कला

‘सिनेमामा कलालाई उच्च महत्व दियौं’

सिनेमा संवाद

नेपालमा बनेको पहिलो सिनेमा मानिने ‘आमा’का लेखक, सहायक निर्देशक तथा कलाकार दुर्गाप्रसाद श्रेष्ठ २०८० को शरद्मा ८४ वर्षको वयमा छन्। ‘योगीको आत्मकथा’ नेपालीमा अनुवाद गरेका उनी अहिले विशालकाय ग्रन्थ ‘हिमवत्खण्ड’लाई संस्कृत/नेपालीबाट हिन्दीमा रूपान्तरण गर्न खटिएका छन्। दुर्गाप्रसादका कथा, उपन्यास, यात्रा पुस्तक समेत प्रकाशित छन्। आफ्ना पिता काशीबहादुर श्रेष्ठले भारतको वाराणसीबाट १९९३ देखि प्रकाशन सुरु गरेको ‘उदय’लाई २०८० वैशाखसम्म हिँडाए उनले। दुई वर्षपहिले मदन पुरस्कार गुठीले उनलाई जगदम्बाश्री सम्मान प्रदान गरेको थियो। जहाँ लेखिएको थियो, ‘नेपालको चलचित्र इतिहासको प्रारम्भिक कालमा उल्लेखनीय भूमिका निर्वाह गरेका तथा भारतमा नेपालको पुरानो बनारस–विरासत जोगाउन कार्यरत, अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्यसेवामा तल्लीन रहेर नेपाली साहित्यिक पत्रिका ‘उदय’को आठ दशकदेखिको प्रकाशनलाई निरन्तरता दिएका सर्जक ।’ कोभिडकालपछि बनारस छाडेर काठमाडौं सरेका उनलाई लेखक इन्द्रबहादुर राईले ‘नेपाल र भारतका कला–सेतु’ भनेका थिए। उनै दुर्गाप्रसादसँग विमल आचार्यले गरेको संवाद:

यहाँका परिचय अनेक छन् तर हामी यो वार्तामा सिनेमाको मात्र कुरा गर्नेछौं। तपाईं ‘आमा’की आमा हुनुभयो, कसरी जोडिनुभयो?

म बनारसमा हिन्दी साहित्यमा एमए पढ्दापढ्दै काठमाडौं आएको थिएँ। मैले बनारसमा पढाएकी चेलीको बिहा यता हुँदै थियो। मेरी चेलीको विवाह डा. हेमाङ्ग दीक्षितसँग हुन लागेको थियो।

संयोगले नारायणप्रसाद बाँस्कोटासँग भेट भयो। उहाँ २०१७ सालको राजनीतिक परिवर्तनपछि प्रचार विभाग (पछि सूचना विभाग) को निर्देशक नियुक्त हुनुभएको थियो। उहाँले मेरो कविता पहिल्यै आफूले सम्पादन गर्ने पत्रिका ‘प्रगति’मा छापिसक्नुभएको थियो। उहाँले मलाई पञ्चायतसम्बन्धी सामग्री लेखाइरहनुहुन्थ्यो। त्यसबेला पञ्चायत मन्त्रालयअन्तर्गत प्रचार तथा प्रसार विभाग (रेडियो नेपाल) थियो। त्यहाँ राजपत्राङ्कित तहको विज्ञापन गरिएको थियो। उम्मेदवारहरूले पञ्चायतसम्बन्धी लेख लेख्नुपर्थ्याे। सचिव कुलशेखर शर्माले मेरो लेख पढेर अन्तर्वार्ता लिनुभयो। करिब दुई सय जनाबाट मलाई छान्नुभयो। यसैबिच मेरा बुबा काशीबहादुर श्रेष्ठ (‘उदय’ पत्रिकाका संस्थापक सम्पादक)लाई राजा महेन्द्रमार्फत काठमाडौं डाकियो, ‘गोरखापत्र’को सम्पादक नियुक्त गर्न। तर उहाँले अस्वीकार गरिदिनुभयो। बरू ‘उदय’का लागि विज्ञापन माग्नुभयो। त्यति बेला राजाले दिएको १२ सय रूपैयाँको सहयोगले मेरो कथासङ्ग्रह ‘सम्झनाको बादल’ छापियो।

