कला

किताबी बढी विश्वासिला!

यस्तो पनि!

प्रसन्न चित्तले मुस्कानसहित तपाईं ‘जुम’ बैठकमा हुनुहुन्छ र पृष्ठभूमिमा तपाईंका पुस्तकहरू छन् भने तपाईंलाई मानिसहरूले बढी विश्वास गर्ने अध्येताहरूले बताएका छन्। डुरहाम विश्वविद्यालयका विज्ञहरूले पृष्ठभूमिमा पुस्तकको दराज र किताबको चाङ बनाएर मुस्कानसहित मानिसलाई उभ्याउँदा तिनका कुरा गम्भीरतापूर्वक सुनिएको वैज्ञानिकहरूको दाबी छ।

बैठकमा हँसिला युवाहरु र उनीहरुको पृष्ठभूमिमा किताबको र्‍याक राखिएका तस्बिरहरु देखाउँदा ती व्यक्ति कत्तिको विश्वासिला छन् भनी अनुसन्धाताहरूले १६७ जना युवालाई ‘रेटिङ’ गर्न लगाएका थिए।

सानो कोठे बगैँचा र किताबको पृष्ठभूमि भएका व्यक्तिहरूलाई सर्वसाधारणले बढी विश्वासिला भनेका थिए। यीबाहेक महिलाको पृष्ठभूमिमा बगैँचा वा किताब छ भने त ती अझ बढी विश्वासिला ठानिए।

रोचक त के भने, पृष्ठभूमि धमिलो भएको व्यक्तिलाई सबैभन्दा कम ‘रेटिङ’ दिइएको थियो। घरभित्र विरूवा राख्नेहरू बढी जिम्मेवार रहने केहीको धारणासमेत रहेको पाइयो।

यस्तै पृष्ठभूमिमा किताब राख्ने प्रशन्नचित्तका युवा र खासगरी महिलाले ती पुस्तक किन्न मिहिनेतपूर्वक कमाएको पैसा लगानी गरेको हुनाले उनीहरू बढी विश्वासिला हुने मत व्यक्त गरिएको थियो। उनीहरूले मिलाएर लुगा लगाएका छन् भने त उनीहरू अझ बढी जिम्मेवार हुने मानिएको थियो।

यसअघि पनि यस्ता शोध कार्यहरू भइरहेका थिए। तर अनलाइनमार्फत बृहद् स्तरमा यसरी अनुसन्धान नभएको विज्ञहरू बताउँछन्। कोभिड-१९ महामारीमा जब व्यक्तिहरूको अनलाइन उपस्थिति बढ्यो, त्यस्तोमा व्यक्तिहरूको मूल्यांकन कसरी हुँदोरहेछ भन्ने अनुसन्धान गर्न जरूरी हुन थाल्यो। सोही क्रममा यो अध्ययन गरिएको प्लोस वन  जर्नलमा उल्लेख छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २६ आश्विन २०८० ००:५५ शुक्रबार

यस्तो पनि! किताबी बढी विश्वासिला!