कला

दौंतरी शृङ्खलामा दीपक समीप र जीवन सागर

नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा दौंतरी कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न भएको छ।

संस्थाका महासचिव सञ्जीव पौडेलले संस्थाको इतिहास, दौंतरी कार्यक्रमको विशेषता र दौंतरी शृङ्खलामा उभिंदै गरेका स्रष्टाहरू दीपक समीप र जीवन सागर भण्डारीको छोटो परिचयसँगै कार्यक्रम थालेका थिए।

त्यसलगत्तै उनले शृङ्खलाका दौंतरी सर्जक दीपक समीप र जीवनसागरलाई मञ्चमा बोलाए। उनीहरूलाई मञ्चमा खादा लगाएर स्वागत गरे साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले। कार्यक्रम सञ्चालक पौडेलले सहजकर्ताका रूपमा डा. ईश्वरमणि अधिकारीलाई मञ्चको जिम्मा लगाएसँगै अधिकारीले दौंतरी कार्यक्रमको मेलो अघि बढाए।

अधिकारीले दीपक समीप र जीवन सागर भण्डारीका एकएक वटा मुक्तक वाचन गरेर कार्यक्रम सुरु गरे। चालीसको दशकको अन्तिमतिरबाट छापा माध्यममा मुक्तक लेखनबाट उदाएका साहित्यकार दीपक समीपर पचासको दशकसँगै साहित्य लेखनमा लागेका जीवन सागर भण्डारीका सिर्जना लेखन र मित्रताका आयामलाई अधिकारीले एकपछि अर्को गर्दै कोट्याउँदै गए।

मुक्तक र गफगाफ सँगसँगै अगाडि बढाइएको कार्यक्रममा स्रष्टाद्वय समीप र भण्डारीले तीनतीन मुक्तक वाचन गर्दै बिचबिचमा विविध सन्दर्भ प्रस्तुत गरेका थिए। रोचक सन्दर्भ र प्रभावशाली मुक्तकको समन्वयले कार्यक्रम निकै राेचक भएको थियो।

लमजुङमा जन्मेर पोखरामा आएका समीप र कास्की जिल्लामै जन्मेर साहित्य साधनामा लागिरहेका भण्डारी पोखराका साहित्यिक गतिविधिमा निरन्तर सक्रिय र स्थापित सर्जक हुन्। साथमा मित्रता भित्रका विविध सन्दर्भ ठट्यौली पाराले राख्दै कार्यक्रमको माहौललाई रमाइलो तुल्याएका थिए।

डा. अधिकारीले बिचबिचमा अन्तर्सम्बन्धका केही गुह्य पक्ष कोट्याउँदै थिए। हलमा दर्शकहरू चाख मानीमानी यी सबै कुरा सुनिरहेको देखिन्थ्यो। गफगाफले रमाइलो बनाएको माहौललाई मुक्तक वाचन गर्दा निकै गम्भीर पनि तुल्याउँथे समीप र भण्डारी। उनीहरूले देशभक्ति, राजनीति, सामाजिक विकृति, भ्रष्टाचार, माया प्रेम, समसामयिक सन्दर्भ एवम् शृङ्गारिक विषयका पन्ध्र पन्ध्र मुक्तक वाचन गरेका थिए।

पूरै एक घण्टासम्म दुई जना मित्रका सिर्जना र अनुभव सुनेपछि फेरि मञ्चमा देखापरे कार्यक्रमका सञ्चालक पौडेल। उनले सल्लाहकार विश्व सिग्देल र नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठमार्फत दौंतरी सर्जक एवं कार्यक्रमका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरे।

संस्थाले गत चैत्रमा आयोजना गरेको दौंतरी कार्यक्रमको शुभारम्भ शृङ्खलामा साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठलाई मञ्चमा उभ्याएर उनीहरूका सिर्जना तथा जीवनका अनुभव सुनाएका थिए।

दोस्रो शृङ्खलामा दोस्रो पुस्ताका सर्जकहरू दीपक समीप र जीवन सागरलाई उभ्याएको संस्थाले आगामी शृङ्खलामा त्यसभन्दा पछिल्लो पुस्तामा क्रियाशील कविहरू अल्पज्ञानी र सञ्जीव पौडेललाई उभ्याउने घोषणा संस्थाले गरेको छ।

कार्यक्रमका स्रष्टा दीपक समीपले सञ्जीव पौडेललाई र जीवन सागर भण्डारीले अल्पज्ञानीलाई खादा लगाएर शृङ्खला हस्तान्तरण गरे। यस सँगसँगै कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिंदै संस्थाका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कार्यक्रमको समापन गरे।  

प्रकाशित: २८ आश्विन २०८० ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App