कला

शिक्षा र संगीतलाई जोड्न कलेजस्तरीय व्याण्ड प्रतियोगिता

पचासको दशकमा नेपाली सांगीतिक फाँटमा पोखराको छुट्टै छाप थियो। सांगीतिक व्याण्डले नेपाली संगीत क्षेत्रमा आफनो दरिलो पहिचान बनाएका थिए। तर, पछिल्लो समय सांगीतिक व्याण्ड बिस्तारै सुस्ताउँदै ओझेलमा पर्दै गए। ओझेलमा पर्दै गएको व्याण्डको सांगीतिक यात्रालाई फेरी उठाउने प्रयास शुरु गरिएको छ। पोखरा सांगीतिक कलाकार संघले व्याण्डलाई उठाउने जमर्को गरेको हो।  

संघले पहिलो पटक ‘कलेजस्तरीय व्याण्ड कम्पिटिसन’ आयोजना गरेर ब्याण्डलाई उकास्ने जमर्काे कस्दैछ। आगामी शुक्रबार र शनिबार दुईदिन व्याण्ड प्रतियोगिता गर्दै शिक्षा र संगीतलाई जोड्ने प्रयास कलाकार संघले गरेको छ। ‘कुनैबेला पोखरा सांगीतिक व्याण्डको शहरको परिचय बनाएको थियो,’ संघका सहसचिव विनोद बानियाँले भने, ‘अहिले त्यो अवस्था शून्यतामा छ। फेरी उठाउने प्रयास गरिएको छ।’ कलाकार संघले त्यसलाई शिक्षासँग सहकार्य गर्दै पहिलो पटक व्याण्ड प्रतियोगिता गर्ने अन्तिम तयारी गरेको छ।  

‘पोखराको सांगीतिक माहोललाई व्याण्ड मार्फत सिर्जना गर्ने उद्देश्यसहित पहिलोपटक कलेजस्तरीय व्याण्ड प्रतियोगिता गर्ने जमर्कोमा जुटेका हौं,’ कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले सुनाए। पोखरा डिमोर्चा ब्याण्डका भोकलिष्ट समेत रहेका श्रेष्ठले व्याण्ड प्रतियोगितालाई विद्यालय मार्फत लैजाने प्रयासलाई निजी शैक्षिक संस्था प्याब्सन, एनप्याब्सन, हिसान र युनिप्सले सहयोग गरेको उल्लेख गरे। ‘स्वास्थ्य मानसिकताको लागि संगीत’ भन्ने ध्येय कलाकार संघको छ। स्वास्थ्य मानसिकताले मात्रै शैक्षिक सफलता प्राप्त हुने विश्वास संघको छ। त्यसैले शिक्षासँगै संगीत भन्ने अभियानलाई अगाडि बढाएको कलाकार संघको भनाई छ ।  

एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगीतिक माहोल सिर्जना गर्न कोशेढुंगा सावित हुने विश्वास संघले लिएको छ। ‘संगीत स्वास्थ्यको लागि थेरापी समेत हो,’ संघका सचिव श्रेष्ठले भने । प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले कलाकार संघले शिक्षा र संगीतलाई जोड्ने प्रयास सह्रानीय भएको उल्लेख गर्दै आगामी दिनमा समेत संघसँग प्याब्सनले सहकार्य गर्ने प्रतिबद्धता जनाए। ‘शिक्षा र संगीतलाई सँगसँगै लैजानुपर्छ,’ पौडेलले भने–‘आगामी वर्ष क्यालेण्डरकै रुपमा कार्यक्रमलाई निरन्तरता दिने विश्वास छ।’

संघका अध्यक्ष हर्कराज गुरुङका अनुसार पहिलो प्रयास भएकोले सबै विधामा आफनो सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पाउने छन्। ‘सुस्ताएको सांगीतिक क्षेत्रलाई उठाउने प्रयास हो। यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन्,’ उनले भने। आधुनिक, लोकभाका र रकमा समेत प्रस्तुती दिने सकिने जनाउँदै उनले आफनै सिर्जनाका गीतलाई पनि प्रस्तुतीकरण गर्न सक्ने स्पष्ट पारे। कलेजस्तरीय व्याण्ड प्रतिस्पर्धामा पोखराका २५ भन्दा बढी कलेजको सहभागिता रहनेछ। यद्दपी संघले डिजिटल अडिसन मार्फत २१ टीमलाई प्रतिस्पर्धाको लागि छनोट गरेको छ। अन्तिम १० वटा टीम फाईनल राउण्डमा प्रवेश गर्ने छन्। फाईनल राउण्डमा टीमले दुईवटा गीत प्रस्तुत गर्न पाउने संघले जनाएको छ।

प्रतियोगितामा विजेताले नगद एकलाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। त्यस्तै द्वितीय हुनेलाई ५०हजार र तृतीय हुनेलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने छ। उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र ड्रमरलाई नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।  

प्रकाशित: १० आश्विन २०८० ०९:४१ बुधबार

पोखरा कलेजस्तरीय व्याण्ड कम्पिटिसन