कला

सुटिङमा ‘शत्रु गते’

काठमाडौं- झण्डै एक महिना अघि घोषणा गरिएको फिल्म ‘सत्रु गते’ सोमबारबाट सुटिङका लागि फ्लोरमा गएको छ । किरण केसी प्रस्तुतकर्ता रहेको फिल्म युनिटले राजधानीको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै फिल्म छायांकनका लागि वीरगन्ज प्रस्थान गरेको हो ।
हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एघार वर्षपछि फिल्म निर्माणमा पुनरागमन गरेका हुन् । एघार वर्षअघि महको ब्यानर महसञ्चारबाट फिल्म ‘जे भो राम्रै भो’ बनाएको थियो । ‘फिल्म ‘जे भो राम्रै भो’ बनाएपछि फिल्म बनाउने वातावरण मिलेन । त्यो बेलाको राजनीतिक अवस्था पनि एउटा कारक बन्यो । हामी आफैं टेलिसिरियल निर्माणतिर लाग्यौं,’ हरिवंशले भने, ‘हामीले फिल्म बनाउने सोच पनि बनाएका हौं । तर, समय मिलेन । देशदेखि विदेशका कार्यक्रममा व्यस्त भइयो ।’ उनले अब भने हिमाल, पहाड र तराई जोड्ने गरी फिल्म निर्माणमा फर्किएको बताए ।
मह संचारको प्रस्तुति रहने फिल्मको निर्देशन प्रदीप भट्टराईले गर्नेछन् । भट्टराईले यसअघि नै ‘जात्रा’ निर्देशन गरेर त्यसबाट प्रशंसा पाइसकेका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौडेल, अन्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकारको अभिनय रहनेछ ।
फिल्म घोषणा कार्यक्रममा हरिवंशले प्रदिपलाई फिल्मको निर्देशक बनाउने भनेपनि समय अभावका कारण त्यो अवसर नपाएको स्वीकारेका थिए । प्रदीप मह सञ्चारबाट निर्माण गरिएका टेलिसिरियलमा मुख्य सहायक निर्देशकको रुपमा संलग्न रहने गरेका थिए ।
रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल निर्माता रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन, हरिवंश आचार्य र प्रदिप भट्टराइको पटकथा, हरिवंश आचार्यको कथा रहनेछ । निर्देशक भट्टराईका अनुसार कमेडी जनरामा बन्ने फिल्म दुई साता वीरगन्जमा र बाँकी काठमाडौंमा खिचिनेछ । फिल्म चैत ९ मा रिलिज हुनेछ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०३:३८ मंगलबार

सुटिङमा शत्रु गते