कला

सुदूर पश्चिममा आज गौरा मनाइँदै

फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ।

यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरूले आज धुमधामका साथ गौरा मनाउँदै छन्। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर सुरु हुन्छ। पहिलो दिनलाई बिरुडा पञ्चमी समेत भन्ने गरिन्छ।

तामाको भाँडालाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिंगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।

गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत्रुपमा सुरु हुने मानसखण्ड पञ्चाङका सम्पादक आचार्य धनश्याम लेखकले बताए।

‘यो मानसी नारीको उपाक्रम हो एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गरिन्छ’, उनले भने, ‘पुरुषले जनै धारण गरे जस्तै महिलाले दुवधागो लगाइसकेपछि मात्रै उनीहरूलाई वेद पढ्ने अधिकार मिल्ने गर्दछ। त्यसैले यो महिलाको महत्त्वपूर्ण पर्व हो।’ गौरामा महिलाले स्थानीय भाषामा रहेको सगुन तथा फाग गाउने उनले बताए।

फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजिदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए।

‘मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्धी गरेपछि गौराको आग्रहबमोजिम नगरमा कलौं बिरुडी खोज्न गएको प्रसंग यस फागमा आउँछ’, भट्टले भने, ‘यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो।’

यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको उनले बताए।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनको रूपमा लिइन्छ। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइन्छ। बर्तालु सरस्वती भट्टले बताए।

‘गौरा हाम्रो ठूलो पर्व हो पुरषजस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउने गर्छौं’, उनले भने, ‘गौराको पूजाअर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिको लागि व्रत बस्छौं।’

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरा नचाइन्छ। त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धागिंनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजाअर्चना गरिंदै आइरहेको पाइन्छ। तिनै शिवगौरीको स्थानीय लोकरीति अनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो।

यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ। यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गर्दछन।

प्रकाशित: २१ भाद्र २०८० ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App