कला

लामो यात्रामा छोटा फिल्म

पछिल्लो समय संसारकै प्रतिष्ठित कान महोत्सवमा अवार्ड जितेको नेपाली लघु चलचित्र (सर्ट फिल्म) ‘लोरी’को विशेष चर्चा छ । अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।

‘लोरी’ मात्र नभई यसै वर्षको कोरियाको बुसानमा निरञ्जन भेटवाल लिखित–निर्देशित सर्ट फिल्म पनि छनोट भइसकेको छ, ‘द विटनेस ट्री’ । हरेक वर्ष यसरी विश्वका प्रतिष्ठित महोत्सवमा एकपछि अर्काे सर्ट फिल्म छनोट हुनु, अवार्ड जित्नु नेपाली सर्ट फिल्मको स्तर र सफलताका प्रमाण हुन् । यसले छोटा फिल्महरूको लामो यात्रालाई संकेत गर्छ ।

नेपालमा सर्ट फिल्मप्रति फिल्म मेकर र दर्शकको रूचि बढेको दुई दशकयताको कुरा हो । नेपालमा ४० को दशकदेखि नै टेलिभिजन दर्शकलाई लक्षित गरी छोटा फिल्म÷टेलिफिल्म निर्माण हुन थालेका हुन् । त्यसपछि निजी स्तरबाट फिल्म निर्माणसम्बन्धी प्रशिक्षण संस्था तथा कलेज सञ्चालनमा आएसँगै सर्ट फिल्म बनाउने क्रम पनि बढ्दै गयो । यस्ता संस्था जति बढ्दै गए, फिल्म बनाउने संख्यामा पनि वृद्धि भयो । यसैबीच फिल्म साउथएसिया (एफएसए) काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) जस्ता महोत्सव थपिए, जहाँ फिक्सन तथा नन फिक्सन विधाका सर्ट फिल्महरूले विशेष प्राथमिकता पाए ।  

विश्व सिनेमाको विकासक्रम सर्ट फिल्महरू हुँदै आजको स्वरूपमा आइपुगेको हो । यसक्रममा अधिकांश सिने सर्जकका लागि सर्ट फिल्मले फिचर फिल्मसम्म पुग्न प्रयोगशालाको काम गर्यो। 

हाल यस्ता महोत्सव काठमाडौंमा मात्र सीमित नभएर राजधानीबाहिर पनि फैलने तरखरमा छन् । यो विस्तारबीच नेपाली सर्ट फिल्मको संख्यात्मक वृद्धिसँगै गुणात्मक वृद्धि पनि भइरहेको छ । यसले सर्ट फिल्मको विषय उठान, कथावाचन शैली र प्रयोगमा पनि विविधता थपेको छ । सायद त्यही भएर विश्वले नेपाली सर्ट फिल्म मन पराइरहेको छ । अझ भनौं, सर्ट फिल्मले सिंगो नेपाली फिल्मका लागि विश्वबजारसम्म पुग्ने बाटो बनाउन योगदान दिइरहेको छ ।  

सर्ट फिल्म अर्थात् प्रयोगशाला

विश्व सिनेमाको विकासक्रम सर्ट फिल्महरू हुँदै आजको स्वरूपमा आइपुगेको हो । यसक्रममा अधिकांश सिने सर्जकका लागि सर्ट फिल्मले फिचर फिल्मसम्म पुग्न प्रयोगशालाको काम गर्यो। उनीहरूलाई थोरै समय, थोरै लगानीमा विभिन्न खालका प्रयोग गर्ने छुट सर्ट फिल्मले नै दियो । प्रख्यात निर्देशक मार्टिन स्कर्सिसका लागि उनको सर्ट फिल्म ‘द बिग सेभ’ एउटा यस्तै खुट्किलो थियो, जसपछि उनले ‘ट्याक्सी ड्राइभर’, ‘गुड फेलाज’, ग्याङ्स अफ न्युयोर्क’, ‘सटर आइल्यान्ड’जस्ता कालजयी फिल्म बनाए ।

