कला

भाइरल तरकारीवाली ‘लम्फू’ मा

काठमाडौं– एक वर्षअघि एकाएक भाइरल बनेर विश्वभर चर्चामा आएकी कुसुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली फिल्म ‘लम्फू’मा अभिनय गरेको बताएकी छिन्। गोपालचन्द्र लामिछाने निर्देशित यो फिल्ममाा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागि खर्च गरेकी छिन्।

यसै वर्ष रिलिज हुने ‘लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् भन्ने चाहिँ खुलाइएको छैन। ‘दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न,’ कुसुमले भनिन् । यो चलचित्रको छायांकन अघिल्लो वर्ष नै भए पनि तरकारीवालीको अभिनयको बारेमा निर्माण टिमले केही बोलेको थिए।

कुसुमले अभिनयबापत प्राप्त सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएको बताएकी छिन्। ‘म जुन समाजमा हुर्कें, बढें यहि समाजले आज मलाई तरकारीवालीको रूपमा विश्वभर चिनाएको हो । मलाई समाजले अनपेक्षित रूपमा यति धेरै कुरा दियो । मैले पनि समाजको लागि केही गर्नुपर्छ भन्ने लागेर अनाथअसहाय बालबालिका लागि खर्च गरेकी हुँ,’ कुसुमले भनिन्, ‘यो मेरो पहिलो कमाइ थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर हुनेछु।’

कुसुमका काका गोपीलाल श्रेष्ठले  सुरुमा चलचित्रमा अभिनय गर्ने सोच नबनाएको बताए पनि ‘लम्फू’ टिमको सामाजिक उत्तरदायित्वको सोच र कुसुमलाई मास्टर डिग्रीसम्म निःशुल्क शिक्षाको लागि छात्रावृत्ति प्रदान गरेको कारण कुसुमले अभिनय गरेको उनले बताए । पपुलर मल्टिमिडियाका लागि शक्तिवल्दव घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिस्का पोखरेल, सञ्जित भण्डारी लगायतको अभिनय छ।

गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा फोटोग्राफर रूपचन्द्र महर्जनले खिचेका कुसुमका तस्बिर भाइरल भएपछि कुसुम रातारात चर्चित बनेकी थिइन्।

प्रकाशित: १३ कार्तिक २०७४ ०७:०७ सोमबार

भाइरल तरकारीवाली लम्फू