म प्रचार विभागमा काम गर्दै गर्दा सिनेमा बनाउने कुरा उठ्यो। चलचित्र क्षेत्रमा काम गरिरहेका नेपालीभाषी हिरासिंह खत्रीलाई बम्बईबाट बोलाइयो। भारतमा राजाको राजकीय भ्रमणका क्रममा उनीसित भेट हुँदा ‘नेपालमा काम गर्छाै’ भनी सोध्दा ‘मौका पाए गर्छु’ भन्ने जवाफ दिएका रहेछन्। उनी नेपाल आए।

हिरासिंह नेपाल आएपछि कसरी काम सुरु भयो?

उनी काठमाडौं आएपछि नारायणप्रसाद बाँस्कोटासहित लाजिम्पाटको इम्पिरियल होटलमा छलफल सुरु भयो। चलचित्रको कथा, डायलग मैले लेख्ने सल्लाह भयो। कलाकार र गीतकार सांस्कृतिक संस्थान, रेडियो नेपालबाट छान्ने क्रम सुरु भयो। क्यामेराम्यानका रूपमा कोलकाताबाट गुजराती देवजी भाइलाई बोलाइयो।

सांस्कृतिक संस्थानबाट भुवन थापा, चैत्यदेवी, विमलादेवी, वसुन्धरा भुसाल अनि रेडियो नेपालबाट शिवशङ्कर मानन्धर, तारादेवी, नारायणगोपाल आदिलाई छनोट गरियो। हरिप्रसाद रिमाल, इन्द्रलाल (तबला वादक), उत्तम नेपाली, भैरवबहादुर थापा (भुवन थापाका पिता) पनि टिममा जोडिने कुरा भयो।

देवजी भाइबाट सबैको स्क्रिन टेस्ट (फोटो खिच्दा राम्रो आउने/नआउने यकिन गर्नु) गरियो। सबैभन्दा पहिले गीत रेकर्डिङको काम भयो। ‘पञ्चै हो यो देश बनाइदेऊ’ गीत लक्ष्मण लोहनीले लेखेर दिएपछि राजाबाट स्वीकृति पाएर यसैलाई ‘टाइटल सङ’ बनाइयो। चैत्यदेवीलाई नेपाल आमाका रूपमा चित्रित गरियो।

‘आमा’ पञ्चायती राजनीति बुझाउने प्रोपगान्डाअनुरूप बनेको सिनेमा हो कि होइन?

राजाको चाहना र सरकारको खर्चमा बनेको हुँदा सरकारी चाहनाअनुरूप नै बनेको हो। निर्देशक र मेरो सल्लाह ‘पञ्चायत’ शब्द उच्चारण नगरीकनै सिनेमा बनाउने भन्ने थियो। मैले लेखेको डायलगमा ‘पञ्चायत’ छैन पनि। तर कताबाट हो, ‘पञ्चै हो यो देश बनाइदेऊ’ गीत सिनेमामा पर्न गयो। यही गीतमा मात्र ‘पञ्च’ शब्द छ। राजनीति आफ्नो ठाउँमा छ। तर हामीले सिनेमामा कलालाई उच्च महत्व दियौं।

स्क्रिप्ट कसरी लेख्नुभयो?

कथा त पहिल्यै छलफल भएको थियो। तर स्क्रिप्ट भने पहिल्यै सबै लेखिएको होइन। सम्पूर्ण कथाको खाका तयार भएपछि हरेक दिन सुटिङको योजना र डायलगहरूबारे एक दिन पहिले हिरासिंह बसेको होटलमा बसेर तयार गरिन्थ्यो।

त्यस कालखण्डका सिनेमा बलिउडको नक्कल गरेर लेखिन्थे भनिन्छ, तपाईंले कसरी लेख्नुभयो?