सफल एनिमेटेड फिल्म लेखक तथा निर्देशक जोन लेसेस्टरले ‘टोए स्टोरी’, ‘बग्स लाइफ’, ‘कार्स’जस्ता फिल्म बनाउनुअघि एनिमेटेड सर्ट फिल्म ‘लुक्सो जुनियर’मा आफूलाई जाँचेका थिए । सर्ट फिल्म ‘डुडलबग’मार्फत नै क्रिस्टोफर नोलनले पछि ‘मेमेन्टो’, ‘इन्सोम्निया’, ‘द प्रेस्टिज’, ‘इन्सेप्सन’जस्ता फिल्म बनाउने संकेत दिएका थिए । ‘पोस्ट’, ‘द एट्लस माउन्टेन्स’, ‘डटर्स’, ‘बेनाचिन’जस्ता सर्ट फिल्म नबनाएको भए क्लोई झाओको ‘नोम्याडल्यान्ड’ नआउन पनि सक्थ्यो ।

‘पारासाइट’ निर्देशक बोङ जुन होले पनि फिचर फिल्म बनाउनुअघि ‘ह्वाइट मेन इन्कोहरेन्स’जस्ता सर्ट फिल्ममार्फत आफ्ना कमजोरी र सबल पक्ष केलाएका थिए । ‘सुनगाभा’, ‘राधा’जस्ता फिल्मका लेखक–निर्देशक सुवर्ण थापाले निर्देशन यात्रा सर्ट फिल्म ‘मलामी’बाटै थालेका थिए । ‘कालो पोथी’अघि नै निर्देशक मीन भामलाई सर्ट फिल्म ‘बाँसुल्ली’ले भेनिस फिल्म फेस्टिभलमा चिनाइसकेको थियो । ‘सेतो सूर्य’ निर्देशक दीपक रौनियारको ‘हाइवे’का लागि बाटो ग्राबेल गर्ने काम सर्ट फिल्म ‘थ्रेसहोल्ड’ले गरेको थियो ।

जसरी गजलको एउटा सेरले पाठक, श्रोताको मुटुमा कम्पन ल्याइदिन सक्छ, त्यसरी नै एउटा पाँच मिनेटको सर्ट फिल्मले निश्चित विषयको पिँधसम्म पुगेर दर्शकको मगज खलबल्याउने अथवा शान्त पार्ने क्षमता राख्छ, जसमा सर्ट फिल्म बनाएर फिचर फिल्ममा लागेका लेखक निर्देशकको पनि एकमत देखिन्छ । 

अभ्यास पनि कविता पनि

गत वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’का लेखक–निर्देशक सुजित बिडारीको फिल्म निर्देशन यात्रा पनि सर्ट फिल्म ‘सावित्री’बाट सुरू भएको हो । नयाँ फिल्म मेकरले पहिले सर्ट फिल्म बनाएर, केही अनुभव लिएर मात्र फिचर फिल्ममा प्रवेश गर्नु उपयुक्त हुने निर्देशक बिडारी बताउँछन् । उनी भन्छन्, ‘सर्ट फिल्ममा फिचरमा भन्दा कम खर्च हुन्छ । थोरै समयमा, कम रिस्क लिएर फिल्म बनाउँदा मन लागेको कथा भन्न सजिलो हुन्छ ।’

