कला

‘अजिबको अनुशासित कर्म हो लेखन’

स्रष्टा-संवाद

प्रज्वल पराजुली सिक्किममा जन्मेर बेलायतमा उच्चशिक्षा प्राप्त गरेका अनि अंग्रेजी भाषामा नेपाली परिवेशका आख्यान लेख्ने स्रष्टा हुन्। उनले बेलायती प्रकाशनबाट ‘द गोर्खाज डटर’  कथासङ्ग्रह र ‘ल्यान्ड ह्वेर आई फ्ली’ उपन्यास प्रकाशन गरेका छन्। उनको ‘द गोर्खाज डटर’  कथासङ्ग्रह बेलायतको ‘डिलन थोमस प्राइज’ र अमेरिकाको ‘द स्टोरी प्राइज’ को मनोनयनमा परेको थियो।

त्यसैगरी उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ फ्रान्सका ‘इमिल गिमेट प्राइज’ र ‘डेब्यु नोभल प्राइज’ को अन्तिम सूचीमा परेको थियो। पब्लिकेसन्स नेपालयले ‘द गोर्खाज डटर’ को नेपाली रूपान्तरण ‘गोर्खाकी छोरी’ प्रकाशनमा ल्याइसकेको छ भने ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली अनुवाद ‘चित्रलेखाको चौरासी’ पनि भर्खरै प्रकाशन भएको छ।  लेखक प्रज्वल पराजुलीसँग साहित्य सन्दर्भमा दिलीप ढकालले गरेको स्रष्टा-संवाद: 

तपाईं सिक्किममा जन्मनुभयो। अक्सफोर्ड विश्वविद्यालयमा पढ्नुभयो। बेलायती प्रकाशनबाट कथासङ्ग्रह तथा उपन्यास प्रकाशन गर्नुभयो। यस सन्दर्भमा लेखकीय सङ्घर्ष अर्थात् प्रयन्तका सन्दर्भ बताउनुस् न।

सबैभन्दा कठिन लेख्नु नै हो। लेखन सजिलो छ भन्नु खतरनाक कुरा हो। पढ्ने धेरैलाई लेख्न सजिलो लाग्न सक्छ। लेखनमा अजिबको अनुशासन चाहिन्छ, जुन जो कोहीमा हुँदैन। लेखक जबरजस्ती बन्न सकिँदैन। मैले लेखनमै पूर्णतः मिहिनेत गरें। प्रकाशनको यात्रा त्यति कठिन भएन। यो मामलामा आफूलाई भाग्यमानी ठान्छु।

विदेशको व्यस्त दैनिकीबिच लेखन समय कसरी छुट्टयाउनुहुन्छ? तपाईंलाई मन पर्ने लेखकीय समय छ?

लेख्ने जाँगर चल्दा अरू केही काम गर्दिनँ। भरे डिनर प्लान छ भने पनि लेख्ने भाव आएको बेला छोडेर जान्नँ। मैले १६ घण्टा लगातार पनि लेखेको छु, ६ महिनासम्म लेख्दै नलेखेको पनि छु। लेख्नुअगाडि म यति धेरै सुत्छु कि लेख्ने क्रममा निद्रा मबाट टाढा भागोस्। मलाई मन पर्ने लेखन-समय रात नै हो। लेखेरै रात बिताएका धेरै उदाहरण छन्।

तपाईंको उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली रूपान्तरण-कृति ‘चित्रलेखाको चौरासी’ आज बजारमा आउँदै छ। ‘ल्यान्ड ह्वेर आई फ्ली’ भित्र के छ, जसले पाठकलाई तान्छ?

