कला

भ्रष्टाचारविरुद्ध डि–मर्चाको गीत

पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ। डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो। हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार युट्युबमार्फत सार्वजनिक गरेको छ। 

डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा वीरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन्। वीरेन्द्र पुनको परिकल्पनामा भएको गीतको लेखन रोशन भट्टराईले गरेका हुन्।

गीतको भिडियोको निर्देशन लिड गिटारिष्ट रोहित रञ्जितले गरेका छन् भने गीतमा दाह्री ग्याङका सदस्यहरुको अभिनय रहेको व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भ्रष्टाचारले देश थिलथिलो भएकाले त्यसविरुद्ध जागरूक बनाउन गीतमार्फत सन्देश दिने उद्देश्यले गीत बनाएको बताए।

‘भ्रष्टाचार मुक्त समाज बनाउने, भ्रष्टाचार गर्नेलाई पनि अबदेखि भ्रष्टाचार गर्न हुन्न भन्ने बनाउने सन्देश दिनु गीतको उद्देश्य हो,’ उनले भने।

गीतका परिकल्पनाकार वीरेन्द्र पुनले भ्रष्टाचारले युवा देशमा बस्न सक्ने स्थिति नरहेकाले त्यसविरुद्ध जनमत बनाउने आफूहरूको उद्देश्य रहेको बताए।

सुरुमा हामीले ‘जनताको समस्या’ गीतमार्फत जनताको समस्याहरु उजागर गर्‍यौँ,’ उनले भने, ‘त्यसपछि ‘नेताज्यू नमस्कार’ गीतमार्फत हामीले समस्या समाधानका लागि सरकार र नेताहरुलाई आग्रह गर्‍यौँ। तर समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै गएकाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनेर भ्रष्टाचार नगर्न खबरदारी गरेका हौं।’

प्रकाशित: ४ आश्विन २०८० १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App