कला

आफ्नै चित्र चोर्ने चित्रकार

फ्रान्सका प्रख्यात साहित्यकार तथा नोबेल साहित्य विजेता एनातोले फ्रान्सलाई फ्रान्सेली सरकारले ‘देशकै इज्जत’ भनेर सम्मान गरेपछि उनको मृत्युअघि एउटा पेन्टिङ बनाउन चित्रकार किज भान डोन्जेनलाई जिम्मा दियो। सन् १९२१ मा फ्रान्सेली‑डच यी चित्रकार यसमा सहमत भए। उनका लागि यो ठूलो कुरा पनि थिएन किनभने एनातोले उनकै छिमेकी थिए।

जब चित्र बनेर तयार भयो, फ्रान्सेली सरकारले डोन्जेनलाई सन् १९२६ मा चित्र तयार भइसकेको भए सरकारलाई हस्तान्तरण गर्न आग्रह गर्‍यो। डोन्जन र उनका साथीहरू त्यो बेला चित्रकलामा ‘फौभ्स क्रान्ति’का अभियन्ताका रूपमा परिचित थिए। सरकारले जब डोन्जनसँग लिएर यो चित्रलाई बिक्री गर्ने उद्देश्यका साथ प्रदर्शनीमा राख्यो। आलोचकहरूले चित्रको निकै कडा आलोचना गरे। आलोचना कति कडा थियो भने चित्र नै बिक्री भएन। बिक्री नभएपछि पेरिसको जे डि पाउम सेन्टरमा सरकारले प्रदर्शनीमा राख्यो। प्रदर्शनीमा पनि चर्चा नभएपछि यसका सर्जकलाई खसखस लाग्न थाल्यो। उनले फ्रान्सेली सरकारसँग सो पेन्टिङ मागे र आफ्नो प्रदर्शनीमा समावेश गर्ने अनुमति लिए। अब चित्रकारले नै मागेपछि नदिने कुरा भएन ! त्यसैले सरकारले उनलाई चित्र जिम्मा लगायो।

प्रदर्शनी सकिएपछि सन् १९३२ मा डोन्जनले एक जना संकलकलाई २० हजार फ्राङ्कमा सो चित्र बेचिदिए। त्यो बेला यो रकम निकै ठूलो थियो। ती संकलकले पछि सन् १९६८ मा प्रख्यात कार कम्पनीका मालिक हेनरी फोर्डलाई ८० हजार डलरमा बेचिदिए। हेनरी फोर्डको सन् १९८७ मा देहान्त भएपछि चित्रको संरक्षक क्याथलिन डुरोस फोर्ड बनिन्। उनको पनि सन् २०२० मा निधन भएपछि उनको संकलनमा रहेका ६५० चित्रहरूसँगै यो चित्र पनि क्रिस्टी नामक संस्थाले डाक बढाबढमा राख्ने भएको छ। हाल सो चित्रको मूल्य ३ लाख ५० हजार युरो पुगेको छ। तर जब क्रिस्टीले यो चित्रलाई पनि डाक बढाबढमा राख्यो, फ्रान्सेली सरकारले चित्रकार स्वयंले चोरेर बेचेको आरोप लगाउँदै यस्तो चोरीको चित्रकला बिक्रीमा राख्न नपाउने भन्दै आपत्ति जनायो। चोरीको सामान भएकाले यसलाई अरू कसैले न त बेच्न न त किन्न नै पाउने दलिल फ्रान्सेली सरकारको थियो।  

गत १२ भदौंमा मात्र फोर्ड फेमिली ट्रस्टले आफ्नो स्वामित्वमा रहेको यो चित्र फ्रान्सेली सरकारले उपयुक्त तौरतरिका अपनाएर फर्काउन चाहे, फिर्ता गर्ने वक्तव्य जारी गरेको छ। अब चित्र कहिले र कसरी फ्रान्स फर्केला भनेर हेर्नु निकै रोचक हुनेछ।— द गार्डियन

प्रकाशित: १४ भाद्र २०८० ००:४६ बिहीबार

आफ्नै चित्र चोर्ने चित्रकार