कला

मेघालयको कोइलाखानीमा नेपाली

फिल्म ‘फायरफ्लाइज इन द एविस’को एक दृश्य ।

काठमाडौं- नेपालीहरू कामको खोजीमा विश्वका १ सय ६७ देशमा जाने तथ्यांक छ । त्यसमा पनि भारत जाने नेपालीको संख्या सर्वाधिक मानिन्छ । यसरी जाने नेपालीहरू अधिकांश समय मजदुरको रूपमा काम गर्छन् । यसरी नै कामको सिलसिलामा मजदुरी गर्न भारतको आसामस्थित मेघालयमा रहेको कोइलाखानीमा पुगेका नेपालीहरूको कथा व्यथा समेटिएको वृत्तचित्र ‘फायरफ्लाइज इन द एविस’ बिहीबारबाट सुरु हुने ‘फिल्म साउथ एसिया २०१७’को ओपनिङ फिल्मको रूपमा देखाइने भएको छ । भारतीय निर्देशक चन्द्रशेखर रेड्डीले निर्माण गरेको ८८ मिनेटको यो वृत्तचित्रले मेघालयमा कोइला खानीमा काम गर्ने नेपाली मजदुरको जीवनकथा प्रस्तुत गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले छनोट भएका फिल्मसँगै महोत्सवका बारेमा जानकारी गराएको थियो ।

२० वर्षेदेखि हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको फिल्म साउथ एसियामा यो पटक ६३ वृत्तचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा ४५ फिल्मबीच ५ विधाको पुरस्कारका लागि प्रतिस्पर्धा हुनेछ ।

दक्षिण एसियाका ६३ वृत्तचित्र सहभागी हुने यो मेलामा ४५ वृत्तचित्रबीच पुरस्कारका लागि प्रतिस्पर्धा हुनेछ । फिल्म साउथ एसियाको २० वर्षे इतिहासमा यसपटक सर्वाधिक ६३ वृत्तचित्र छानिएको पनि आयोजक  फिल्म साउथ एसियाले जानकारी गराएको छ । आयोजकका अनुसार प्रदर्शनीमा ‘फायरफ्लाइज इन द एविस’ जस्तै थुप्रै मर्मस्पर्शी वृत्तचित्र प्रदर्शन हुने छन् । संस्थाका प्रमुख कनकमणि दीक्षितले बुधबार पत्रकारमाझ भने,‘यसपटक आएका अधिकांश वृत्तचित्र निकै मर्मस्पर्शी छन् । हामीलाई कुन वृत्तचित्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट गर्ने भन्ने गाह्रो भयो ।’
प्रतिस्पर्धाका लागि छानिएका ४५ फिल्मले पाँच विधाको अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट वृत्तचित्रले २ हजार अमेरिकी डलर राशिको ‘रामबहादुर बेस्ट फिल्म अवार्ड’, दोस्रो वृत्तचित्रले १ हजार अमेरिकी डलर राशिको फष्ट रनर्स अप पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट नवनिर्देशकलाई १ हजार अमेरिकी डलर राशिको तारिक मसुद बेस्ट डेब्यु फिल्म अवार्ड, बालबालिका सम्बन्धी उत्कृष्ट वृत्तचित्रलाई युनिसेफ बेस्ट फिल्म अन चिल्ड्रेन इस्यु’ तथा विद्यार्थीले निर्माण गरेको एक उत्कृष्ट वृत्तचित्रलाई पाँच सय अमेरिकी डलर पुरस्कारसहित बेस्ट स्टुडेन्ट फिल्म अवार्ड प्रदान गरिनेछ ।
दीक्षितले यसपटकको वृत्तचित्रमा दर्शकले विविधता पाउने दाबी गरे । उनले कुनै निश्चित क्षेत्रभन्दा पनि समग्र विषयलाई समेटिएका वृत्तचित्र देखाइने भएकाले पनि नेपाली दर्शकका लागि वृत्तचित्र लाभदायक बन्ने बताए । ‘अन्य देशका तुलनामा काठमाडौंमा वृत्तचित्रको क्रेज बढी देखियो । त्यसकारण पनि यसपटकको महोत्सवमा ज्यादा दर्शक अपेक्षा गरेका छौं,’ दीक्षितले भने, ‘वृत्तचित्र केही लामा र केही छोटा छन् । दर्शकले फेरि वृत्तचित्र हेर्न चाहे भने हामीले देखाइदिने व्यवस्था गरेका छौं ।’
मेलाकी निर्देशक मितु बर्माले काठमाडौं वृत्तचित्रका लागि राम्रो प्लेटफर्म भएको बताइन् । ‘नाकाबन्दीको बेलामा भएको वृत्तचित्र मेलामा पनि दर्शकको संख्या उल्लेख्य देख्दा म छक्क परेको थिएँ । यसपटक पनि त्यस्तै किसिमको उत्साह दर्शकमा हुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।
मेलाको प्रमुख अतिथि भारतीय पत्रकार शशी कुमार रहनेछन् । मेलाको जुरीमा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित, पाकिस्तानी फिल्मकर्मी फरजाद नबी र भारतीय पत्रकार राजाश्री दासगुप्ता छन् । वृत्तचित्र मेला नोभेम्बर ५ सम्म चल्नेछ ।
मेलामा विद्यार्थीहरुले निर्माण गरेका ‘सोल्स’, ‘वेलकम भ्यालेन्टाइन २०१७’, ‘टाइम भेम्पायर्स’,‘ड्रिम्स अफ वेल्स’ र ‘पोइन्ट एन्ड सट’ सँगै गैर विद्यार्थीले बनाएका ‘डटर्स अफ द कभ्ड मुन’, ‘लास्ट डेः लास्ट सट’, ‘होली काउ’, ‘क्याम्पस राइजिङ’, ‘हिमालयन रेफ्युजी’, ‘श्रीलंका, गोस्ट्स अफ वार’, ‘सवारी’, ‘द सिनेमा ट्राभलर्स’, ‘अफगानिस्तान नाइट स्टोरिज’, ‘मेसिन्स’, ‘वोर्कस् भोइस’ र ‘हस्पिटल’ लगायतका वृत्तचित्र प्रदर्शन हुनेछन् ।

प्रकाशित: १६ कार्तिक २०७४ ०४:२३ बिहीबार

मेघालयको कोइलाखानीमा नेपाली