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको ‘जुनुको जुत्ता’का लेखक तथा निर्देशक केदार श्रेष्ठ सर्ट फिल्म अभ्यास गर्न फराकिलो मैदान रहेको र यहाँ विभिन्न प्रयोगहरू गर्न सकिने बताउँछन् । ‘सबै फिल्ममा प्रयोग हुन्छ नै भन्ने त होइन तर एउटा मेकरका लागि प्रयोग गर्न खुला ठाउँ भने हो । न्यारेटिभका हिसाबले नभए पनि चिल्ड्रेन फिल्मको रूपमा ‘जुनुको जुत्ता’ एउटा प्रयोग, अभ्यास हो,’ उनी भन्छन्, ‘मैले यही कन्सेप्ट फिचर फिल्ममा प्रयोग गर्छु भनेको भए निकै महँगो हुन्थ्यो । करोडौं खर्च लाग्ने एनिमेसन फिल्म बनाउनुअघि तपाईं सानो फिल्म बनाएर हेर्न सक्नुहुन्छ । त्यसरी हेर्दा यो डमीजस्तो पनि हो ।’

एउटा फिल्म मेकरका लागि सर्ट फिल्म अभ्यास गर्न, आफूलाई निखार्न, कमीकमजोरी पत्ता लगाउन सहज ठाउँ हो । प्रचलित अभ्यासका कारण फिचर फिल्म बढी लोकप्रिय देखिए पनि अभिव्यक्तिका हिसाबले सर्ट फिल्म कमजोर विधा भने होइन । जसरी गजलको एउटा सेरले पाठक, श्रोताको मुटुमा कम्पन ल्याइदिन सक्छ, त्यसरी नै एउटा पाँच मिनेटको सर्ट फिल्मले निश्चित विषयको पिँधसम्म पुगेर दर्शकको मगज खलबल्याउने अथवा शान्त पार्ने क्षमता राख्छ, जसमा सर्ट फिल्म बनाएर फिचर फिल्ममा लागेका लेखक निर्देशकको पनि एकमत देखिन्छ ।  

निर्देशक पूजा गुरूङ सर्ट फिल्मलाई अभ्यासका रूपमा मात्रै भने लिन नहुने बताउँछिन् । हाल पूजा ‘द कन्टाजियस अपरिसन्स अफ डम्बरे डेन्ड्राइट’, ‘दद्या’, ‘द बिग हेडेड बोय : शमन्स एन्ड सामुराइज’ (घन्टाउके) जस्ता अन्तर्राष्ट्रिय रूपमै ख्यातिप्राप्त सर्ट फिल्मको निर्देशनपछि फिचर फिल्ममा काम गरिरहेकी छन् । उनी भन्छिन्, ‘सर्ट फिल्म अभ्यास त हो, सँगै एउटा कविता पनि हो । कसैले म कविता लेख्दिनँ भन्न पाउँछ तर लेख्ने मान्छे पनि आइरहनुपर्छ । कविता लेखिइरहनुपर्छ, पढिइरहनुपर्छ ।’ मेकरलाई स्वतन्त्रता हुने, सेन्सर नहुँदा भन्न खोजिएको कुरा इमानदारीपूर्वक भन्न सकिने र कथावाचनको हिसाबले पनि फिचर फिल्मभन्दा सर्ट फिल्म अझ बढी शक्तिशाली हुने निर्देशक बिडारीको भनाइ छ ।  

तुलनात्मक रूपमा फिचर फिल्मको भन्दा कम बजेटमा निर्माण हुने भए पनि एउटा निश्चित रकम सर्ट फिल्म बनाउन पनि चाहिन्छ, जुन लगानी धेरैजसो सर्ट फिल्मले फिर्ता गर्न सक्दैनन् र मेकरलाई अर्को फिल्म बनाउन अझ गाह्रो हुन्छ ।  

आर्थिक समस्या र घरेलु संरचना

सर्ट फिल्म बनाउँदा मेकरको दिमागमा ‘त्यसबाट लाखौं रूपैयाँ कमाऊँ’ भन्ने हुँदैन । तर अर्को फिल्म पनि बनाउन अलिकति सजिलो होस् भन्ने आस भने हुन्छ । तुलनात्मक रूपमा फिचर फिल्मको भन्दा कम बजेटमा निर्माण हुने भए पनि एउटा निश्चित रकम सर्ट फिल्म बनाउन पनि चाहिन्छ, जुन लगानी धेरैजसो सर्ट फिल्मले फिर्ता गर्न सक्दैनन् र मेकरलाई अर्को फिल्म बनाउन अझ गाह्रो हुन्छ ।  

