कला

‘मिस टिन’मा ३० सुन्दरी

काठमाडौ- सन् २०१७ का लागि आयोजना हुन लागेको ‘मिस टिन’को १५ औं संस्करणको दोस्रो अडिसनमा ३० जना प्रतिस्पर्धी छानिएका छन् । पहिलो चरणबाट छानिएका ४५ जना प्रतिस्पर्धीबीच गरिएको दोस्रो अडिसनबाट ३० जना छानिएका हुन् ।

काठमाडौं जेसिसले १६ देखि १९ वर्षका युवतीहरूबीच प्रत्येक वर्ष मिस टिन प्रतियोगिता गर्दै आएको छ । पहिलो अडिसनमा काठमाडौं जेसिसका वर्ष २०१७ का अध्यक्ष दीपक भण्डारी, कार्यकारी उपाध्यक्ष इनु थापा, पूर्वअध्यक्षहरू इन्द्ररत्न वज्राचार्य, रत्नकाजी श्रेष्ठ, सेनेटर मनोजकुमार श्रेष्ठ, ‘मिस टिन नेपाल २०१६’ की विजेता जस्मिन खड्का, ‘मिस टिन २०१५’ की उपविजेता तथा राष्ट्रिय तेक्वान्डो खेलाडी रोजी गिरी, नृत्य संयोजक स्वजन रघुवंशी, कलाकार मन्चिन शाक्यको निर्णायक मण्डलले सहभागी युवतीहरूको अडिसन लिएका थिए ।

दोस्रो चरणमा गत शनिबार भएको अडिसनमा काठमाडौं जेसिजका पूर्वअध्यक्षहरू सुशीलकुमार श्रेष्ठ, गणेश पौडेल, तालिम निर्देशक सुरेन्द्र शाही ठकुरी, निवर्तमान अध्यक्ष सुमन महर्जन, कन्सर्नकी कार्यकारी उपाध्यक्ष इनु थापा, ‘मिस टीन नेपाल २०१५’की विजेता धृति केसी, उपविजेता रोजी गिरी, ‘मिस टीन नेपाल २०१६’ की उप–विजेता ऊर्जा नेवा निर्णायक थिए ।

फिनालेका लागि छनोट भएका प्रतियोगीलाई तालिममा सहभागी गराइने काठमाडौं जेसिज ‘मिस टिन नेपाल’की कन्सर्नकी उपाध्यक्ष इनु थापाले बताइन् । काठमाडौं जेसिजले १९९४ मा ‘मिस नेपाल’ गरेपछि दोस्रो ठूलो सुन्दरी प्रतियोगिताको रूपमा ‘मिस टिन नेपाल’ गर्दै आएको छ । यो प्रतियोगितामा ‘मिस धरान’, ‘मिस हेटौंडा’, ‘मिस पोखरा’ र ‘मिस पूर्वाञ्चल’ले सोझै सहभागिता जनाउन पाउने अध्यक्ष दीपक भण्डारीले बताए ।

यस वर्षको ‘मिस टिन नेपाल २०१७’लाई फ्रेन्च ब्युटी प्रडक्ट इन्चाइन्टरले प्रायोजन गरेको छ । सहप्रायोजकको रूपमा रिलायन्स पेन्ट रहेको छ ।

प्रकाशित: १५ भाद्र २०७४ ०३:३३ बिहीबार

मिस टिनमा ३० सुन्दरी