कला

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

पोखरा- छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक गुरुङको स्वास्थ्य उपचारका लागि गीतकार संघले आर्थिक सहयोग गरेको छ। गीतकार संघ नेपाल र साधना संगीत नै जीवन हो को सहकार्यमा आर्थिक संकलन गरी १ लाख ३६ हजार ६४५ रुपैयाँ गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन, सचिव बसन्त वित्यासी थापाले संयुक्त रुपमा गुरुङको निवास कास्कीको डाँडाकोनाकमा पुगी उनलाई हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरणका क्रममा गीतकार संघका आजीवन सदस्य सुमन श्रापितले स्रष्टा अप्ठ्यारोमा पर्दा सहयोग गर्ने कार्य सह्राहनीय भएको बताए । शुक गुरुङले स्वास्थ्यको ख्याल गर्दै संघले गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले आफ्नो जीवनको ठेगान नभएको पनि निरन्तर साधनामा लागेको र अझै ३ वटा गीत रेकर्डिङको क्रममा रहेको जानकारी दिए । कार्यक्रममा संघका उपाध्यक्ष बमजन, सचिव वित्यासीले गीतकार संघ स्रष्टाको हितमा लागिपरेको उल्लेख गर्दै सुखदुःखमा साथ दिने बताए । ३ वर्षअघि मृगौला समस्याबाट पीडित ५६ वर्षे गुरुङको रोगका कारण दृष्टिसमेत गुमेको छ।

प्रकाशित: ३१ आश्विन २०७४ ०६:५९ मंगलबार

संगीतकार गुरुङलाई गीतकार संघको