‘जुनुको जुत्ता’पछि यसैको दोस्रो च्याप्टर ‘जुनुको रिबन’मा काम गरिरहेका केदार अहिले सर्ट फिल्मकै लगानी पनि १० लाख नाघ्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘जुनुको जुत्तामा साथीहरूले सित्तैमा काम गरिदिँदा पनि ४–५ लाख क्यास खर्च भएको थियो । सबैको पारिश्रमिक जोड्दा ७–८ लाख हुन्थ्यो । अहिले जुनुको रिबनलाई ११ लाख लाग्ने भएको छ ।’ फेस्टिभलमा पाएको अवार्ड, अन्य स्क्रिनिङबाट आएको सबै रकम जोड्दा प्रत्यक्ष खर्च भएको लगानी फिर्ता भए पनि सबैलाई पारिश्रमिक दिने रकम भने नउठेको केदार बताउँछन् । 

 टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको सर्ट फिल्म ‘बेअर ट्रिज इन द मिस्ट’ (२०१९) का लेखक तथा निर्देशक राजन कठेत पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुँदैमा फिल्मले लगानी सुरक्षित नगर्ने बताउँछन् । हाम्रा दर्शकले नहेरी विदेशमा प्रदर्शन भएर, उताका पत्रपत्रिकामा चर्चा भएर मात्र हाम्रो फिल्म सफल हुन सक्दैनन् भन्ने उनको बुझाइ छ । सँगै विदेशी फेस्टिभलमा छानिने फिल्ममा दर्शकको रस पसिनसकेकाले कठेत अहिलेका लागि सर्ट फिल्मले लगानी उठाउने कुरा गाह्रो रहेको देख्छन् ।  

अहिलेको अवस्था अप्ठ्यारो भए पनि केही प्रयास भए दर्शक र सर्ट फिल्मलाई आपसमा जोड्न सकिन्छ, जसले फिल्म लेखन तथा निर्देशनमा रुचि भएका नवप्रतिभालाई प्रोत्साहन गर्छ, फिल्म बनाइराख्न सहज वातावरण सिर्जना गर्छ ।  

‘किम्फमा विदेशीबाट आएका डकुमेन्ट्री मात्रै लिए पनि नेपालीचाहिँ सर्ट फिल्म पनि लिने गरेका छौं । किनकि फेस्टिभलमा नदेखाए अन्त देखाउने ठाउँ छैन,’ किम्फका फिल्म सेलेक्सन कमिटीका सदस्यसमेत रहेका कठेत भन्छन्, ‘सर्ट फिल्म मात्रै होइन, हाम्रो अलि इन्डिपेन्डेन्ट फिल्म, डकुमेन्ट्रीहरूका लागि फेस्टिभलभन्दा अरू विकल्प छैन, यो हाम्रो स्याड रियालिटी हो ।’

सर्ट फिल्मको अन्तर्राष्ट्रिय बजार हेर्दा फिचर फिल्मजस्तो व्यावसायिक त छैन । तर फिल्म मेकरलाई फिल्म बनाइराख्ने वातावरण सिर्जना गर्न भने विभिन्न प्रयास भइरहेका छन्, जसमा हामी चुकेका छौं । फिल्मको अभिभावक संस्था चलचित्र विकास बोर्डले नै सर्ट फिल्मलाई एउटा फिल्मको मान्यता दिएको पाइँदैन । आर्थिक वर्ष २०५७÷५८ देखि सर्ट फिल्मका लागि दर्ता खुले पनि डकुमेन्ट्री र सर्ट फिल्मलाई एउटै वर्गमा राखिएको छ । बोर्डका कर्मचारीलाई सर्ट फिल्म र डकुमेन्ट्री दुई फरक विधा हुन् र ‘जुनुको रिबन’ सर्ट फिल्म हो भनेर बुझाउन खोज्दा झगडा नै गर्नुपरेको केदार बताउँछन् ।  