‘आमा’पछि बन्ने सिनेमा कसरी लेखिए, मलाई थाहा छैन। मैले धेरै नेपाली फिल्म नहेरेको हुँदा यस्तै थिए भन्न सक्दिनँ। तर ‘आमा’को कुरा गर्दा डायलग मैले नै लेखेको हुँ। म बनारसमा जन्मे–हुर्केको हुँदा मेरो नेपाली भाषामा हिन्दी प्रभाव कतै थिएन, म भन्न सक्दिनँ। निर्देशकदेखि प्राविधिक सबैजसो भारतकै भएको हुँदा पूर्ण नेपालीपन थिएन पनि होला। तर भाषा, कला, विद्या, शिक्षा, साहित्य, सिनेमालाई म कुनै देशभित्र कैद गर्नुपर्छ, पूर्ण मौलिक भन्ने मान्यतामा कठोर छैन।

निर्देशक हिरासिंहलाई नेपाली बोल्न आए पनि नेपाली लेख्न भने धेरै गाह्रो हुन्थ्यो। उहाँसितको सल्लाहमा मैले डायलग लेख्थें। सुटिङ सुरु हुनुअघि तत्तत् दिनका लागि संवाद लेखिन्थ्यो।

सुटिङ कसरी सुरु भयो?

कोलकातामा गीत रेकर्डिङपछि फिल्मको पहिलो सुटिङ रक्सौलबाट सुरु भयो। लाहुरे बनेका शिवशङ्कर भारतीय सिमाना पार गरेर नेपाली रेल (वीरगन्ज–अमलेखगन्ज) चढ्छन्। उनको सहयात्री म (दुर्गाप्रसाद) सँग कुरा गर्न थाल्छन्। मेरो यत्ति नै अभिनय हो, सिनेमामा। यो रोल मेरो भन्ने पनि मलाई थाहा थिएन। निर्देशकले हिरो कहाँ एक्लै चढ्छ त, जाऊ साथी बन भनेपछि म उनको साथी बनें। आफैले लेखेका डायलग बोल्न नि गाह्रो हुँदो रहेछ। बोल्न भन्दा लेख्न सजिलो।

नेपालमा कहाँ सुटिङ गर्नुभयो?

रेलयात्रापछि सबै सुटिङ ककनीमा भयो। १५ दिन जति ककनीको मनोरम प्राकृतिक वातावरण र गाउँले परिवेशमा हामी रमाएका थियौं। हामीलाई ककनी जाने–आउने र खाने–बस्ने व्यवस्था सेनाले गरेको थियो। राजाका मुख्य पाश्र्ववर्ती जर्नेल शेरबहादुर मल्ल हिरासिंहका देहरादुनका साथी रहेछन्। त्यसैले सुटिङका क्रममा हिरासिंहले चाहेको तुरुन्तै पूरा हुन्थ्यो। ककनीको सुटिङ सकिएपछि हामी कोलकाता हिँड्यौं, सुटिङका लागि।

कोलकातामा केके भयो? सुटिङको रमाइलो के के सम्झिनुहुन्छ?

सिनेमामा उत्तम नेपाली जमिनदार बनेका थिए। एक दिन भैरवबहादुर थापाले उत्तमको खोपीमा आएर गाली सिन फिल्माउनु थियो। भैरवबहादुर थापाले राम्रो नबोलिदिँदा कैयौं पटक रिटेक गर्नुपर्‍यो। सुटिङ गर्दा स्टार्ट साउन्ड भनेपछि क्यामेरा र ध्वनियन्त्र चालु हुन्थ्यो। ठिक भए ओके र ठिक नभए रिटेक गरिन्थ्यो।

सुटिङ हुनुभन्दा अगाडि ‘क्ल्याप’ गर्नुपर्थ्याे। अर्थात् सिलोटजस्तो बोर्डमा सिन नम्बर र टेक नम्बर अर्थात् खिचेको सङ्ख्या अङ्कित गरिन्थ्यो। त्यो किन गरिन्थ्यो भने एडिटरले एडिटिङ टेबुलमा फिल्म जोडेर सटअनुसार दृश्यावली शृङ्खलाबद्ध गर्नुपथ्र्याे। मलाई त्यो ‘क्ल्याप कार्य’ फिल्म सुटिङको महत्वपूर्ण कडी लाग्यो। नभए त एडिटरले कसरी फिल्मलाई अन्तिम रूप दिन सक्ने?  

