कला

उडिसामा कुमारीको घर

काठमाडौं– नेपाली विद्यार्थीहरूले भारतको उडिसामा सम्पन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेवारी समुदायमा प्रचलित जीवित देवी कुमारीको कथामा आधारित नाटक मञ्चन गरेका छन्।

विभिन्न चालिस देशका नाट्यसमूहको सहभागिता रहेको महोत्सवमा भक्तपुरको फुलब्राइट स्कुलका विद्यार्थीले कुमारीको मनोदशामा आधारित ‘कुमारीको घर’ प्रदर्शन गरेका हुन् । नाट्यकर्मी प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटकले काठमाडौंमा सम्पन्न बाल नाटक महोत्सवमा समेत अवार्ड जित्न सफल भएको थियो । ‘स्थानीय दर्शकहरूले अत्याधिक मन पराइदिएका कारण हौसिएको छु,’ नाटक प्रदर्शनपछि न्यौपानेले टिप्पणी गरेका छन्। 

फुलब्राइटका विद्यार्थीहरू प्रभात निरौला, रीया नापित, समीक्षा खनाल, सिम्रन थापा र कृतिका न्यौपानेले अभिनय गरेको नाटकलाई नेपाली कला संस्कृति झल्कने शैलीमा प्रस्तुत गरिएको थियो । नाटकको मञ्च तथा संगीत संयोजन फुलब्राइटकै शिक्षक रमेश दाहालले र प्रेम पौडेलले प्रकाश संयोजन गरेका थिए।

अन्तराष्ट्रिय नाटक महोत्सवका लागि छनौट भएको नेपाली विद्यार्थीहरूको टोलीलाई गतसाता विद्यालयका प्रिन्सिपल राजेश दाहालले नेपालको झन्डा र लाखेको मुकुन्डो उपहार दिएर बिदाइ गरेका थिए।

प्रकाशित: ३० भाद्र २०७४ ०८:०० शुक्रबार

उडिसामा कुमारीको घर