सर्ट फिल्म आर्थिक संकटबाट गुज्रिनुमा सबैभन्दा मुख्य कारण दर्शकसँग जोडिन नसक्नु हो, जुन समस्या फिल्म प्रदर्शन हुने र दर्शक बसेर हेर्ने ठाउँको अभावका कारण भएको देखिन्छ । अहिलेको अवस्था अप्ठ्यारो भए पनि केही प्रयास भए दर्शक र सर्ट फिल्मलाई आपसमा जोड्न सकिन्छ, जसले फिल्म लेखन तथा निर्देशनमा रुचि भएका नवप्रतिभालाई प्रोत्साहन गर्छ, फिल्म बनाइराख्न सहज वातावरण सिर्जना गर्छ ।  

‘धेरै दर्शक नभए पनि सर्ट फिल्म मन पराउने एउटा सर्टेन अडियन्स छ, जसले फेस्टिभलमा गएर हुन्छ वा कुनै अनलाइन प्लाटफर्मबाट खोजीखोजी सर्ट फिल्म हेरिरहेको छ । हामीले त्यस्ता अडियन्ससम्म हाम्रो फिल्म पु¥याउन आवश्यक छ,’ केदार भन्छन्, ‘यसलाई फिचर फिल्म जसरी हल रिलिज गर्न त सकिन्न । तर दुई घण्टाको प्याकेज बनाएर ६÷७ ओटा फिल्म देशभर रिलिज गर्न सकिन्छ, जसको अभ्यास विश्वमा भइरहेकोे छ । त्यसरी बानी बसाल्दै गयौं भने आज नभए पनि १० वर्षपछाडि यसको नतिजा देखिन सक्छ ।’ यसबाहेक टेलिभिजनमा देखाउने, विषयवस्तुअनुसार विद्यार्थीको पाठ्यसामग्रीमा राखेर पनि सर्ट फिल्मलाई विस्तार गर्न सकिने उनी बताउँछन् ।  

अहिलेका लागि प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिने, अवार्ड पाउने फिल्मको संख्या जति बढ्यो, उति सुखद कुरा हो । त्यसका लागि अध्ययन सामग्री, प्रशिक्षण कार्यशालाहरूको संख्या पनि बढ्न जरूरी छ ।  

फेस्टिभल, वर्कसप

नेपाली फिल्म मेकरले आर्थिक समस्या त झेलिरहेका छन् । तर उनीहरूको चुनौती यतिमै सीमित छैन । हेरेर सिक्न पर्याप्त सर्ट फिल्म छैनन्, न अभिलेख छ न फिल्मका लागि राम्रो लाइब्रेरी । ‘तर जति समस्या भए पनि यही क्षेत्रमा गर्ने भनेर आएपछि कुनै पनि हालतमा गर्नुप¥यो,’ निर्देशक पूजा गुरूङ भन्छिन्, ‘हाम्रो पुस्तामाथि हामीभन्दा अगाडिका बाउबाजेको लडाइँ, आमाहरूको बालिदानका कथा भन्नुपर्ने भार छ, हामीले नै भन्ने हो । नयाँ पुस्ता जोसजाँगर लिएर आउँदैछ, यो उत्साहजनक कुरा हो ।’ हाम्रा कथा लिएर जाँदा अरूका कथा र उनीहरूको कथावाचन शैलीबारे पनि थाहा पाइने, त्यसबाट सिक्न पाइनेर एक्सपोजर पनि पाइने भएकाले फेस्टिभल महत्त्वपूर्ण हुने उनी बताउँछिन् ।  

