कला

पोखरामा शनिबार तायाःमचा नृत्य प्रतियोगिता

बिजेतालाई ३ लाख दिईने

पोखरामा हुने तायाःमचा नाच प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका पदाधिकारी। तस्बिरः सन्देश÷नागरिक

पोखरामा हुने तायाःमचा नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। नेवाःखल कास्कीको आह्वान तथा रानीपौवा तायाःमचा नाच समिति पोखरा–११ को आयोजनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेकवर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यो वर्ष शनिबार रानीपौवामा आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन। ‘उद्घाटन लगत्तै प्रतियोगिता शुरु हुन्छ,’ कार्यक्रम संयोजक ईश्वर कर्माचार्यले भने। उनका अनुसार प्रतियोगितामा ३३ वटा टीम सहभागि हुने उनले बताए। उनका अनुसार पुरुष २४ र महिला ९ गरेर ३३ वटा टीमले सहभागिता जनाउनेछन्।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको एकवर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ। गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भन्ने गरिएको हो। गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार समुदाय भएका हरेक टोलमा तायाःमचा निस्कियोस् भनेर आफूहरुले प्रतियोगिता गर्ने गरेको बताए। ‘यसले तायाःमचा संस्कृति जीवन्त राख्न मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने। कास्कीमा अब ४ वटा कचाः खलले मात्र नाच निकाल्न बाँकी रहेको उनले बताए। उनले तायाःमचा नाचप्रति पर्यटकको आकर्षण बढ्दै गएको बताए। ‘पर्यटकको बसाई ४ दिनबाट डेढ दिनमा झ¥यो भन्ने रिपोर्ट आएको छ,’ उनले भने, ‘पर्यटकको बसाई लम्ब्याउन पनि तायाःमचाले भूमिका खेल्न सक्छ।’

यसवर्षको प्रतियोगिताको पुरुषतर्फको बिजेताले ३ लाख १ रुपैयाँ, द्वितीय हुनेले २ लाख १ रुपैयाँ र तृतीय हुनेले १ लाख १ रुपैयाँ तथा सान्त्वना हुने एक टीमलाई ३० हजार रुपैयाँ प्राप्त गर्ने रानीपौवा तायाःमचा नाच समितिका अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले जानकारी दिए। उनका अनुसार महिलातर्फको उपाधि बिजेतालाई ४० हजार र द्वितीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: १३ भाद्र २०८० ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App