कला

रत्नशमशेरलाई खेमराज संगीत सम्मान

काठमाडौं- गीतकार रत्नसमशेर थापा  ‘खेमराज गुरुङ संगीत सम्मान’ बाट सम्मानित भएका छन् ।  गायक खेमराज गुरुङको प्रथम वार्षिक स्मृतिको अवसरमा खेमराज गुरुङ ट्रष्टले वरिष्ठ गीतकार थापालाई ५० हजार नगदसहित सो सम्मान प्रदान गरेको हो ।

असंख्य कालजयी गीतका सर्जक थापाले गायक खेमराजको स्मृतिमा ट्रष्ट गठन गरेर उनका सिर्जनालाई जोगाउने गरिएको प्रयासको सरहाना गर्दै नेपाली गीत–संगीतको आधार लोकगीत  भएको बताए ।

नवप्रतिभालाई प्रोत्साहित गर्न भन्दै ट्रष्टले ‘खेमराज गुरुङ नवप्रतिभा पुरस्कार’समेत स्थापना गरेको छ । यस वर्ष यो पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरिएको छ । पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।

खेमराज गुरुङका संगीत गुरु संगीतकार प्रकाश गुरुङले खेमराजको असामयिक अवसान नेपाली संगीत क्षेत्रलाई ठूलो क्षति भएको बताए । कार्यक्रममा भविन ढुंगाना, भीषण मुकारुङ, अशोक मुकारुङलगायतले खेमराजका गीत गाएका थिए ।

कार्यक्रममा राजेशपायल राईले खेमराजसँगको संघर्षका दिन स्मरण गरेका थिए । आफू र खेमराज अत्यन्तै मिल्ने साथी भएको स्मरण गर्दै उनको योगदानको चर्चा गरिरहँदा राई आफैं भक्कानिएपछि कार्यक्रममा सहभागी सबैको आँखा रसाएका थिए ।

कार्यक्रममा ट्रष्टकी उपाध्यक्ष खेमराजकी दिदी चञ्चला गुरुङले भाइको स्मरणमा परिवारका सदस्यहरूले मिलेर ट्रष्ट स्थापना गरेको बताइन् । उनले ट्रष्टलाई अझ फराकिलो बनाउने आफूहरूको चाहना रहेको बताउँदै सबैको सहयोगका आग्रह गरेकी थिइन् ।

२०३३ साल माघ १ मा संखुवासभाको खाँदबारीमा अमृतबाहदुर गुरुङ र तुलसीमाया गुरुङको कोखमा जन्मिएका खेमराज गुरुङ सानैदेखि सांगीतिक क्षेत्रमा लागे पनि २०५७ सालमा प्रकाशित जीवन भाग–२ मा समावेश ‘वारि जमुना, पारि जमुना’पछि चर्चाको चुलीमा पुगेका थिए । उनका करिब एक दर्जन गीति एल्बम निस्किएका छन् ।

२०५७ र ०५८ मा गरी दुईपटक म्युजिक नेपाल पुरस्कार पाएका उनले २०६० सालमा म्युजिक नेपाल दशक पुरस्कार पनि पाएका थिए । २०५८ सालमै छिन्नतला पुरस्कार र हिट्स एफएम म्युजिक रेकर्ड अफ दि इयर अवार्ड पाएका उनले २०६१ सालमा प्रबल गोरखा दक्षिणबाहु र २०६२ सालमा इमेज अवार्डसमेत पाएका थिए ।

२०५८ सालमा झापा बिर्तामोडका गुनकला गुरुङ (गुडिया)सँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा शुभम् र शालिन छन् । खेमराजको गत वर्ष कृष्ण जन्माष्टमीका दिन उपचारको क्रममा चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।

 

प्रकाशित: ३२ श्रावण २०७४ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App