सर्ट फिल्मका लागि घरेलु संरचना निर्माण नभइसकेको अवस्थामा धेरै मेकरले विदेशी फेस्टिभललाई नै लक्ष्य गरेर फिल्म बनाइरहेको पाइन्छ । राम्रा र गुणस्तरीय फिल्म फेस्टिभलहरूमा सहभागी पनि भइरहेका छन् । अहिलेका लागि प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिने, अवार्ड पाउने फिल्मको संख्या जति बढ्यो, उति सुखद कुरा हो । त्यसका लागि अध्ययन सामग्री, प्रशिक्षण कार्यशालाहरूको संख्या पनि बढ्न जरूरी छ ।  

वर्कसप तथा प्रशिक्षण फिल्म मेकिङमा रूचि राख्नेहरूका लागि निकै सहयोगी हुने नाटक निर्देशक तथा कलाकार आकांक्षा कार्कीको भनाइ छ । सर्ट फिल्म ‘सनई’ निर्देशन गरेकी उनी दीपक रौनियार र अभिनेत्री आशा मगरातीको मेन्टरिङमा सञ्चालन हुँदै आएको गोग्राह फिल्म वर्कसपकी सहभागी हुन् । भन्छिन्, ‘नाटकहरू अनुवाद, निर्देशन गरेको भए पनि सर्ट फिल्म मेरा लागि नयाँ विधा थियो । फ्रेम, लाइट र यसका अन्य टेक्निकालिटीले गर्दा फिल्ममा अझै सूक्ष्म रूपमा काम गर्नुपर्ने हुन्छ । एउटा फिल्म बनाउँदा यसका सबै लेयरबारे बुझ्न र आफ्नो भिजनमा स्ट्रङ हुन कति जरूरी छ भन्ने कुरा मैले वर्कसपबाटै थाहा पाएँ । अबको काममा त्यसले सहयोग गर्नेछ ।’

‘लोरी’ फ्रान्सको कान फिल्म फेस्टिभलको ढोका ढकढक्याउन पुगेजस्तो नेपाली सर्ट फिल्महरूले विश्व सिनेमा बजारसँग जोडिने नयाँ–नयाँ बाटो पत्ता लगाएका छन् । जुन बाटो भएर अब हाम्रा धेरैभन्दा धेरै कथाले विश्व भ्रमण गर्न सक्छन् र नयाँ सम्भावना भित्रिन सक्छन् ।  

नेपाललाई प्रतिनिधित्व गर्ने फिल्म

पछिल्लो समय नेपाललाई प्रतिनिधित्व गर्दै विभिन्न विधाका नेपाली फिल्म भेनिस, बुसान, टोरन्टो, ओबरहोसनजस्ता अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित फेस्टिभलमा जाने क्रम बढ्दो छ । हाम्रा नदी, पहाड, हिमाल, तराईका कथा, भाषा, संस्कृति, जीवनशैलीका कथा ठुला मञ्चहरूमा पुग्नु, मान्छेहरूले चिन्नु, फिल्म हेरेरै हाम्राबारे चर्चा हुनु फिल्म उद्योगका लागि मात्र नभएर देशकै लागि गौरवको विषय हो । तर विदेशका फेस्टिभलहरूमा जाने लक्ष्यका साथ फिल्म बनाउँदै गर्दा मेकर सधैं सचेत रहनुपर्ने पन्त बताउँछन् ।  

‘जसरी कर्णालीलाई प्रतिनिधित्व गर्दै कालोपोथी विभिन्न फेस्टिभलहरूमा गयो, त्यसरी फरक–फरक ठाउँका फरक कथा बाहिर गइरहेका छन् । फिल्मकै मार्फत हाम्रा स्पिरिचुअल, कल्चरल कुरा रिभिजन भइराखेका पनि छन्,’ उनी भन्छन्, ‘तर थोरै एक्स्ट्रा, थोरै पृथक् कथा खोज्ने प्रयास गर्दा हामी न्युट्रल रियालिटीभन्दा अलि पर भइने, हाम्रो रियालिटी अलिकति फरक तरिकाले जाने जोखिमचाहिँ सधैं रहिरन्छ । त्यसमा मेकरले ध्यान दिन जरुरी छ ।’