फिल्म एडिटर को थिए?

एडिटर पनि बम्बईका हरिश पठारे नामक मराठी टेक्निसियन थिए। त्यसैले एडिटिङ गर्दा मलाई पनि उनीसँगै बस्नुपथ्र्यो।

फिल्मको प्राविधिक टिम कस्तो थियो?

‘आमा’मा मेकअप म्यान बङ्गाली थिए। फिल्मका सङ्गीत निर्देशक कोलकाताका भी बलसारा थिए। उनको ‘बोल राधा बोल’ गीत अहिले पनि म युट्युबमा हेर्ने गर्छु। ‘आमा’को टिममा काम गर्नेहरू बहुभाषी थिए।

निर्देशक र कलाकारबिच कस्तो सम्बन्ध थियो?

सम्पूर्ण सुटिङ हुन्जेल सबै कलाकारलाई एउटै गेस्ट हाउसमा राखिएको थियो। पूर्ण शाकाहारी गुजराती गेस्ट हाउसमा हामी बस्थ्यौं। न माछा, न मासु, न अन्डा, न रक्सी। यसप्रकार पूर्ण अनुशिष्ट थियौं हामी। एक दिन स्टुडियो बन्द हुँदा म भुवन थापा, वसुन्धरा भुसाल आदि कलाकारहरूलाई लिएर सिनेमा हेर्न गएँ। हिरासिंहले थाहा पाएर भोलिपल्ट मलाई झपारे। ‘कामका लागि आएको कि मोज गर्न’ भनेर सोधे। म निरुत्तर बसिरहें। फिल्म बनाइरहिएको छ। तर फुर्सदमा फिल्म हेर्दा झपारी मागिएको छ। त्यो त्यस्तै कडा अनुशासनको समय थियो।

अरू केही अविस्मरणीय पल सम्झिनुहुन्छ?

हाम्रो इन्डोर सुटिङ भइरहेको स्टुडियोमा बङ्गाली र उडिया फिल्मको सुटिङ पनि भइरहेको थियो। ती फिल्मका कलाकारले एक से एक राम्रा रङ्गीचङ्गी कस्ट्युम लगाएका थिए। हाम्रा कलाकार भुवन थापा, विमला श्रेष्ठ भने सधैं दुई जोर लुगामा मात्र देखिन्थे। ग्रामीण परिवेश देखाउनुथियो, हामीलाई।

अनि एक दिन हिरासिंहले हामीलाई उडिया फिल्मको सुटिङ देखाउन लगे। त्यहाँ फिल्म प्रोड्युसर अर्थात् सिनेमाको समस्त खर्च बेहोर्ने मानिस चौकीमा लामो सिरानीमा अडेस लगाएर पान खाइरहेथे। एउटा सटमा हिरोले १०/१२ पटक रिटेक गर्नुपर्‍यो। अनि प्रोड्युसरले उठेर आफ्नो हिरोलाई ‘गधा कहींका’ भन्यो। त्यो देखेर हामी सबैको चित्त बुझ्यो। ती कलाकारका जस्ता राम्रो लुगा नभए पनि त्यस्तो गाली खान हाम्रो टिमले परेको थिएन।

पूरै शाकाहारी, सात्विक भोजनमा रहनुभयो, टिक्नुभयो?

