नाटक कार्यमूलक कथामा निर्भर हुन्छ। यसले दर्शकलाई मनोरञ्जनका साथै अनि रचनात्मक विचार प्रदान गर्छ। रङ्गमञ्च वास्तविक कला हो, जसले समाजलाई समसामयिक मानवीय समस्याहरूको स्पष्ट विचार प्रदान गर्ने काम गर्छ।
यस्तै विषयलाई विश्वविद्यालयको आगनमा फर्काउने कोसिस गरेको छ ‘कालो अक्षर, रातो अक्षर’ नाटकले। अनेरास्ववियुको आयोजनामा शिल्पी थिएटर, गोठाले नाटकघरमा प्रदर्शित यो नाटकले राजनीतिक परिदृश्यलाई प्रस्तुत गर्दै शैक्षिक माफियाहरूको जगजगीमा भएको नेताहरूको राजनीतिक अवसानलाई देखाएको छ।
खासगरी नाटकका तत्त्वहरू जस्तैः कथावस्तु, चरित्रचित्रण, संवाद, परिवेश, भाषाशैली, द्वन्द्व, अभिनय, रङ्गशिल्प र उद्देश्यले नाटकलाई जीवन्त बनाउन अपरिहार्य भूमिका खेलेका हुन्छन् भन्ने कुरालाई परिकल्पनाकार, लेखक र निर्देशकले राम्रोसँग बुझेका छन् भन्ने कुरा नाटक हेरेपछि थाहा हुन्छ। नाटकमा व्यवस्था बदलिएको तर अवस्था नबदलिएको नेपाली समाजको यथार्थलाई देखाएको छ। व्यवस्था बदलिएसँगै केही मुट्ठीभर व्यक्तिलाई लाभ पुगेको कथा नाटकमा छ।
नाटकका नायक धीरोदात्त, धीरललित र धीरप्रशान्त रङ्गमञ्चको पहिलो दृश्यमै ‘अहिलेको मुख्य समस्या भनेको शिक्षाको वर्गीकरण हो, यो जन्जिर नतोडुन्जेल केही हुन्न’ भन्दै कसिलो मुट्ठी उठाएर प्रस्तुुति दिएका छन्।
निजी शैक्षिक संस्थाहरू विद्यार्थी निर्यात गर्ने कम्पनीका रूपमा खडा भएका र सरकारी संस्थाहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोका रूपमा विकास भएको तथ्यलाई नाटकले उजागर गरेको छ।
आन्दोलनको मोर्चामा रहेका विद्यार्थीहरू संगीत र अंकिता मात्रै होइन, रङ्गमञ्चको पहिलो दृश्यमै सकारात्मक तर ठट्यौली पाराको भूमिकामा देखिएको राजको अभिव्यक्तिले अहिलेको सामाजिक सञ्जालमा रमाइरहेका पुस्तालाई व्यङ्ग्य गरेको छ। ‘आन्दोलन भन्यो, ढुंगामुढा गर्यो, रेलिङ भाँच्यो’ भन्दै राजले पुरानो शैलीको आन्दोलनप्रति केही कटाक्ष गरेको छ।
आन्दोलन र मायापिरती मात्रै होइन, ‘कालो अक्षर, रातो अक्षर’मार्फत मिडियाले रातारात बनाइदिएका सेलिब्रेटीहरूको कथालाई पनि कुशल ढंगले उधिन्ने प्रयास गरिएको छ। आन्दोलनबारे थोरै जानकारी भएकी पात्र सजनामार्फत मिडियाले कसरी सेलिब्रेटी बनाइदिए भन्ने जीवन्न सन्देश देखाउन खोजिएको छ।
आन्दोलन तुहाउन सत्तासँग मिलेर आफ्नै पार्टीका नेताले कसरी धोका दिन्छन् भन्ने सन्देशसमेत नाटकले दिएको छ। यो अहिलेको राजनीतिक यथार्थ पनि हो।
‘विद्यार्थीको मूल्याङ्कन उसले आर्जेको ज्ञानभन्दा पनि प्रमाणपत्रमा भएको विद्यालयको नामका आधारमा गरिन्छ’ भन्दै शिक्षाको वर्गीकरणले उब्जाएको समस्या देखाइएको छ। मजदुरका छोराछोरीलाई फेरि पनि मजदुर नै बनाइरहन बाध्य पार्ने शिक्षाबारे सोच्ने बेला आएको छ भन्ने उद्घोषले अहिलेको पाठ्यक्रमलाई समयानुकूल बनाउन ढिला भइसकेको देखाइएको छ।
हजुरबुबाहरू राणा शासन विरुद्ध लडेका, आमाबुबाहरू पञ्चायत विरुद्ध लडेका अनि अहिलेको पुस्ता लोकतन्त्र र गणतन्त्रका लागि लडेको स्मरण गराउँदै संविधान बनेपछि यो विभेद हट्छ, असमानता मेटिन्छ भनेर विश्वास गरे पनि त्यो विश्वास यथार्थमा परिणत नभएको देखाइएको छ।