सिक्किममा बसोबास गरेर नेपाली भाषा, संस्कार-संस्कृतिको अवलम्बन गर्ने परिवारको कथा हो-ल्यान्ड ह्वेर आई फ्ली। यस उपन्यासमा मलाई मन पर्ने चरित्र ८४ वर्षकी चित्रलेखा न्यौपाने छिन्। हजुरआमाको चौरासीमा संसारभर छरिएर रहेका छोराछोरी, नातिनातिना जम्मा हुन्छन्। उपन्यासमा मसलेदार कथा छ।

उपन्यासले समाज बोलेको छ। चित्रलेखाका माध्यमबाट पैसा हुनेहरूले कसरी राजनीतिमा प्रभाव पारेका हुन्छन् भन्ने पनि देखाइएको छ। चौरासी पूजा पूर्णतः नेपाली संस्कार हो। चौरासी पूजाको महत्वलाई पनि यहाँ देखाउन खोजिएको छ। त्यसैले नेपाली पाठकका लागि ‘ल्यान्ड ह्वेर आई फ्ली’ अर्थात् ‘चित्रलेखाको चौरासी’ अत्यन्त सान्दर्भिक छ।

विदेशमा बसेर अंग्रजी भाषामा लेखिएको उपन्यास हो ‘ल्यान्ड ह्वेर आई फ्ली’। उपन्यासभित्र नेपाली सन्दर्भ, नेपाली पात्र, नेपाली संस्कार–संस्कृति प्रशस्त पाइन्छन्। विदेशमा बसेर नेपाली संस्कृति अनि नेपाली पात्रलाई लेख्न केले प्रेरणा दिन्छ?

धेरै लेखौं, अनगिन्ती देश, ठाउँ र सन्दर्भका कथा लेखौं जस्तो लाग्छ तर जहाँसुकैका कथा लेख्न मान्छेले सक्दैन। बाहिरी विषयका बारेमा मान्छेको अध्ययन पनि पुग्दैन। आफूले जानेबुझेको विषय सहज रूपमा लेख्न सकिन्छ। मलाई पनि त्यही भएको हो। मैले हजुरबा, हजुरआमाको चौरासी देखेको छु। फेरि मलाई नेपाली संस्कार-संस्कृतिप्रतिको मोह छुट्टै भएकाले पनि मेरो लेखनको विषयवस्तुमा नेपाल पहिलो रोजाइमा पर्छ।

तपाईंका नेपाली भाषामै लेखिएका लेखरचना प्रशस्त छन्। फेरि पनि किन अङ्ग्रेजी भाषाप्रति नै तपाईंको मोह? मूल कृति नै नेपालीमा लेखेर अङ्ग्रेजीमा अनुवाद गर्दा के फरक पर्छ र?

यो महत्वपूर्ण प्रश्न हो। मेरा कृतिका पात्र नेपालीमा बोल्छन् तर मैले अंग्रेजीमा लेख्नुपरेको छ। मलाई नेपाली भाषा भाषिक दक्खलतामा कमीका कारण जटिल लाग्छ। मलाई अंग्रेजीमा लेख्न सहज लाग्छ। भाषा जुनसुकै हुन सक्छ। भाषाभन्दा ठुलो कुरा कृतिभित्रको विषयवस्तु हो। विषयवस्तु नेपाली नै छ, पात्र नेपाली नै छन्। अंग्रेजीमा लेख्दा पनि नेपालीपन जीवित राख्ने प्रयत्न रहन्छ।

तपाईंको कथासङ्ग्रह ‘द गोर्खाज डटर’ कस्तो कृति हो? यो युरोप-अमेरिकामा धेरै पुरस्कारको मनोनयनमा पर्‍यो। यसको शीर्षकले नै नेपाली सन्दर्भ बताउँछ। अलिकति यस कृतिका बारेमा बताइदिनुस् न।

‘द गोर्खाज डटर’ कथासङ्ग्रह हो। मैले नेपालका नेपालीका बारेमा धेरै पुस्तकमा पढेको छु तर भारत, भुटान, लन्डन, अमेरिकाजस्ता देशमा बस्ने नेपालीका कथा पढेको थिइनँ। यस सङ्ग्रहमा यस्ता विदेशी भूमिमा बस्ने नेपालीका कथा लेखेको छु। यसमा मुख्य पात्र नारीलाई बनाइएको छ। मलाई फिमेल चरित्र लेख्न मजा लाग्छ। मैले भारतीय धेरै उपन्यासमा निरीह नारीका सङ्घर्ष धेरै पढेको छु। यस्ता पात्रको कथा पढ्दा मलाई सबल नारी पात्रको कथा लेखौंजस्तो लाग्यो। मेरो त्यही उत्कण्ठाको उपज हो-‘द गोर्खाज डटर’।

विश्व साहित्यको परिप्रेक्ष्यमा नेपाली साहित्य कहाँ छ? नेपाली साहित्यको गुणस्तरीयता  कस्तो पाउनुहुन्छ?