सुटिङका दौरान हामी पूरापूर शाकाहारी गुजराती गेस्ट हाउसमा बस्थ्यौं। रक्सीको के कुरा, माछा, मासु, अन्डा पनि हुँदैनथ्यो। मलाई भने तलतल लागिहाल्ने। बेलुका म कहिलेकाहीं हरिप्रसाद रिमाललाई लिएर नजिकको होटलमा गएर एकदुई घुट्को रक्सी खाएर आउँथें। म अरू कसैलाई लग्दिनथें।

सिनेमाको गीत–सङ्गीतबारे कुनै यादगार पल छ?

‘आमा’ फिल्मको सम्झना हुँदा मलाई अर्काे घटना खुब झलझली याद आउँछ। राजा महेन्द्र नेपालगन्ज सवारी हुँदा त्यहाँ प्रेमप्रकाश मल्ल नामक गायकले राजाको स्वागतमा गीत गाएका रहेछन्। उनको मिठो स्वरले प्रभावित भएर राजाले ‘प्रेमप्रकाशलाई सिनेमामा नि उपयोग गर्नू’ भनेर हुकुम भएपछि उनी पनि कोलकाता आएका थिए। दुर्भाग्य, ज्वरो आएर बिरामी परेपछि उनले आफ्नो प्रतिभा देखाउनै पाएनन्। सात दिनपछि घर फर्के बिचरा!

गीतकै कुरा गर्दा कोलकातामा मैले नारायण गोपाललाई ‘तपाईंको स्वर त मोहम्मद रफीका जस्तो गज्जबको छ’ भनें। उहाँ रिसाउनुभयो र भन्नुभयो, ‘मेरो स्वर कसैको जस्तो छैन, नारायण गोपालका जस्तो छ।’

‘आमा’ कति पैसामा बन्यो, स्रोत कसरी जुट्यो?

आमा पूरा सरकारको लगानीमा बन्यो। सरकारको कति पैसा खर्च भयो, ठ्याक्कै थाहा छैन मलाई।

सिनेमाको पहिलो प्रर्दशन कहाँ भयो?

पहिलो प्रदर्शन काठमाडौंको ‘जय नेपाल’ हलमा भयो। राजा महेन्द्र र राजपरिवारसँग हाम्रो टिमले सँगै बसेर सिनेमा हेर्‍यौं। साँझपखको बेला थियो। हामी सबै रामाञ्चित थियौं। मैले पहिलो र अन्तिम पटक ‘आमा’ पूरा हेरेको जय नेपालमै हो।

पछि अमेरिका बस्ने मेरी नातिनीले युट्युबमा देखेर ‘आमा’ सिनेमा मेरो कम्प्युटरमा पठाइदिई। ६० वर्षअघिको आफैलाई पर्दामा देखेर छक्क लाग्यो, आश्चर्य पनि लाग्यो।

सिनेमा कहाँ कहाँ चल्यो? नेपालबाहिर पनि चल्यो?

‘आमा’ काठमाडौं उपत्यकाबाहेक वीरगन्ज, विराटनगरमा पनि चल्यो। पछि भारतमा सिलिगुडी, दाजिर्लिङ र बनारसमा पनि प्रदर्शित भयो। बनारसमा सिनेमा तीन दिन हाउसफुल चल्यो भन्ने सुनेको हुँ।

सिनेमाले कति पैसा कमायो? तपाईंहरूले के कति पारिश्रमिक पाउनुभयो?

सिनेमाले कति पैसा कमायो भन्ने त मलाई थाहा छैन। तर हामीले भने धेरै कमायौं। पहिलो त नाम कमायौं अनि दाम पनि धेरै कमायौं। हामी वास्तवमा सेलिबे्रटी भएर कोलकाता सुटिङमा गएका थिएनौं।

एउटा मजदुरको हैसियतमा दिनको सय रूपैयाँ आइसी भत्ता पाउन गएका थियौं। भत्ताको हाम्रो सबै पैसा बच्थ्यो किनभने हाम्रो खाने–बस्ने सबै खर्च हिरासिंहजीकै जिम्मा थियो। एक महिना बस्दा आइसी तीन हजार पाउनु धेरै ठुलो कुरा थियो। हिरासिंहले र अरू टेक्निसियनले दैनिक कति पाए, मलाई थाहा भएन। पछि समदर्शी राजा महेन्द्रबाट ‘आमा’मा काम गर्ने सबैलाई बराबर दुई–दुई हजार नगद पुरस्कार दिनू भन्ने हुकुम भयो र पायौं पनि।

‘आमा’को प्रतिक्रिया र समीक्षा पनि आयो, थाहा पाउनुभयो?

