कला

‘यौटा सपनाको अवसान’ सार्वजनिक

आर्थर मिलरद्वारा लिखित ‘डेथ अफ अ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ वी रिडले सार्वजनिक गरेको छ। कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, डिजाइनर देव न्यौपाने, नाटककै कलाकारहरू दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरल प्रताप अधिकारीले प्रस्तुत नाट्य पुस्तक विमोचन गरेका हुन्।

नाटक ‘यौटा सपनाको अवसान’ २०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएका थियो। मण्डलामा ३३ दिनसम्म चलेको नाटकको ३६ वटा सो मञ्चन गरिएको वी रिडले जनाएको छ।

विमोचन कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीकले कैयौं सो मञ्चन भएको नाटक पुस्तकाकार स्वरूपमा बजारमा आउनु खुसीको कुरा भएको बताए। नाटक मञ्चन हुँदासम्म यसको लिखित पुस्तक बजारमा ल्याइने तय नभएको उनको भनाइ थियो। नाटकमा अभिनयका लागि आफूलाई भूमिका दिइए पनि कार्यव्यस्तताका कारण अभिनय गर्न नसकेको उनले सुनाए।

निर्देशक अनुप बरालले स्क्रिप्ट लेख्दा र मञ्चन हुँदा नाटकले छुट्टाछुट्टै रूप लिने हुँदा नाटकको जन्म दुई पटक हुने बताए। ‘कुनै किताब पढिसकेपछि अँध्यारो कुनामा छोड्न र फर्केर हेर्न मन लाग्दैन,’ उनले भने, ‘तर डेथ अफ अ सेल्सम्यान किताब सिरानीमा राख्न मन लाग्यो र त्यसकै नाटक मञ्चन गर्नुपर्छ भन्ने लाग्यो।’

नाटकमा लीला चरित्र निभाएकी कलाकार दिया मास्केले साइकोलोजिकल्ली लीलाको भूमिका निभाउन गाह्रो भएको सुनाइन्। घर चलाउने, हरेक सम्बन्धलाई जोड्ने भूमिकामा लीला रहेकाले मैले आफ्नी आमा, दिदी, भाउजू लगायतलाई हेरेर भूमिका निर्वाह गरेको उनको भनाइ थियो। नेपालमा नाटक व्यवसायिक भइनसकेको भन्दै निर्देशक गोविन्द पराजुलीले व्यावसायिक वातावरण बनाउनकै लागि नाटक निर्देशन सुरु गरिएको बताए। 

प्रकाशित: २७ आश्विन २०८० ०५:२५ शनिबार

अक्षर