीर हांगाम लगायतले सो कृतिको लाेकार्पण गरेका थिए। लाेकार्पणकाे अवसरमा उनीहरूले साहित्यकार भट्टराईलाई आगामी दिनमा निरन्तर लेखन जारी राख्न सुझाव दिएका थिए।

ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको यसअघि कवितासङ्ग्रह  ‘साँझमा पारिलो तारा २०६८’ र कथासङ्ग्रह ‘म पनि बग्दैछु साप्सु २०७३’ प्रकाशित छन्।

सामाजिक जनजीवनलाई जीवन्त एवं सटिक रूपमा उतारिएको सो ‘ठाँटीको घाम’ उपन्यासभित्र विभिन्न ५३  खण्डमा अलगअलग विषयवस्तु सरल र सहज भाषामा समेटिएका छन्। उपन्यास २४५ पृष्ठको रहेकाे छ।

उपन्यासकार भट्टराईले भने, ‘उपन्यासका कथावस्तु र पात्र मेरै गाउँघर वरिपरिका हुन्। केही मेरो बुबाको साथी समेत उपन्यासका वस्तुमा पात्रका रूपमा उभिएका छन्। गाउँघरमा भएको सामाजिक यथार्थ परिवेश र समस्या केन्द्रमा राखेर उपन्यासको भावभूमि उनिएका छन्।’

सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कमल भट्टराईले भने,‘यस उपन्यासले समाजमा धेरै कुरा सिकाएको छ। उपन्यास मदन पुरस्कार प्राप्तिका लागि दाबी गर्न योग्य छ। म एकपटक आम पाठकले उपन्यासलाई अध्ययन गर्न आग्रह गर्दछु।’

साहित्यकार तथा उपप्राध्यापक शान्तिराम नेपालले ‘ठाँटीको घाम’ उपन्यासले नेपाली समाजलाई नयाँ ढङ्गबाट व्याख्या, विश्लेषण गरेको जनाउँदै नेपाली उपन्यासमा यसले नयाँ आयाम थपेको बताए।

उनले भने, ‘गालामा हात राखेर उपन्यासका कथा बगे जस्तै कोही कसैको मन उपन्यास पढ्दा बगिरहेको प्रस्ट नै अनुमान लगाउन सकिन्थ्यो। उपन्यासमा प्रस्तुत भएको विषयवस्तु, पात्रको चरित्रबारे प्रस्तुत गर्दा प्रायः सबैले एकपटक आफ्नो बाल्यकालमा विद्यालय गएको सम्झना आइरहन्थ्यो।’

नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले उपन्यासकाे समीक्षा गर्दै भने, ‘म दुई दशकदेखि पत्रकारिता गर्दै छु। मैले कलम चलाउनुभन्दा अघि त्यो कलम र त्यसको मसीले कसैमाथि अन्याय गरिहेको छ कि भनेर सोच्न यो किताबमा लेखिएको हरफले सिकाएको छ। उपन्यासले पत्रकारले कलम चलाउनुअघि प्रयोग गरिने भाषा र  विषयबारे सोच्न सन्देश दिएको छ।’

उपन्यासमा रहेका विषयवस्तु हाम्रै छरछिमेक गाउँघरको यर्थाथका घटनालाई सिलसिलाबद्ध तरीकाले उठान गरेका उनले बताए। ‘मैले किताबका पाना पल्टाउँदै गर्दा सोचेको पनि थिइन, एकजना राष्ट्रसेवक कर्मचारीले कोही किन अनियमिततामा लुप्त हुन्छ, उसले त्यसरी कमाएको पैसा केमा खर्च गर्छ भन्ने कथामा समेटेको छ।’

पत्रकार गौतमले भने, ‘यो उपन्यासले नेतालाई उच्च सम्मान दिएको छ। लक्ष्य र योजना भएको सक्षम नेतृत्वले समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने देखाएको छ। समुदायमा भोट माग्नुअघि देखाउनुपर्ने चरित्र, समुदायले गर्ने मूल्याङ्कनका विषयमा प्रष्ट्याइएको छ। नेतृत्व समाजप्रति उत्तरदायी भए भोट माग्नु जानु पर्दैन जनताले आफैं नेतृत्व खोजेर आउँछन् भन्ने सन्देश दिएको छ।’ 

प्रकाशित: २९ आश्विन २०८० ०५:४४ सोमबार

अक्षर