कला

उषा रजकको आरोप: ‘कागबेनी’मा अनुप बरालले मलाई हटाएर दीया मास्केलाई कास्ट गराए

अभिनेत्री उषा रजकले अभिनेता अनुप बराललाई नेपोटिजमको आरोप लगाएकी छन्।

एक्टर्स स्टुडियोका सञ्चालकसमेत रहेका अनुपले सम्बन्धका आधारमा कास्टिङ गर्ने गरेको उषाको आरोप छ।  

रजकले फिल्म ‘कागबेनी’ बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन्।

शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको बताएकी छिन्।

उनले लेखेकी छन्, 'कुरा “कागबेनी”, नेपालको पहिलो डिजिटल फिल्मको। त्यो फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे। (यो कुरा फिल्मको २ प्रमुख पाटोले भन्नु भएको मलाई) तर राता रात म आउट र दिया मास्के इन हुनुभयो। त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ। त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ।' 

उक्त चलचित्रको निर्माण टिमका सदस्यबाटै आफूले यो जानकारी पाएको उनले बताएकी छन्।  

थाहा पाएपछि आफूले यसबारे भने पनि अनुपले जवाफ नदिएको उषाले उल्लेख गरेकी छन्। 'त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भा’ को सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ। १९ वर्षकी सायद मैले बुझिनँ अथवा बुझ पचाएँ र खुरुक्क गएर चुपचाप क्लासमा बसेँ,' उनी लेख्छिन्, '१७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ हो म अलिकति त काँतर नै हो।'  

‘कागबेनी’ को मुख्य पात्रको लागि निर्देशक दाहाल र टिमले आफूसहित पूजा गुरुङ, शिवानीसिंह थारु, दीया मास्के, आशा मगरातीसँग अडिसन लिएको रजकले बताएकी छन्।

प्रकाशित: ५ आश्विन २०८० ०९:४४ शुक्रबार

‘कागबेनी’ अभिनेत्री उषा रजक अभिनेता अनुप बराल