कला

म हराएँ भने...

३६ वर्षकी क्रिस्टिना मुरेले ५३ पृष्ठको डायरी बनाइन्। त्यसमा उनले सपनाको कार, भूतपूर्व प्रेमीहरू, तिनका पछिल्लो ठेगाना र फोन नम्बरहरू राखिन्। तिर्नुपर्ने ऋण पनि खुलाइन्। डायरीमा उनको पछिल्लो उच्च गुणस्तरको तस्बिर पनि टाँसियो।

आफ्नो शरीरमा के के टाटु छन्, कहाँ कहाँ के के निशान छन्, त्यो पनि खुलाइन्। यी सारा पृष्ठहरूमध्ये एउटा पृष्ठ भने खाली नै राखिन्, त्यो पनि जानजान उनी काम गर्ने कार्यालयको व्यवस्थापन प्रमुखसँग यसको अर्को नक्कल छ। उनी कथं हराइहालिन् भने उनका रहस्यहरू यो डायरीमा छन्। प्रहरीले कसलाई केर्नुपर्ने हो, यो हेरे पुग्छ।

कसैले आफ्नो मृत्युको वा दुर्घटनाको तयारी यसरी गर्ला त? केहीले गर्छन्। अचेल अमेरिकामा निकै चल्तीमा रहेको ‘इफ आई गो मिसिङ’ पडकास्टको लोकप्रियतासँगै युवतीहरूले यस्तो डायरी राख्न थालेका छन्।

यस्तो गर्नुको प्रमुख कारण भने अमेरिकामा बढ्दो अपराधका कारण, अपराधी पत्ता लगाउन के कस्ता तयारी ग¥यो भने अपहरणमा परेका वा मारिएका महिलाले अपराधीलाई पक्राउन मद्दत गर्न सक्छन् भनेर बनाइने ‘इफ आई गो मिसिङ’ पडकास्टको लोकप्रियता प्रमुख हो।

‘म हराएँ भने...’ भन्ने डायरीको लोकप्रियता कतिसम्म बढ्न थाल्यो भने अचेल अमेजन र एट्सीजस्ता अनलाइनमा प्रमुखता साथ बेच्न थालिएको द न्युयोर्क टाइम्सले जनाएको छ।

यो तमासामा भने क्यालिफोर्निया स्टेट युनिभर्सिटी फुलरटोनमा अमेरिकन स्टडिजतर्फ वास्तविक अपराध र संस्कृति विधाका अध्यापक एडम गोलुब चकित छन्। यस्तो अपराधकथाका वास्तविक डर र आनन्द पनि उत्तिकै हुन्छन्। यस्तोमा स्रोताले त्यस्तै घटनामा परियो भने के गर्ने भन्ने तयारी थाल्छन्। यस्तोमा अझ बढी दुर्घटना निम्तने डर गोलुबको छ। जुन कुरा पडकास्टरले रमाइलोका लागि शुरू गरेका थिए, त्यसले स्रोता तथा दर्शकलाई बढ्ता चिन्तामा पार्ने गोलुबको भनाइ छ।

हत्या हुने सम्भावनामा चिनेजानेकै मान्छेको हात हुने हुनाले यस्ता डायरीमा तिनका बारेमा विस्तारपूर्वक लेख्नु राम्रै कुरा ठान्नेको पनि कमी छैन। खासगरी यस्तो गर्नु उचित भएको मार्किया ब्राउनको धारणा छ।

काला जातिका महिलाहरू अक्सर यस्तो दुर्घटनामा पर्ने गर्छन्। तिनको घटना प्रायः निष्कर्षमा पुग्दैन। टेलिभिजनमा भने श्वेत स्त्री हराए वा मारिए बढी प्रचार हुने हुनाले प्रायः श्वेत महिलाको बढी हत्या हुने भ्रम छ। यसलाई पत्रकार ग्वेन इफिलले ’मिसिङ ह्वाइट विमन सिन्ड्रोम’ नामकरण गरेकी थिइन् र यो शब्दावली पछि निकै लोकप्रियसमेत बन्यो।

टिकटकमा समेत ‘इनकेस आई गो मिसिङ’ ह्यासट्याग लोकप्रिय छ। यस्ता भिडियो ६ करोड ८० लाखभन्दा बढी हेरिएको छ। यसरी एउटा तप्का आफूलाई हराउने तयारीमा लागिरहेको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २ आश्विन २०८० ०३:४२ मंगलबार

अक्षर