कला

आस्था आभा प्रकट

कविता

हाक्काहाक्की भन न कुन छौ प्रेम उद्घोष गर्ने

सच्चा बच्चा सरह कविको पालनापोष भर्ने

नातिमा झैं असल सजिलो स्नेह सञ्चार गर्दै

स्वामी मान्ने शुभ भगवती नव्य संस्कार भर्दै।१।

दाता कोछौ अलमलबिना द्रव्य ठेल्ने मलाई,

राखी श्रद्धा अटुट सुखमा भव्य रेल्ने चलाई

आँखा जुध्दा मणिमय प्रभा प्रेम जम्मै उतार्ने

आस्था आभा प्रकटित गरी आँकुरा छौ उमार्ने।२।

डाकी साथी वरपर लिई जिस्किने को प्रतापी

इन्कारी यो सब किसिमको भावना तुच्छ पापी

साथी चोखी फरफर कतै पल्लवी छन् मुनामा

श्रद्धा चासो विधिवत दिने प्रेम छन् पाहुनामा।३।

एक्ली पर्दा विरह टुहुरी कष्टमा छन् निराली

आस्था आभा प्रकट छ भने हुन्न बाटो भिराली

रोज्छन् स्रष्टा अमर प्रणयी जिन्दगी होस् जवानी

देखें लेखेँ कुसुमित सफा सान पक्का भवानी।४।

एक्लो आत्मा विचरण गरोस् सभ्यता वारपार

रोज्छिन् श्रष्टा अजर गरिमा मान्यता बारबार

खोज्छिन् रोज्छिन् अचम कविता प्रार्थना वर्तमान

भ्रष्टाचारी सब किसिमका पार्दछिन् थर्कमान।५।

-चन्द्रमणि अधिकारी  

प्रकाशित: २८ आश्विन २०८० ०७:५५ आइतबार

अक्षर