कला

सौलमा नेपथ्य गुञ्जन

काठमाडौं- दसैंको अवसरमा लोक–रक ब्यान्ड नेपथ्यले कोरियाको राजधानी सोलस्थित ओलम्पिकपार्कको हलमा  कन्सर्ट प्रस्तुत गरेको छ । ‘ओलपार्क’का रुपमा बहुचर्चित यो ओलम्पिक हल सन् १९८८ मा दक्षिण कोरियाले ओलम्पिक आयोजना गर्दा तयार पारेको थियो । वर्षभरि नै व्यस्त हुने हलमा पहिलो पटक नेपालीले कार्यक्रम गर्ने अवसर पाएका हुन् । सोही हलमा यसअघि  बहुचर्चित सांगीतिक ब्यान्ड ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’ र ‘एयर सप्लाइ’ले समेत कन्सर्ट प्रस्तुत गरिसकेका छन् ।

कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’कै अवसर पारेर सौलको कास्की परिवारले नेपथ्य कन्सर्टको आयोजना गरेको हो । खेतिकिसानीको मौसमलाई ध्यानमा राखेर मनाइने यो पर्वका बेला कोरियाली समाजका मानिस अघिल्ला पुस्ता र मान्यजनसँग भेटघाट गर्छन् ।
तर, त्यही मुलुकमा कमाउन पुगेका आप्रवासीहरूका  निम्तिभने यो पर्व साथीभाइसँग भेटघाट गर्ने र स्वदेशका सम्झनाहरु ताजापार्ने अवसर बन्न पुग्छ । यतिबेला दक्षिण कोरियामाचालिस हजारभन्दा बढी नेपाली कामदारहरू रोजगारीका निम्ति पुगेका छन् ।
‘स्वदेशमै तपाईँहरूलाई रोजगारीको प्रवन्धगर्न नसकेकै कारण सबैजना यो ठाउँ आइपुग्नुभएको हो । आफन्त, साथीभाइ र मान्यजनहरुबाट यसरी टाढिएर बाँच्नुपर्दाको पीडा म बुझ्दछु,’ कन्सर्टकै क्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘जे जस्तो भए पनि यहाँ रहँदाको क्षणलाई अवसरका रुपमा लिइदिनुस् र सकेसम्म आफूमा स्वदेशका निम्ति काम लाग्ने सीप विकास गर्नुस् । हाम्रा नेताहरुमा यी तमाम तन्नेरीहरूले राष्ट्रनिर्माणमा सघाउन सक्ने वातावरण तयार पार्ने दृष्टिकोणका लागि हामी अनुरोध गर्छौं ।’
यति भनिसकेपछि अमृतले केहि वर्षअघि मात्र तयार पारेको एउटा मार्मिक गीत प्रस्तुत गरे जसको भाव आफ्नो प्रिय मानिस छाडेर हिँडेका आप्रवासी कामदार नेपालीको पीडामाथि उभिएको थियो–

‘मै मरि जाउँला, जीवन छोटो छ
लेखेको सम्झना, चेतेर नफाल
सिरानमाफोटो छ...’

यसरी केही सदाबहार गीत प्रस्तुत गरिसकेपछि अमृत फेरि दर्शकसँग गफिए ।
‘यो ओलम्पिक पार्कमा उभिएर गीत गाइरहँदा मलाई यतिबेला विधान लामाको याद आइरहेको छ जसले १९८८ को ओलम्पिकमा मुलुकका निम्ति पदक हासिल गरेका थिए,’उनले थपे, ‘दुर्भाग्य, त्यस्ता प्रतिभाशाली खेलाडीलाई पनि हाम्रो मुलुकले रोकेर राख्न सकेन र अहिले उनी विदेशिएका छन् । यस्ता धेरै प्रतिभाशाली विधानहरूलाई यतिबेला नेपालले गुमाइरहेको छ । म हाम्रा नेतालाई मुलुकभित्रै राम्रो अवसरको सिर्जना गरेर यस्ता प्रतिभालाई स्वदेशमै आकर्षित गर्न आव्हान गर्छु ।’

त्यसपछिको चरणमा ‘यो जिन्दगानी’बाट अघि बढेको कन्सर्ट ‘कोशीको पानी’, ‘गाउँ गाउँबाट उठ’ हुँदै नेपथ्यका सुपरहिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’मा प्रवेश गरेको थियो ।
‘रातो र चन्द्रसूर्य’ गाउँदै नेपथ्यले कन्सर्टको बिट मारेको थियो । कन्सर्टमा सँधैझैँ अमृतलाई स्टेजमा  ध्रुव लामाले ड्रमसेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाएका थिए ।

प्रकाशित: २२ आश्विन २०७४ ०४:१७ आइतबार

सौलमा नेपथ्य गुञ्जन