जब म देख्छु
सडक पेटीमा
लडेको मान्छे,
युद्धको मैदानमा
हारेका सिपाहीझैं
अर्धचेत भई
पीडै पीडाको बोझले
थिचिएर छटपटाए जस्तो
च्यातिएको झुत्रो बोरा ओडेर,
आफ्नो अस्तित्व जोगाउन खोजेझैं
द्वन्द्व र हेपाइका घेराले
पछ्याइरहेको देख्छु
आँखै आँखाको आँसुले
मुहार पखालेको देख्छु
भोक र शोकले
सडक पेटीमा
मान्छे लडेको देख्छु
मान्छेहरूको यो भीडमा
पाइला र पाइलाहरू
थर्थरी कापेझैं देख्छु
मान्छे जस्ता देखिने
डरलाग्दा मान्छेहरूदेखि
जब,
विषालु सर्पले घेर्दा
निस्पष्ट अँध्यारो रातमा
कुनै जुनकिरीले बत्ती बाल्दैन
अनि
गर्भमा बोकेका सपनाहरू
अनायसै तुहाइन्छन्
र,
फेरि अर्को सपनाको
परिकल्पना बुन्दै
भ्रमै भ्रममा बाँचेका
यी मान्छेहरूदेखि
उदेक लाग्छ मलाई
घृणा लाग्छ मलाई।
-सुरेश गाउँले
प्रकाशित: ९ भाद्र २०८० ०५:४४ शनिबार