कला

फिल्म साउथ एसिया बिहीबारबाट

काठमाडौं– दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ नामक फिल्म महोत्सव बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ। भारतीय पत्रकार शशी कुमारले महोत्सवको उद्घाटन गर्दैछन्।
‘वृत्तचित्र : एक साक्षी’ नाराका साथ सुरु हुन लागेको महोत्सव चार दिनसम्म चल्नेछ । सन् २०१५ देखि निर्माण भएका दक्षिण एसियाका समसामयिक विषयहरूमा केन्द्रित ६३ डकुमेन्ट्रीहरु महोत्सवमा प्रदर्शन हुनेछन् । भारतको मेघालयस्थित कोइला उत्पादन गर्ने कम्पनीमा काम गर्ने नेपालीहरुको कथामा आधारित ‘फायरफ्लाइज इन द अबिस्’ नामक डकुमेन्ट्रीबाट महोत्सवको सुरु हुनेछ । ८८ मिनेटको डकुमेन्ट्रीलाई चन्द्रशेखर रेड्डीले निर्देशन गरेका हुन् ।

महोत्सवमा ४५ वटा डकुमेन्ट्रीहरूले विभिन्न पाँच वटा विधामा प्रतिस्पर्धा गर्दैछन् । उत्कृष्ट डकुमेन्ट्रीले दुई हजार र रनर अपले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै निर्देशक विधामा पहिलो हुनेले एक हजार अमेरिकी डलरको तारेक मसूद पुरस्कार, उत्कृष्ट बालबालिका विषय केन्द्रित उत्कृष्ट डकुमेन्ट्रीले एक हजार र विद्यार्थी विधाले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । फिल्म साउथ एसियाको यो ११ औं संस्करण हो ।

‘हामीले मानवीय कथामा आधारित कथामा काम गर्ने व्यक्तिहरुलाई केन्द्रित गरेर फिल्म महोत्सव गरिरहेका छौं । सबैको कथा र विषयवस्तु फरक छन् । डकुमेन्ट्री निर्देशन र निर्माणको लागि नेपाल उत्कृष्ट देश भएको हुँदा अन्य देशमा प्रतिबन्ध भएका फिल्महरु प्रदर्शन हुँदैछन्,’ द फिल्म साउथ एसिया ट्रस्टका कनकमणि दीक्षितले भने,‘नेपालमा राम्रा डकुमेन्ट्री निर्देशकहरुले काम गरिरहेका छन् । उनीहरुलाई प्रोत्साहन गर्ने काम यस महोत्सवले गरिरहेको छ ।’ 
यसअघि पत्रकार कुन्द दीक्षितको संयोजकत्वमा पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री दासगुप्ताको निर्णायक टोलीले ६३ डकुमेन्ट्रीहरु छनोट गरेका थिए ।

‘नेपालले डकुमेन्ट्री फिल्म निर्देशकहरुलाई प्लाटफर्म प्रदान गरिदिएको छ । त्यसैले हामीले करिव तीन सयभन्दा बढी डकुमेन्ट्रीबाट उत्कृष्ट ६३ वटालाई छनोट गरेका छौं।  महोत्सवमा अन्य देशमा प्रदर्शन हुन प्रतिबन्ध लगाइएका डकुमेन्ट्रीहरु प्रदर्शन हुँदैछन्,’ महोत्सव निर्देशक मितु वर्माले भनिन् । 
महोत्सवमा पहिलो दिन विद्यार्थी विधाका फिल्महरु प्रदर्शन हुनेछन् । ‘सोल्स्’, ‘वेलकम भ्यालेन्टाइन २०१७’, ‘टाइम भेम्पायर्स’,‘ड्रिम्स अफ वेल्स्’ र ‘पोइन्ट एन्ड सट’ लगायत फिल्महरु प्रर्दशन हुनेछन् ।

त्यस्तै महोत्सवमा ‘डटर्स अफ द कभ्ड मुन’, ‘लास्ट डेः लास्ट सट’,‘होली काउ’, ‘क्याम्पस राइजिङ’, ‘हिमालयन रेफ्युजी’, ‘श्रीलंका, गोस्ट्स अफ वार’, ‘सवारी’, ‘द सिनेमा ट्राभलर्स’, ‘अफ्गान्स्थान नाइट स्टोरिस्’, ‘मेसिन्स्’, ‘वोर्कस् भोइस्’ र ‘हस्पिटल’ लगायत डकुमेन्ट्रीहरु प्रदर्शन हुनेछन् ।

प्रकाशित: १५ कार्तिक २०७४ १०:५९ बुधबार

फिल्म साउथ एसिया बिहीबारबाट