गणतन्त्र आएपछि अब त समाजवाद भेटियो, कर्णाली र काठमाडौ अनि सरकारी र निजी विद्यालयको खाडल हट्छ भन्ने आशाको दियो निभेको देखाइएको छ।
खराब परिस्थितिलाई बदलेर आँउदो पुस्ताको मुहारमा खुसी ल्याउनका लागि दाइजोप्रथा बाधक बनेकाले नाटकमा क्रान्तिकारी विद्यार्थी अंकितामार्फत यसको विरोध गरिएको छ।
आन्दोलन निस्तेज बनाउन आन्दोलनमै होमिएका क्रान्तिकारी शिशिरलाई नेताले पद र पैसाको प्रलोभनमा निर्धो बनाएका दृश्यहरूले क्रान्तिकारी युवाहरूको क्रान्तिप्रतिको चेतमा गराइदिएको अवसानलाई प्रतिनिधित्व गरेको देखाउँछ।
परिवर्तनको आन्दोलनप्रति प्रतिबद्ध भए पनि मुठभेडमा अलिक कायरजस्तो देखिने पात्र राजले परिवर्तनको आन्दोलनमा उत्तोलकको भूमिका खेलेको देखिन्छ। राज्यसत्ता जनताको पहुँचमा अनाउन्जेल आन्दोलन रोकिन्न भन्ने अठोटमा रहेका संगित र अंकितालाई अन्तिमसम्म राज र सजनाले साथ दिएका छन्।
आउँदो पुस्ताले समान शिक्षा पाउन सकोस् भन्ने असल स्वार्थ बोकेर युद्ध लडिरहेका संगीत र अंकिताले नाटकलाई उचाइमा पुर्याउन सक्दो प्रयास गरेका छन्। तरकारीको भाउ बढिरहेको अनि विश्वासको भाउ घटिरहेको अवस्थालाई पनि नाटकमा प्रस्तुत गरिएको छ।
शिक्षा, स्वास्थ्य, जातीय विभेद आदिका बारेमा समेत केही उठान गरिएको नाटकमा निर्देशक दिलीपले चिया बेच्ने आमामार्फत सन्तानको शिक्षाका लागि उमेर जति सबै चियामा उमालेर सक्ने हजारौं आमाहरूको कथालाई उन्ने प्रयास गरेका छन्।
रङ्गमञ्चको पृष्ठभूमिमा मधुर स्वरमा बजिरहेको गीत ‘खोलाको पानी यो जिन्दगानी’ जस्तै सन्तानको शिक्षाका लागि बिदेसिन बाध्य युवाहरूको कथालाई पनि मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
आफ्नो प्रेमीलाई विदेश पठाउँदा पनि परिवर्तनको आन्दोलनमा नथाकेकी अंकिता, धीरोदात्त संगीत अनि आन्दोलनका सहयात्री राज, सजनाहरू आन्दोलनमै होमिएका बेला प्रहरीको दमन हुन्छ र संगीतको मृत्यु हुन्छ। संगितको मृत्युले पनि आन्दोलन रोकिँदैन।
बरु हिजोको पुस्ताले बगाएको बलिदानको मूल्यका खातिर र भोलि आउने पुस्ताका खातिर आन्दोलनलाई थप बलियो बनाउने प्रणसहित अंकिताहरू राज्यसत्ताको पहुँच शैक्षिक माफियाहरूसँग रहुन्जेल आन्दोलन जारी राख्ने अठोटका साथ अघि बढ्छन्।
हजाराै युवाहरू रोजगारी र शिक्षाका लागि विदेश जान अहिले पनि किन बाध्य छन्? निम्न वर्गका विद्यार्थीहरू पढ्ने विद्यालय र विश्वविद्यालयहरू शैक्षिक माफियाका कारण किन निर्धो बनेका छन्? आफ्नो जायजेथा बेचेर पढ्नुपर्ने बाध्यता अहिले पनि किन जीवित छ? यी र यस्तै विषयलाई मूल आधार बनाइएको नाटक ‘कालो अक्षर, सेतो अक्षर’ शिक्षा जागरणको सन्देशवाहक बनेको छ।
नाटकको परिकल्पना समीक बडाल, लेखन आरके रोमस र निर्देशन दिलीप खड्काबाट भएको हो। नाटकमा अनुप न्यौपाने, अजयल लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगिता थापा, सञ्जीव राई, सुजैन सिलवाल, सुदीप खतिवडा, शान्ता राई लगायतका कलाकारले अभिनय गरेका छन्।
प्रकाशित: २७ आश्विन २०८० ०४:१२ शनिबार