समीक्षा छापिएजस्तो लाग्दैन। राजाले पनि हेरेपछि ‘गोरखापत्र’मा समाचार आयो। वसुन्धरा धेरै पपुुलर भइन्। ‘ए रातै, मन परेन’ भन्ने उनको डायलग हिट भयो। ठिटाहरूले वसुन्धरालाई देख्नेबित्तिकै ‘ए रातै’ भन्न थाले।

‘आमा’का तीन भूमिकामध्ये केमा बढी सन्तोष लाग्यो?

लेख्नमा सबैभन्दा मज्जा। दोस्रोमा सहायक निर्देशन। तेस्रोमा अभिनय। अभिनय पाँच मिनेटको मात्र थियो तर यही गाह्रो थियो।

‘आमा’पछि धेरै सिनेमामा किन काम गर्नुभएन?

‘हिजो आज भोलि’मा पनि काम गरें। राजा महेन्द्रको निधनपछि नियुक्ति पाएका हामी सबैको पजनी भयो। नारायण बाँस्कोटा आफ्नो गाउँ बर्दिया गए। मेरा बुबा एक वर्षसम्म थला पर्नुभएको थियो, बनारसमा। अनि मैले राजीनामा गरें र बनारसमै तीन ठाउँमा काम गरेर आफ्नो जीविका चलाएँ।

तपाईं नेपालमा बनेको ऐतिहासिक फिल्ममा जोडिनुभयो, कस्तो लाग्छ?

त्यतिबेला केही लागेको थिएन। ऐतिहासिक हो भन्ने पनि लागेको थिएन। सेलिब्रेटी भन्ने त छँदै थिएन। अहिले चाहिँ गर्व लाग्छ। जगदम्बाश्री सम्मान तथा पछि सिनेमाकै लागि युवराज दीपेन्द्रबाट सम्मान पाउँदा खुसी लाग्यो। ‘ए यस्तो पनि गरिएको रैछ’ भन्ने भयो।

तपाईंले पहिलोपल्ट कहाँ कुन सिनेमा हेर्नुभएको थियो?

म १०/११ वर्षको हुँदा पहिलो पटक आमासँग हिन्दी सिनेमा ‘रामायण’ हेरेको थिएँ, बनारसमा। त्यसको एउटा गीत ‘भारत की एक सन्नारी की कथा सुनाले है’ अझै मेरो कानमा गुन्जिन्छ। म त्यो सुनेर रोएको थिएँ भन्नुभएको थियो आमाले। मैले पहिलो सिनेमा आमासित हेरें र पछि ‘आमा’ नै सिनेमामा जोडिन पाएँ।

त्यो पुरानो वाराणसी, यो नयाँ बनारस अब कस्तो लाग्छ?

वाराणसीको पुरानो रूप अब छैन। अब त आधुनिक सहर बनाउने चक्करमा बनारसको मौलिकता खत्तम छ। म काठमाडौंको मौलिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक, शान्त र व्यवस्थित स्वरूप पनि सकिँदै गएको पाइरहेको छु। अशान्ति, प्रदूषण, भिडभाड, फोहोर नदीनाला, यत्रतत्र फोहोर, ट्राफिक जाम, अग्लाअग्ला महल, कङ्क्रिटको भूमि, शुद्ध हावापानीको अभाव नै सहर हो भन्ने धेरैलाई परेको छ। यो गलत हो। 

प्रकाशित: २७ आश्विन २०८० ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App