‘बाँसुल्ली’ इटालीको भेनिस फिल्म फेस्टिभलको, ‘जुनुको जुत्ता’ अमेरिकाको अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल ओबरहोसनको, ‘लोरी’ फ्रान्सको कान फिल्म फेस्टिभलको ढोका ढकढक्याउन पुगेजस्तो नेपाली सर्ट फिल्महरूले विश्व सिनेमा बजारसँग जोडिने नयाँ–नयाँ बाटो पत्ता लगाएका छन् । जुन बाटो भएर अब हाम्रा धेरैभन्दा धेरै कथाले विश्व भ्रमण गर्न सक्छन् र नयाँ सम्भावना भित्रिन सक्छन् ।  

विचार, दर्शनका हिसाबले उनीहरूले देखाउन खोजेका कुरा एकदमै गहिरा छन् । फिल्मको भाषाका हिसाबले पनि अहिले बनिरहेका नेपाली फिल्मभन्दा धेरै एडभान्स देखिएको छ । तर हाम्रो समाज, कल्चर, वातावरण, भाषासँग कनेक्टेड देखिँदैनन् ।

नयाँ पुस्ता

नयाँ सम्भावनाहरूलाई आकार दिने काम युवा पुस्ताले नै गर्ने हो । त्यसैले फिल्मसम्बन्धी विभिन्न गतिविधि नयाँ पुस्तालाई लक्षित गरिएको हुन्छ । किम्फ, गोग्राहलगायत कतिपय संस्थाले युवा लक्षित ग्रान्टसमेत दिँदै आएका छन् । युवा पुस्ताका कामलाई नजिकबाट नियालिरहेका राजन कठेत भन्छन्, ‘किम्फमा पछिल्लो दुई वर्षका सर्ट फिल्म हेर्दा हिमाल, पहाड, तराई सबैतिरबाट उत्साहजनक सहभागिता छ ।’

यही वर्ष ओस्कार कलेजले आयोजना गरेको युथ सर्ट फिल्म कम्पिटिसनमा जुरी रहेका लेखक÷निर्देशक मनोजबाबु पन्त पनि नयाँ पुस्ताका कामप्रति आशावादी देखिन्छन् । ‘कलेजको कम्पिटिसनमा सहभागी १७÷१८ वर्षका युवाहरूले फिल्म मेकिङ, न्यारेटिभमा राम्रो ज्ञान पाइसकेको जस्तो देखियो,’ उनी भन्छन्, ‘विचार, दर्शनका हिसाबले उनीहरूले देखाउन खोजेका कुरा एकदमै गहिरा छन् । 

फिल्मको भाषाका हिसाबले पनि अहिले बनिरहेका नेपाली फिल्मभन्दा धेरै एडभान्स देखिएको छ । तर हाम्रो समाज, कल्चर, वातावरण, भाषासँग कनेक्टेड देखिँदैनन् ।’ अहिलेको पुस्ताको हुर्काइ र बाहिरका कथावाचन शैलीबाट प्रभावित भएका कारण यस्तो समस्या आएको उनको बुझाइ छ । उचित मार्गदर्शन पाए अहिलेको युवा पुस्ताले सिनेमामार्फत आफूलाई प्रमाणित गर्न सक्छन् ।

 

(प्रस्तुत लेख नेपाल चलचित्र निर्माता संघको १७औं स्थापना दिवसको अवसरमा सोमबार लोकार्पण हुने ‘सिनेमा विशेषांक’बाट लिइएको हो ।)

प्रकाशित: २२ आश्विन २०८० ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App