कला

मराठीतिर माधुरी

मुम्बई- बलिउडकी ‘धकधक गर्ल’का रूपमा परिचित अभिनेत्री माधुरी दीक्षित लामो समयसम्मको फिल्मी अभिनयबाट फिल्म निर्माणतर्फ अग्रसर हुने भएकी छन् । माधुरीले फिल्म निर्माणको सुरुवात मराठी फिल्मबाट गर्ने भएकी छिन् ।

मराठी समुदायबाट बलिउडमा लोकप्रिय बनेकी माधुरीलाई उनका मराठी प्रशंसक ‘मराठी मुगली’का रूपमा चिन्छन् । त्यसकारण पनि उनीहरूको चाहना माधुरीलाई मराठी फिल्ममा देख्न पाइयोस् भन्ने छ । माधुरी र उनको प्रोडक्शन हाउस ‘आरएनएम मुभिङ पिक्चर्स’ले यसअघि नै इ–लर्निङ र डिटिएच कन्टेन्ट निर्माण गरिसकेको छ । यो ब्यानरले पहिलोपटक फिल्म पनि निर्माणको तयारी गरिरहेको छ ।

‘हामी आरएनएम मुभिङ पिक्चर्समा यो नयाँ भूमिकामा पाइला राख्न र परियोजनामा काम गर्ने विषयमा निकै उत्साहित छौं । यो एक पारिवारिक फिल्म हुनेछ । जसमा काम गर्नका लागि हाम्रो टिम पनि राम्रो छ,’ माधुरीले भनेकी छन् ।

फिल्मको नाम के हुने भन्ने अहिलेसम्म केही खुलाइएको छैन । तर फिल्मको लागि भने विभिन्न तयारी सुरु भइसकेको छ । यसै वर्षको अन्त्यबाट सुटिङ सुरु हुने फिल्मको स्क्रिप्ट योगेश विनायक जोशीले लेखिरहेका छन् । स्वप्निल जयकरले निर्देशन गर्ने फिल्ममा नितिन प्रकाश वैद्य कार्यकारी निर्माता छन् । फिल्ममा कलाकार को–को हुनेछन् भन्ने टुंगो लागेको  छैन भने कथाबस्तु पनि गोप्य राखिएको छ । आगामी वर्ष रिलिज हुने फिल्म पारिवारिक मनोरञ्जनात्मक कथामा बन्नेछ ।

फिल्मखेल्दा खेल्दै अमेरिकी डाक्टरसँग विवाह गरेर अमेरिका भासिएकी माधुरीले ‘आजा नचले’ मार्फत् बलिउडमा कमब्याकको प्रयास गरेकी थिइन् । तर, फिल्म फ्लप भएको थियो । यसपछि अभिनय गरेका ‘डेढ इश्कियाँ’ र ‘गुलाब ग्याङ’ पनि बक्स अफिसमा असफल भएपछि माधुरी अभिनयमा सक्रिय छैनन् ।

प्रकाशित: ९ भाद्र २०७४ ०८:४१ शुक्रबार

मराठीतिर माधुरी