नेपाली साहित्य एकदम गुणस्तरीय छ। यहाँको पठन संस्कृति राम्रो नै छ। नेपाली भाषा-साहित्यको विकास हेर्दा खुसी लाग्छ। नेपाली साहित्यका लागि यो उर्वर समय हो। मलाई योभन्दा अझै राम्रो समय आउँछ जस्तो लाग्छ। नेपाली पुस्तकका आवरण, लेआउटमा पनि विदेशी पुस्तकमा भन्दा बढी गुणस्तर तथा मिहिनेत देखिन्छ। नेपाली साहित्य सिरियस छ। यो राम्रो कुरा हो।

पश्चिमा पुस्तकका पाठक अनि त्यहाँको बजार र नेपाली प्रकाशनका साहित्यिक पाठक र यहाँको बजारमा के अन्तर पाउनुहुन्छ?

सबै पश्चिमालाई एउटै बास्केटमा राख्नुहुँदैन। पश्चिमा देशलाई हेर्ने हो भने अमेरिकामा भन्दा युरोपमा पठन संस्कृति राम्रो छ। फ्रान्स, जर्मनीलगायतका युरोपेली मुलुकमा पठन संस्कृति अत्यन्त राम्रो छ। त्यहाँ अनलाइनमा पुस्तक किन्दैनन्, घण्टौं लगाएर पुस्तक नै खरिद गर्छन्। यस्तो कल्चर अमेरिकामा मैले भेटिनँ।

नेपालमा पनि अनलाइनले पठन संस्कृतिमा केही प्रभाव त पारेकै छ तर यहाँ गहन पाठ्यपुस्तकको पठन राम्रो भएको पाएको छु। टेक्नोलोजीको विकासले खास अध्येतालाई फरक पार्दैन। युरोपमा बस, ट्रेनमा यात्रा गर्दा अधिकांशले पुस्तक पढिराखेको पाइन्छ। यहाँ त्यसरी पढेको पाइँदैन। युरोपका तुलनामा नेपालमा पठन संस्कृति कम छ तर यहाँको सम्भावना राम्रो छ।

तपाईंले पढेका कृतिमध्ये नेपाली साहित्यका मन पर्ने पुस्तक बताइदिनोस् न ? किन मन पर्‍यो  यी पुस्तक?

मलाई इन्द्रबहादुर राईका कृति मन पर्छ। मनपर्ने उपन्यास ‘आज रमिता छ’ हो। सानु लामाको ‘ज्योतिबिनाको उज्यालो’ कथासङ्ग्रहले गम्भीर प्रभाव पारेको थियो। नारायण वाग्लेको ‘पल्पसा क्याफे’ राम्रो लाग्छ। मलाई मिठो अनि सजिलो भाषामा लेखिएका कृति मन पर्छ। नेपाली कृतिमा देश अनि समाजको यथार्थको प्रस्तुति राम्रो लाग्छ।

नेपाली पाठकलाई पठनका लागि सिफारिस गर्नुपर्‍यो भने कुनकुन पुस्तक सिफारिस गर्नुहुन्छ?

यस्ता पुस्तक धेरै छन्। अरून्धती रोयको ‘गड अफ स्मल थिंग्स’ उपन्यास पढ्न सल्लाह दिन्छु। यसमा भाषाको सुन्दरता अद्भुत छ।

त्यसैगरी आरएफ क्वाङको ‘यल्लो फेस’ सुन्दर छ। यसमा प्रकाशन उद्योगका जटिलताको यथार्थ राम्रोसँग देखाइएको छ।

अहिले के लेख्दै हुनुहुन्छ? अब तपाईंको कस्तो कृति पाठकले पढ्न पाउँछन्?

मेरा पुराना पुस्तक आख्यानमा केन्द्रित रहे। अब गैरआख्यान लेखनको क्रममा छु। यसमा पूर्वीय सभ्यताकै चिन्तन प्रस्तुत गर्ने छु।

प्रकाशित: १६ भाद्र २०८० ०३:०५ शनिबार

अक्षर